१३ करोडमा किनेका विद्युतीय सवारी लुम्बिनीको ग्यारेजमा, बरु निजीले सुरु गर्यो विद्धुतिय बस
बुटवल : लुम्बिनीमा चलाउन दातृ निकायले दिएको विद्युतीय बस थन्किएका छन्। तर निजी क्षेत्रबाट भने आइतबारबाट रुपन्देही–कपिलवस्तु रुटमा विद्युतीय बस सुरु भएको छ। गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा १६ महिना अघि आएका वातावरणमैत्री विद्युतीय बस र ट्याक्सी थन्किएका छन्। २०७७ मंसिरमा चीनबाट ल्याइएका विद्युतीय बस र ट्याक्सी लुम्बिनी विकास कोष नजिकै चार्जिङ स्टेसनमा थन्काएर राखिएको छ।
आइतबार सुन्दर यातायात प्रालीले रुपन्देही-कपिलबस्तुमा विद्युतीय बस सेवा सुरु गर्यो। यसको औपचारिक उद्घाटन गत साता एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए। प्रारम्भमा २ वटा बस सञ्चालनमा ल्याइएको प्रालीका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिएका छन्।
पेट्रोलियम पदार्थको मूल्य आकासिएको समयमा दुई वटा बसबाट परीक्षण सेवा सुरु गरेको र निकट भविष्यमै तराईका अधिकांश जिल्लामा सेवा विस्तार गर्ने तयारीमा रहेको प्रालीका सञ्चालक डिआर घिमिरेले बताए।
हाल रुपन्देहीको बुटवल—सिद्धार्थनगर र बुटवल—सालझण्डी हुँदै कपिलवस्तुको जितपुरसम्म तथा बुटवलदेखि नवलपरासीको सुनवल हुँदै बर्दघाटसम्म सञ्चालन हुनेछन्। दोस्रो चरणमा नेपालगन्जमा पनि सञ्चालनमा ल्याउने उनले जानकारी दिए।
प्रालीले विद्युतीय कार, मोटरसाइकल र स्कुटर समेत भित्र्याउने तयारी गरेको छ। सञ्चालक घिमिरेका अनुसार इन्धनले चल्ने सवारी साधनलाई समेत विद्युतीय सवारी साधनमा रूपान्तरण गर्ने योजना छ।
‘हामीले सवारी धनीले चाहेको खण्डमा डिजल वा पेट्रोलबाट चल्ने सवारीलाई समेत विद्युतीय सवारी बनाउने अनुमति पाएका छौँ,’ उनले भने।
नेपालमा दुई वर्षभित्र ५ सय बस सञ्चालनमा ल्याउने गरी लन्डनको कशिस ई–मोविलिटीसँग सुन्दर यातायातले सम्झौता समेत गरेको छ। यस कामका लागि भारतको सार्वजनिक बस सञ्चालक कम्पनी भागीरथी ग्रुप प्रालीसँग सुन्दर यातायात प्रालीले प्राविधिक लगायत अन्य सहयोग गर्ने गरी सम्झौता गरेको छ। रुपन्देहीको सैन मैनामा एसेम्बल प्लान्ट राख्ने सम्झौता यसअघि नै भएको थियो।
लुम्बिनीमा भने अझै सञ्चालनमा आएनन्
गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा १६ महिना अघि आएका वातावरणमैत्री विद्युतीय बस र ट्याक्सी यत्तिकै थन्किएका छन्। ०७७ मंसिरमा चीनबाट ल्याइएका विद्युतीय बस र ट्याक्सी लुम्बिनी विकास कोष नजिकै चार्जिङ स्टेसनमा १५ महिना देखि थन्किएका छन्।
विश्व सम्पदास्थल लुम्बिनीमा वातावरण प्रदूषण कम गर्न भन्दै ल्याइएका बस र ट्याक्सी लामो समयसम्म सञ्चालनमा आउन सकेको छैन।
अहिले ५ बस र १४ ट्याक्सी भ्यान पार्किङ स्थलमा छन्। हालै मात्र सवारी साधनको दर्ता सँगै नम्बर प्लेट प्राप्त गरेका यी सवारी साधन लुम्बिनीमा आएको १५ महिना पछि मात्रै नं. प्राप्त भएको हो। दर्ता प्राप्त गरे पनि अझै सञ्चालनमा भने आउन सकेको छैन।
लुम्बिनी प्रदेश यातायात व्यवस्था कार्यालय बुटवलले सवारीसाधन दर्ता गरेर ब्लु बुक दिएसँगै नम्बर प्लेट लगाइएको छ। नम्बर प्लेट जडानसँगै सबै सवारीसाधन सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत आएका छन्।
सङ्घीय संस्कृत मन्त्रालयले कोषका नाममा सवारी साधन नामसारी गर्न ढिलाइ गर्दा सञ्चालन हुन नसकेको कोषका सदस्य–सचिव सानुराजा शाक्यले बताए।
एसियाली विकास बैङ्क (एडिबी) को अनुदानमा १३ करोड लागतमा भित्रिएका बस र ट्याक्सीमा नेपाल सरकारले साढे ३ करोड रुपैयाँ भन्सार शुल्क व्यहोरेको छ । एउटा बस २ देखि ३ करोड र एउटा ट्याक्सी ५० लाख मूल्य बराबरका हुन्।
अन्तर्राष्ट्रिय मापदण्डका बसमा कार्डबाटै टिकट काट्ने, अटोमेटिक स्टम जडित रहेको कोषले बताएको छ। बस १९ सिटे हो भने भ्यान ५ सिटे हो।
वातानुकूलित र अपाङमैत्री समेत रहेको बसको ढोका स्वचालित हो । एक पटक फुल चार्ज गरे चार सय किमीसम्म गुड्ने क्षमता बसको छ। बसलाई चार्ज गर्न चार्जिङ स्टेसन समेत बनाइएको छ। पावर हाउसबाट १ सय ५४ किलोवाट विद्युत् उत्पादन हुने र त्यहाँ ३३ वटा गाडी चार्जर स्ट्यान्ड राखिएको छ । तर यति तयारी गरे पनि सञ्चालन भने गर्न सकेका छैनन्।
चैत २०, २०७८ आइतबार १८:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।