ए मेरो हजुरले दक्षिण भारतीय फिल्मबाट चोरेका सिन भए भाइरल
काठमाडौँ : केजिएफ-२ सँग फिल्म जुध्ने भएपछि'ए मेरो हजुर-४ को निर्माण टोली राष्ट्रवादको नारा बोकेर चलचित्र प्रमोसनमा सक्रिय भयो। नेपाली भएर नेपाली फिल्मलाई माया गर्नुपर्छ, फिल्मको कथावस्तु त उस्तै त हो फरक प्रस्तुतिमा हुने हो भन्दै निर्देशक झरना थापा र नायिका सुहाना थापा अन्तर्वार्ताको दौडमा लागे।
झरनाले जहाँ पनि दक्षिण भारतीय दर्शकहरुले माया गरेर आज सो चलचित्र क्षेत्र 'आरआरआर' जस्तो फिल्म बनाउन सफल भएको भन्दै नेपाली दर्शकलाई पनि नेपाली फिल्मलाई माया गर्न आग्रह गरिन्।
उनको आग्रह ठिक पनि हो। तर विडम्बना नेपाली फिल्म निर्माताहरुले हिन्दी अनि दक्षिण भारतीय फिल्मको सट नै जस्ताको त्यस्तै कपी गरेर आफ्नो फिल्ममा हालिदिन्छन्। अनि दर्शकले चोरेर नेपाली भाषामा बनाएको फिल्मलाई कसरी माया गरुन् !
जस्तै अहिले टिकटक हेर्ने हो भने दक्षिण भारतीय फिल्म अनि हिन्दी फिल्महरूबाट चोरेर झरनाले निर्माण गरेको ए मेरो हजुरमा राखिएका सटहरू भाइरल भइरहेका छन्।
त्यसमा सुपर हिट भएको दाबी गरिएको ए मेरो हजुर-३ मा अनमोल केसी र सुहानाले अभिनय गरेका सटसँगै ए मेरो हजुर-४ को ट्रेलरमै राखिएको सट पनि छन्। जस्तो ट्रेलरमा राखिएको अनमोल केसीले' मेरो कुकुर लैजाने हो भने मेरो लासमाथिबाट लैजानु' भनेर सुतेको अनि सुहानाले उनलाई कुल्चेर गएको सिन नवाजुद्दिन सिद्दिकीले अभिनय गरेको फिल्मबाट हुबहु चोरेको देखियो।
यस्तै डोनेसन उठाइरहेकाहरुलाई स्कुटरमा रहेको नायिकाले आफ्नो गहना नै फुकालेर दिने र पछि गहना दिने र डोनेशन लिनेहरु मिलेर अन्यलाई प्रभावमा पार्न त्यस्तो गरेको दक्षिण भारतीय फिल्मको सिन जस्ताको त्यस्तै ए मेरो हजुर-३ मा राखेको समेत पुष्टि भएको छ। उताको फिल्ममा गहना दिएको ठाउँमा यता सुहानाले पैसाको बिटो नै दिन्छिन्। उता हिरो बाटोमा बसेको सिन छ भने यता अनमोल केसी बाइकमा छन्।
तेस्रो सिन नायिका साथीहरुसँग बसिरहेको बेलामा गुन्डाको समूह आएर सेल्फि खिच्दै नायिकालाई जिस्काउँछन् अनी हिरो आएर धुलो हुने गरी कुट्छ। यता पनि ट्वाक्कै यस्तै सिन राखेकी रहिछिन् झरनाले।
आफू मौलिक प्रेम कथा भन्दै अन्य फिल्मका सटहरू चोरेर फिल्म बनाउने अनि नेपाली दर्शकले नेपाली फिल्मलाई माया नै गरेनन् भनेर दोष दिने झरनाको दोहोरो भूमिकाले अन्ततः उनले फिल्म प्रचारका लागि चलाएको राष्ट्रवाद उल्टो ब्याक फायर गरिरहेको देखियो।
केहीले राष्ट्रवादको नाराप्रति व्यङ्ग्य गर्दै आफुचैँ विदेशमा बनेका सामान मात्रै प्रयोग गर्ने अनि दर्शकलाई चैँ जस्तो भए पनि नेपाली फिल्म हेर्नुपर्छ भन्ने भन्दै उनीहरूलाई पनि नेपाली मात्रै उत्पादन गरेर प्रयोग गर्न चुनौती दिइरहेका छन्। कतिपयले अनमोल केसीले अभिनय गरेको पेप्सीको विज्ञापन राखेर आफू नै विदेशी कम्पनीको सामान प्रवर्धन गर्न विज्ञापन खेल्ने अनि दर्शकलाई नै नेपाली फिल्म हेर भन्ने भन्दै आलोचना गरिरहेका छन्।
चैत २३, २०७८ बुधबार १४:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।