रुपन्देहीका १६ वटै स्थानीय तहमा गठबन्धन हुने, सम्मानजनक सिट बाँडफाँट गर्ने सहमति
बुटवलः रुपन्देहीका १६ वटै स्थानीय तहमा सत्ता गठबन्धनका दलहरू एक हुने भएका छन्। नेपाली कांग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको गठबन्धनको बैठकले स्थानीय तहमा सम्मानजनक सिट बाडँफाँट गर्दै १६ वटै स्थानीय तहमा संयन्त्र निर्माण गर्ने निर्णय गरेको हो।
कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले सबै दलको सहअस्तित्व स्वीकार गर्दै सम्मानजनक रूपमा गठबन्धन गर्ने निर्णय गरेको नेपाली कांग्रेसका जिल्ला सभापति रामकृष्ण खाँणले जानाकारी दिए।
उनले सबै पालिका र वडास्तरमा राजनीतिक संयन्त्र गठन गरी एक ढिक्का भएर स्थानीय तहको निर्वाचनमा लाग्ने निर्णय भएको बताए।
संयन्त्रको नेतृत्त्व भने कांग्रेसले गर्नेछ। गठबन्धनले विस्तृत अध्ययन र अनुसन्धन गरी पार्टीको यथार्थ मतको आधारमा सिट बाँडफाँट गर्ने जनाएको छ।
खाँणको सभापतित्वमा भएको बैठकमा कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, जिल्ला उपसभापति थानेश्वर घिमिरे, सचिव हरि काफ्ले, एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईँ, जिल्ला अध्यक्ष राजु गरुङ्ग सहभागी थिए।
यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य मकसुद अली, सोनिया यादव, जिल्ला अध्यक्ष निर्मल जिसी पनि बैठकमा उपस्थित थिए।
जसपाका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे सागर, जिल्ला अध्यक्ष रमाअवतार यादव, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम समेत बैठकमा उपस्थित थिए।
चैत २२, २०७८ मंगलबार १३:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।