फर्जी ‘लालपुर्जा’ वितरण गरेकोबारे जसपाको आपत्ति
बुटवल : बुटवल उपमहानगरपालिका वडा नं. ११ स्थित हात्तीसुड टोल विकास समिति अन्तर्गतका विभिन्न सुकुम्वासी वस्तीमा बाँडिएको जग्गाधनी प्रमाणपत्रबारे जनता समाजवादी पार्टी, नेपाल बुटवल उपमहानगर कमिटीले आपत्ति जनाएको छ।
टोल विकास संस्थाकै पदाधिकारीको संलग्नतामा सोझा साझा सर्वसाधारणलाई घडेरी दिने आश्वासन दिएर लाखौँ रकम असुली गरी फर्जी जग्गाधनी पुर्जा छपाई गरेर बाँडेकोप्रति जसपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
स्थानीय बासिन्दाहरूले पार्टीमा गुनासो गरेपछि जसपाकै समन्वयमा पत्रकार सम्मेलन गरी स्थानीयहरूको समस्या उजागर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘टोल विकास संस्थाका पदाधिकारीहरूले सार्वजनिक जग्गा आफूखुसी बेचबिखन गर्ने, गैर कानुनी हर्कत ढाकछोप गर्न प्रहरी र पत्रकार समेतलाई घडेरी बाँड्ने काम आपत्तिजनक र लज्जास्पद हो।’
‘त्यस्ता गैर कानुनी हर्कतका कारण कानुनी शासनको धज्जी उडाएको र राजनीतिक दलको आवरणमा अपराध गर्न छुट भएको मान्यता स्थापित गराएको भन्दै आपत्ति जनाएको छ’ जसपाका नगर अध्यक्ष बामदेव भुसाल तथा सचिव तेजु रानाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।, ‘अन्यत्र जग्गाजमिन भएका व्यक्तिलाई समेत टोल विकास संस्थाका पदाधिकारीले सुकुम्वासीलाई जस्तै घडेरी बाँड्ने गैर कानुनी हर्कत गरेको पाइएकाले यस्तो गम्भीर अपराधलाई कुनै हालतमा छुट दिनु हुंदैन।’
स्थानीयहरूले आफूहरू ठगिएको र टोल विकास संस्थाका अपारदर्शी एवं आर्थिक अनियमितताका कुराहरू सार्वजनिक गरेपछि संस्थाका पदाधिकारीहरूले सर्वसाधारणलाई धम्काउने, डर त्रास देखाउने गरेको सार्वजनिक रुपमा बताइसकेकाले उक्त टोल विकास संस्थालाई सिल गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायबाट निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न जसपाले माग गरेको छ।
चैत २२, २०७८ मंगलबार १७:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।