प्रदेश १ सरकारले नियुक्त गर्‍यो योजना आयोगका पदाधिकारी

प्रदेश १ सरकारले नियुक्त गर्‍यो योजना आयोगका पदाधिकारी

मोरङः प्रदेश नम्बर १ सरकारको मन्त्रिपरिषद् बैठकले योजना आयोगका पदाधिकारी नियुक्त गरेको छ। हिजो राति अबेरसम्म बसेको बैठकले योजना आयोगका उपाध्यक्षलगायतका पदाधिकारीहरू नियुक्त गरेको हो।

यस्तै प्रदेश सरकारले यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेलाई सरकारको प्रवक्ता समेत तोकेको छ। घिमिरेका अनुसार बैठकले पाँचथरका डा. पूर्ण लोक्सोमलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ। लोक्सोम यसअघि प्रदेश योजना आयोगको सदस्य थिए।

त्यस्तै आयोगका अन्य सदस्यहरूमा डा. ज्ञानेन्द्रबहादुर कार्की (सङ्खुवासभा), नारायण कोइराला (सुनसरी), प्रकाश राई (भोजपुर) र अञ्जु खड्का (मोरङ) रहेका छन्। 

यस्तै बैठकले प्रदेश प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा विष्णुकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष र सदस्य सचिवलाई हटाउने निर्णय गरेको छ।

सगरमाथा टिन्स क्लब (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ लाई संशोधन गरी सो सम्बन्धमा बनेको नयाँ कार्यविधि, २०७८ स्वीकृत गर्ने निर्णय पनि भएको छ। बैठकले स्मृति प्रतिष्ठान, फाउण्डेशन र अध्ययन केन्द्रलाई अनुदान रकम प्रदान गर्नेसम्बन्धी कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री घिमिरेले बताए।

चैत २२, २०७८ मंगलबार ०७:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।