आपराधिक पृष्ठभूमिका बस्नेतको सदस्य सचिव पद खोसियो

आपराधिक पृष्ठभूमिका बस्नेतको सदस्य सचिव पद खोसियो

विराटनगर : एमालेको संरक्षणमा गुन्डागर्दीबाट ठेक्कापट्टा हुँदै प्रदेशको खेलकुदको जिम्मेवारी पाएका परशुराम बस्नेतलाई प्रदेश १ को सरकारले बर्खास्त गरेको छ।

एमालेको युथफोर्सको नेता हुँदै विराटनगरमा सक्रिय रहेका बस्नेतलाई भीम आचार्य मुख्यमन्त्री भएपछि प्रदेश खेलकुद बोर्डको सदस्य सचिव नियुक्त गरेका थिए। सरकारलाई असहयोग गरेको भन्दै सोमबार सरकारले उनलाई बर्खास्त गरेको हो।

ठेक्का कब्जा, हत्या प्रयास लगायतका दर्जनौँ आपराधिक रेकर्डसँगै आपराधिक गतिविधिबाट अकुत सम्पत्ति आर्जन गरेको अभियोग खेपेका बस्नेत एमाले अध्यक्ष केपी ओली निकट भए पनि महेश बस्नेतसँगको मनमुटाबले पार्टीको खेलकुद संरचनामा संलग्न छन्।

विराटनगरका नागरिकका तत्कालीन संवाददाता खिलानाथ ढकाललाई समाचारको विषयमा हत्या प्रयास गर्दा अहिलेका एआइजी सहकुल थापाले उनलाई जोगाउने प्रयास गरेका थिए।

सो समयमा महेश यूथ फोर्सको अध्यक्ष थिए। पछि परशुराम र तत्लालिन एसपी थापाको सम्पर्क सार्वजनिक भएपछि उनी पक्राउ परेपछि महेशले कारबाहीको चेतावनी दिएका थिए। महेशकै संरक्षणमा परशुराम एमाले राजनीतिमा अगाडि बढे पनि पारिवारिक सम्बन्धका कारण दुवैको सम्बन्ध बिग्रिएर दुश्मन बराबर भएको थियो। दुवै ओली समूहमै छन्। ओली प्रधानमन्त्रीबाट हटेपछि बालुवाटारदेखि बालकोटसम्मको र्यालीको आयोजना गर्न परशुराम पनि सक्रिय थिए।

पार्टीको खेलकुद महासङ्घको उपाध्यक्ष रहेका उनलाई आचार्यले नियुक्त गरेका थिए। सरकार अल्पमतमा परेपछि भएको नियुक्ति बदर गर्न राजेन्द्र राई मुख्यमन्त्री भएपछि स्पष्टीकरण सोधिएको थियो। सरकारले बस्नेतसँगै उपाध्यक्ष बाबा मेन्याङ्बोलाई पनि बर्खास्त गरेको छ।

चैत २२, २०७८ मंगलबार १०:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।