पल शाहलाई थुनछेक बहसका लागि नवलपुर लगियो
पोखरा : नाबालिका गायिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला कारागार तनहुँमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहलाई नवलपुर पठाइएको छ।
नवलपुर जिल्ला अदालतमा शाहबिरुद्ध अर्को जबरजस्ती करणी मुद्दा दर्ता भएकाले थुनछेक बहसका लागि मंगलबार नवलपुर पठाइएको हो। शाहबिरुद्ध बलात्कारको मुद्दा नवलपुर जिल्ला अदालतमा दर्ता भएकाले अदालतबाट थुनछेक बहसका लागि उपस्थित गराइदिन पत्र पठाएकाले आज नवलपुर पठाइएको जिल्ला कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले बताए।
तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले गत चैत १० गते शाहलाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएका थिए। नाबालिग गायिकामाथि बलात्कारको अभियोग लागेका शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा गत चैत ३ गते मुद्दा दर्ता भएको थियो। १६ वर्षीया नाबालिग गायिकालाई भिडियो गीतको छायाँकनका क्रममा शाहले नवलपरासी पूर्वको एक रिसोर्टमा २०७७ चैत ७ गते बलात्कार गरेको उजुरी पछि सरकारी वकिलको कार्यालयले शाहविरुद्ध बलात्कारको अभियोग पत्र अदालतमा दायर भएको थियो।
सरकारी वकिल कार्यालय नवलपुरले १५ वर्ष, आठ महिना,४ दिनकी बालबालिका बलात्कार गरेकोले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसुर गरेको दाबी गर्दै मुद्दा दायर गरेको थियो।
आरोपित शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको थियो। मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) मा १२ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेको प्रमाणित भएमा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ। यस अधि तनहुँ जिल्ला अदालतले साहलाई पुर्पक्षका लागि थुनुवामा पठाउने आदेश गरिसकेको छ। तर,तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध शाहले पोखरास्थित उच्च अदालतमा निवेदन दर्ता गराएका छन्।
उनले उच्च अदालतमा गत बुधबार निवेदन दर्ता गराएपछि न्यायाधीश रमेश प्रसाद राजभण्डारीको एकल इजलासले कैफियत प्रतिवेदन मगाउने आदेश दिएका छन्। तनहुँ जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा गएका शाहले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिम साधारण तारेखमा रिहाइको माग गर्दै उच्च अदालतमा निवेदन दर्ता गराएका थिए।
चैत २२, २०७८ मंगलबार १४:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।