व्यासको मेयरमा कांग्रेसका दर्जन आकाङ्क्षी, छोराले टिकट नपाए विद्रोहको तयारीमा गोविन्दराज
तनहुँ : आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुने भएपछि तनहुँमा चुनावी सरगर्मी बढ्न थालेको छ। केन्द्रीय राजनीतिमा शीर्ष तहमा रहेका काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, शङ्कर भण्डारी, ध्रुव वाग्ले, गोविन्द भट्टराई, किसन श्रेष्ठ, किरण गुरुङ लगायतका नेताको गृह जिल्ला समेत रहेको तनहुँमा चुनावी मिति नजिकिएसँगै उमेदवारहरुको चर्चा शुरु भएको छ।
चार नगरपालिका र छ वटा गाउँपालिकासहित दश स्थानीय तह रहेको तनहुँमा आगामी पाँच वर्षका लागि नेतृत्वमा पुग्न नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, स्वतन्त्र लगायतका दलका तर्फबाट आकाङ्क्षीहरू देखिएका छन्। दलका निर्वाचन केन्द्रित गतिबिधिसंगै तनहुँका दस पालिका मध्येको सबै भन्दा ठुलो र धेरै जनसङ्ख्या रहेको सदरमुकाम दमौली समेत पर्ने ब्यास नगरपालिकामा आकाङ्क्षीहरू खुल्न थालेका छन्।
व्यास नगरपालिकामा कांग्रेसको तर्फबाट एक दर्जन बढी नेताहरूले आकाङ्क्षा देखाएका छन्। कांग्रेसको आकाङ्क्षी उमेदावारहरुमा पूर्व मेयरदेखि, बहालवाला मेयर, उपमेयर, वडाध्यक्ष , जिल्ला समन्वय प्रमुख सहितका राजनीतिमा लामो समयदेखि लागेका नेताहरू छन्।
प्रजातन्त्र स्थापनाको साढे दुई दशकसम्म कांग्रेसले एकछत्र निर्वाचन जित्दै आएको तनहुँमा यस अघिको सङ्घीय र प्रदेशसभा निर्वाचनमा भने सबै सिटमा बाम गठबन्धनका उम्मेदवार विजयी भएका थिए। बाम गठबन्धनका तर्फबाट सङ्घीय निर्वाचनमा तत्कालीन नेकपा (एमाले) का किसन श्रेष्ठ र केदार सिग्देल विजयी भएका थिए। श्रेष्ठले कांग्रेसका वरिष्ठ नेता पौडेललाई पराजित गरेका थिए।
प्रदेशसभा निर्वाचनमा पनि बाम गठबन्धनका तर्फबाट किरण गुरुङ, रामबहादुर गुरुङ, हरिबहादुर चुमान र आशा कोइराला निर्वाचित भएका थिए। नेकपा विभाजन पछि किरण र रामबहादुर एमालेमा छन्। हरि बहादुर र आशा माओवादी केन्द्रमा लागेका छन्।
सङ्घीय र प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारले क्लिनस्विप गर्न सफल भए पनि स्थानीय तहको निर्वाचनमा भने कांग्रेसले अधिकांश स्थानमा जितेको थियो। अहिले नेकपा विभाजित भएपछि कांग्रेसलाइ लामो समयसम्म कायम रहेको विरासत जोगाउन सहज हुनसक्ने देखिन्छ।
कांग्रेसका एक दर्जन आकाङ्क्षी
गत स्थानीय तहको निर्वाचनमा मेयर, उपमेयर सहित १४ मध्ये १३ वटा वडामा विजयी भएको कांग्रेसका तर्फबाट ब्यास नगरपालिकामा आगामी निर्वाचनका लागि झन्डै एक दर्जन जनाले मेयरमा आकाङ्क्षा देखाएका छन्।
पार्टीको केन्द्रीय समितिले गरेको निर्णय अनुसार तनहुँ कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि फागुन २० गते देखि चैत २० गतेसम्म ‘घर–घर जाऊ,काँग्रेस जिताऊ’ अभियान चलाइ रहेको छ। कांग्रेसले थालेको चुनावी अभियानसँगै तनहुँमा आगामी निर्वाचनमा उम्मेदवार बन्ने आकाङ्क्षीहरू खुल्न थालेका छन्।
