क्षयरोग अन्त्यका लागि तीनै तहका सरकारको सहकार्य आवश्यक मन्त्री खतिवडा
सुर्खेत : स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले क्षयरोगको अन्त्य गर्नका लागि तीन तहका सरकारको सहकार्य आवश्यक रहेको बताएका छन्। मंगलबार सुर्खेतमा ‘क्षयरोग अन्त्यको लागि लगानी बढाऔँ, जीवन बचाऔँ’ भन्ने मूल नाराका साथ क्षयरोग मुक्त नेपाल घोषणा अभियानको शुभारम्भ गर्दै यस्तो बताएका हुन्।
‘क्षयरोग अन्त्यका लागि तीनै तहका सरकारको सहकार्य आवश्यक छ। सन् २०३५ सम्म क्षयरोगको अन्त्य गर्ने नेपाल सरकारको लक्ष्य छ,’मन्त्री खतिवडाले भने, ‘यसका लागि हामी नेतृत्व गर्नेहरुले यो पार्टीको, उ पार्टीको मान्छे भनेर चिन्ने होइन, क्षयरोग पीडितको घर को हो भनेर चिन्न आवश्यक छ।’
उनले क्षयरोग अन्त्यका लागि सरकारले हरेक स्थानीय तहमा निःशुल्क उपचार केन्द्र, स्वास्थ्यकर्मीलाई आवश्यक तालिम लगायतका कुराहरू व्यवस्था गर्न केन्द्र सरकार तयार भएको भन्दै त्यसका लागि स्थानीय र प्रदेश सरकारले आवश्यक समन्वय गर्न जरुरी रहेको बताए। यस्तै कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले क्षयरोग नियन्त्रणका लागि प्रदेश सरकारले विभिन्न जिल्लाहरूमा उपचार केन्द्र मार्फत नागरिकहरूलाई सेवा दिइरहेको बताए।
उनले आवश्यक उपकरण र जनशक्तिको अभाव कर्णालीमा भएकोले त्यसको परिपूर्ति गर्न मन्त्री खतिवडालाई अनुरोध गरे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक सन्दिप ठाकुरले कर्णालीमा क्षयरोग नियन्त्रणका लागि प्रदेश सरकारले पनि अन्य प्रदेशहरूमा लागु गरिएका उपायहरू अवलम्बन गर्न सके सहज हुने बताए।
कर्णालीमा घट्दै क्षयरोग
कर्णाली प्रदेशमा क्षयरोगको दर घट्दो अवस्थामा रहेको देखिएको छ। स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४–०७५ मा एक हजार ६३२, २०७५–०७६ एक हजार ३७४, २०७६–०७७ मा एक हजार २३६, २०७७–०७८ मा एक हजार १९३ र चालु आव २०७८–०७९ को ६ महिनामा ७३९ जना क्षयरोगका बिरामी भेटिएका छन्। चालु आर्थिकमा वर्षको ६ महिनामा सबैभन्दा कम हुम्लामा ४ र सबैभन्दा बढी सुर्खेतमा २८१ क्षयरोगका बिरामी भेटिएका छन्।
त्यस्तै, मुगुमा १८ डोल्पामा २९, कालिकोटमा ४१ जुम्लामा ४३, जाजरकोटमा ५५, दैलेखमा ७९, रुकुम पश्चिममा ८० र सल्यानमा १०९ क्षयरोगी भेटिएका छन्। हरेक वर्ष नेपालमा क्षयरोगले १७ हजार मान्छे मरिरहेको तथ्याङ्क पनि सार्वजनिक भएका छन्। ६ दशकदेखि क्षयरोगको क्षेत्रमा काम हुँदै आएकोमा पोलियो, औलो उन्मूलन गरिसकिएको छ। हात्ती पाइले रोगको भने निवारणोन्मुख अवस्थामा छ।
कर्णाली प्रदेशमा क्षयरोग बिरामीहरूको स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष निगरानीमा गरिने उपचार (डट्स) सेवा ३८८ वटा केन्द्रहरूबाट गरिएको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। महाशाखाका अनुसार ४७ वटा माइक्रोस्कोपि केन्द्रहरू र ८ वटा जिन एक्सपर्ट केन्द्रहरू स्थापना गरिएका छन्।
औषधि प्रतिरोधी क्षयरोग बिरामीहरूका लागि प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपचार हुने गरेको छ भने विभिन्न जिल्लाहरूमा १६ वटा उपचार उपकेन्द्रहरूबाट सेवा दिइएको छ।
क्षयरोगका बिरामी मध्ये ६५ प्रतिशत पुरुष छन् भने ३५ प्रतिशत महिला रहेको तथ्याङ्क निर्देशनालयसँग छ। निर्देशनालयको तथ्याङ्क अनुसार जम्मा क्षयरोग बिरामीहरू मध्ये सुर्खेत, सल्यान, रुकुम पश्चिम, दैलेख तथा जाजरकोटमा क्षयरोगका बिरामी बढी देखिएका छन्। सुर्खेतका मात्र जम्मा ३५ प्रतिशत भन्दा बढी क्षयरोगका बिरामीहरू रहेका छन्। गत आर्थिक वर्षमा ९३ प्रतिशत क्षयरोगको उपचार सफलता रहेको छ भने ३० जनाको मृत्यु भएको छ।
चैत २२, २०७८ मंगलबार १९:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।