घडेरी दिन्छु भन्दै सुकुम्वासीसँग अवैध रकम असुली, नक्कली लालपुर्जा बाँडियो

घडेरी दिन्छु भन्दै सुकुम्वासीसँग अवैध रकम असुली, नक्कली लालपुर्जा बाँडियो

बुटवल : बुटवलको सुकुम्वासी बस्तीमा टोल विकास संस्थाले घडेरी दिने आश्वासन दिएर  अवैध रूपमा पैसा उठाएको देखिएको छ। सो संस्थाले पैसा लिएर फर्जी लालपुर्जा बाँडेको आरोप समेत लागेको छ। बुटवल उपमहानगरपालिका–११ को हात्तीसुड टोल विकास संस्थामा केही व्यक्तिहरूबाट आफूहरू पीडित भएको भन्दै स्थानीयले छानबिनको माग गरेपछि यसको खुलासा भएको हो।

टोल विकास संस्थाका पदाधिकारीले सार्वजनिक जग्गामा घडेरी दिने भन्दै रकम लिएको, सुकुम्वासीलाई घडेरी नदिएको बरु आफू र आफन्तको नाममा घर बनाएर भाडामा लगाउने गरेको पीडितको आरोप छ।

स्थानीय राधा बस्नेतले जग्गा पाउने आश्वासनमा टोल विकास संस्थालाई तीन लाख ४० हजार रुपैयाँ बुझाएको बताइन्। टोल विकास संस्थाकै कोषाध्यक्ष सरस्वती गलामीले केही पदाधिकारीले सर्वसाधारणबाट रकम लिँदा रसिद नदिने गरेको बताइन्।

टोल विकास संस्थाका अध्यक्ष भीमसेन श्रेष्ठले भूमिहीनलाई सरकारले जग्गा बाँड्ने प्रक्रिया रहेकाले बसोबास गरेको प्रमाणका लागि टोल विकास संस्थाले बनाएको लालपुर्जा बाँडेको स्वीकारे। उनले रकम हिनामिनाबारे संस्थाको छिट्टै हुने साधारण सभामा निर्णय हुने दाबी गरे।

चैत २०, २०७८ आइतबार १९:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।