व्यास नगरपालिकाको मेयरमा हालको मेयर वैकुण्ठ न्यौपानेले पुन दोहोरिने इच्छा देखाएका छन्। उनले मेयरका रूपमा पहिलो कार्यकाल पूर्ण कार्यसम्पादन गर्न समय अपुग भएकाले पुनः मेयर बन्न चाहेको बताउने गरेका छन्। कांग्रेस तनहुँका निवर्तमान सभापति समेत रहेका न्यौपाने कांग्रेस वरिष्ठ नेता पौडेल निकट मानिन्छन्। गत पार्टीको जिल्ला अधिवेशनमा उनी सभापतिमा जितप्रकाश आलेसँग पराजित भएका थिए।
कांग्रेसका तर्फबाट जिल्ला समन्वय समिति तनहुँका प्रमुख रहेका शान्तिरमण वाग्लेले आकाङ्क्षा देखाएका छन्। वाग्लेले आफूले पार्टीको विभिन्न जिम्मेवारीमा बसेर कार्य गरेकाले मेयरका लागि स्वाभाविक दाबेदार रहेको बताउँछन्। उनले पार्टीमा उम्मेदवारबारे छलफल नभएको बताउँदै पार्टीले उम्मेदवार बनाएको अवस्थामा चुनाव लड्न तयार रहेको बताए।
हालकी उपमेयर मिरा जोशीले पनि मेयरको उम्मेदवार बन्न चासो देखाएकी छन्। उनले उपमेयरका रूपमा राम्रो कार्यसम्पादन गरेकाले स्वाभाविक रूपमा आफू मेयरको दाबेदार रहेको जिकिर गर्दै आएकी छिन्। यस्तै व्यास नगरपालिकाका पूर्व नगरप्रमुख ताराप्रसाद श्रेष्ठले पनि मेयरको उम्मेदवार बन्ने आकाङ्क्षा देखाएका छन्। उनी यसअघिको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहेका थिए। तर पार्टीले उनलाई टिकट दिएन।
कांग्रेसका तनहुँका पूर्व पार्टी सभापति रघुनाथ पौडेलको पनि मेयरमा उम्मेदवार बन्ने चर्चा छ। उनी पहिला भानु नगरपालिकाका मतदाता थिए। उनले व्यास नगरपालिकामा मतदाता नामावली सारेका छन्।
कांगेसको महाधिवेशन प्रतिनिधि अशोक कुमार श्रेष्ठले तनहुँका पूर्व उपसभापति देवकुमार श्रेष्ठ, काँग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनाल पनि व्यास नगरपालिकाको मेयरका आकाङ्क्षी हुन्।
कांग्रेसका पुराgf नेता समुन्द्र गोदार, सङ्गठन विभाग प्रमुख विश्व बास्तोला, जिल्ला सदस्य डम्बरबहादुर अधिकारी समेतलाई नगरप्रमुखको सम्भावित उम्मेदवारको रूपमा हेरिएको छ।
गोविन्दराजको च्याँखे दाऊ
पार्टीको कारबाहीमा परेका कांग्रेस नेता एवं पूर्व गृहमन्त्री गोविन्दराज जोशीले आफ्नो छोरालाई राजनीतिमा ल्याउनका सक्रिय भएका छन्। जोशीले छोरा दीपकराजलाई कांग्रेसकोतर्फबाट ब्यास नगरपालिकाको मेयरमा उम्मेदवार बनाउन खोजेका छन्।
यदि पार्टीले टिकट नदिए स्वतन्त्र उम्मेदवार भए पनि बनाउने उनको तयारी छ। उनले पार्टीले टिकट नदिए एमालेसँग जिल्लामा चुनावी तालमेल गरेर भए पनि छोरालाई मेयर बनाउने रणनीति समेत बनाएको उनी निकटको दाबी छ।
आगामी निर्वाचनमा तालमेल गर्नेबारे जोशी र एमालेका जिल्ला स्तरका नेताहरूबिच छलफल जारी छ। जोशीले छोरालाई मेयरमा उठाउने योजना बनाएपछि कांग्रेसलाइ घुर्क्याउने र एमालेलाई फकाउने रणनीति बनाएको देखिन्छ।
गत निर्वाचनमा एमालेका तर्फबाट मेयरमा उम्मेदवार बनेका शङ्कर नारायण श्रेष्ठले ९ हजार ५ सय ९२ सय मत ल्याएका थिए। नगर प्रमुखमा विजयी भएका वैकुण्ठ न्यौपाने १३ हजार ५६ मत ल्याएर विजयी भएका थिए। तर, अहिले पार्टी विभाजन भएकाले त्यसको प्रभाव निर्वाचनमा पर्ने भएपछि एमाले पर्ख र हेरको अवस्थामा छ।
यदि जोशीले छोरा दिपकराजलाइ स्वतन्त्र उम्मेदवार बनाएको अवस्थामा कांग्रेसको झन्डै तीन हजार मत जोशीलाई आउने उनी निकटको दाबी छ।
एमालेका आकाङ्क्षीमा अलमल
