गठबन्धनसँग वार्ता गर्न काँग्रेस लुम्बिनीले बनायो वार्ता समिति
बुटवल : नेपाली काँग्रेस लुम्बिनी प्रदेशले गठबन्धनका दलहरू सँग वार्ता गर्न वार्ता समिति गठन गरेको छ। नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको तेस्रो बैठकले प्रदेश सभापति अमर सिंह पुनको संयोजकत्वमा ५ सदस्यीय वार्ता समिति गठन गरेको हो। वार्ता समितिको सदस्यमा भरत शाह, भुवन प्रसाद श्रेष्ठ, राजु खनाल र प्रकाश राना रहेका छन्।
निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै सभापति अमरसिंह पुनले सबैलाई न्यायोचित हुने गरी गठबन्धन दलसँग तालमेल गर्न वार्ता समिति गठन गरेको बताए। त्यस्तै बैठकले प्रदेश कार्य समितिका प्रवक्ता प्रचण्ड विक्रम न्यौपानेको संयोजकत्वमा ११ सय १ जनाको प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरेको छ।
साथै बैठकले सभापति पुनको संयोजकत्व रहने र त्यसमा नेता भरत कुमार शाह तथा सम्पूर्ण पदाधिकारी, प्रदेश अन्तर्गत जिल्ला सभापतिहरु लगायत सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय भएको समेत उनले बताए।
त्यस्तै बैठकले माधव खरेलको संयोजकत्वमा अनुशासन समिति गठन गरेको छ। जसको सदस्यमा महेन्द्र पाण्डे, प्रेमलता भटट् र कृष्ण प्रसाद अधिकारी रहेका छन्। सभापति पुनले स्थानीय तहको निर्वाचनका लागि घोषणा पत्र लेख्न विक्रम खनालको संयोजकत्वमा ५ सदस्यीय समितिको गठन गरिएको बताए। समितिका सदस्यहरू विभिन्न विज्ञता र योग्यताका आधारमा संयोजकले मनोनयन गर्ने उनको भनाइ छ।
चैत २२, २०७८ मंगलबार १८:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।