गत स्थानीय निकायको निर्वाचनमा ब्यासमा एमालेले एउटा मात्र वडा अध्यक्षमा जितेको थियो। एमालेका मेयरका उम्मेदवार झन्डै चार हजारको मतान्तरले पराजय भए। अहिले पार्टी विभाजन र प्रतिपक्षमा कांग्रेस सहितको गठबन्धन भएकाले निर्वाचन जित्न कठिन हुने भन्दै आकाङ्क्षी खुलिसकेका छैनन्।
एमालेको तर्फबाट ब्यासमा मेयरमा अनिल पाण्डे उम्मेदवार बन्न सक्छन्। उनी खेलकुद विकास समिति तनहुँका पूर्व अध्यक्ष समेत हुन्। त्यसै गरी अर्का आकाङ्क्षीका रूपमा प्रदीपराज अधिकारी र तुलसी पाण्डेको चर्चा छ।
समाजवादी र माओवादी पनि आकाङ्क्षी
केन्द्रमा पाँच पाटीबिच तीनै तहको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भएपछि त्यसको प्रभाव स्थानियस्तरमा समेत देखिन्छ। विगतको निर्वाचनमा ब्यसमा कांग्रेसले मेयर, उपमेयर सहित १४ मध्ये १३ वटा वडामा विजयी भएकाले गठबन्धनका कांग्रेस बाहेकका अन्य दलहरूले मेयरमा खुलेर दाबी गर्न सकेका छैनन्।
अहिले पहिलो चरणमा मेयरको आकाङ्क्षीको चर्चा भएकाले कांग्रेस बाहेकका अन्य दलबाट खुलेरै मैदानमा आएको अवस्था छैन। तर स्थानियस्तर र पार्टीपंतिमा भने पार्टीका सम्भावित उम्मेदवारको चर्चा सुरु भएको छ।
एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीका तर्फबाट केन्द्रीय सरकामा श्रम मन्त्री रहेका किसन श्रेष्ठको गृह जिल्ला समेत भएकाले तनहुँमा समाजवादीको राम्रै प्रभाव रहने देखिन्छ। आगामी निर्वाचनमा ब्यास नगरपालिकाको मेयरमा समाजवादीका तर्फबाट श्रीराम कार्कीले आकाङ्क्षा देखाएका छन्। उनी तत्कालीन एमालेका तर्फबाट ब्यास नगरको सभापति भइसकेका नेता हुन्। कार्की हाल समाजवादीका तनहुँका सचिव छन्।
माओवादी केन्द्रका तर्फबाट मेयरमा अतेन्द्र केशरी न्यौपानेले आकाङ्क्षा देखाएका छन्। उनी माओवादीको गण्डकी प्रदेश कमिटी सदस्य भइसकेका छन्।
यस्तो छ अङ्कगणित
ब्यास नगरपालिकामा अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेसले नगरप्रमुख, उपप्रमुखसहित १४ वडाहरूमध्ये १३ वडामा जितेको थियो। व्यासको वडा नम्बर ४ मा मात्र एमालेका उम्मेदवार विजयी भएका थिए।
कांग्रेसका तर्फबाट नगर प्रमुखमा वैकुण्ठ नाथ न्यौपाने १३ हजार ५६ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन एमालेका शङ्कर नारायण श्रेष्ठले ९ हजार ५ सय ९२ सय मत पाएका थिए।
सङ्घीय समाजवादी फोरमका हरिसिंह गुरुङले १ सय ९९, मधेसी जनअधिकार फोरम नेपालकी धनमाया गौलीले २०, राष्ट्रिय जनमोर्चाका महादेव रानाभाटले ६३ मत, राष्ट्रिय जनमुक्ति पार्टीका तिल बहादुर थापाले १७९, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिकले ७० मत, स्वतन्त्रका नेत्र बहादुर रानाभाटले ३० मत पाएका थिए।
यस्तै उपप्रमुखतर्फ कांग्रेसकी उम्मेदवार मिरा जोशीले १३ हजार २ सय ६० मत ल्याएर विजयी भएकी थिइन्। उनका प्रतिस्पर्धी उम्मेदवार नेकपा माओवादी केन्द्रका अतिन्द्र केशरी न्यौपानेले ३ हजार ४ सय ७७ मत ल्याएका थिए। मधेसी जनअधिकार फोरम नेपालका उम्मेदवारले १८ मत, राष्ट्रिय जनमोर्चाले ६६ मत, राष्ट्रिय जनमुक्ति पार्टीले ४ सय ४५, नयाँ शक्ति पार्टी नेपालका उम्मेदवारले १ सय ३२ मत पाएका थिए।
चैत २०, २०७८ आइतबार २१:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।