निजी कम्पनीले रुपन्देही सुरु गर्यो विद्युतीय बस, लुम्बिनीका बस भने अझै सञ्चालनमा आएनन्
बुटवल : दातृ निकायले दिएका विद्युतीय बस लुम्बिनीमा सञ्चालनमा नआई थन्किरहेको अवस्थामा निजी क्षेत्रको एक कम्पनीले रुपन्देही-कपिलवस्तुमा विद्युतीय बस सेवा सुरु गरेको छ।
सुन्दर यातायात प्रालिले रुपन्देही कपिलवस्तुमा विद्युतीय बस सेवा सुरु गरेको हो। यसको औपचारिक उद्घाटन भने गत साता एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए। हाल २ वटा बस सञ्चालनमा ल्याइएको प्रालिका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिए।
पेट्रोलियम पद्धार्थको मूल्य आकासिएको अवस्थामा सञ्चालनमा आएको विद्युतीय बस लोकप्रिय बन्ने अपेक्षा गरिएको छ। हाल दुई वटा बसबाट परीक्षण सेवा सुरु भए पनि निकट भविष्यमै बसहरू थप गरेर तराईका अधिकांश जिल्लामा सेवा विस्तार गरिने प्रालिका सञ्चालक डिआर घिमिरेले जानकारी दिए।
विद्युतीय बस हाल रुपन्देहीको बुटवल-सिद्धार्थनगर र बुटवल-सालझण्डी हुँदै कपिलवस्तुको जितपुरसम्म तथा बुटवलदेखि नवलपरासीको सुनवल हुँदै बर्दघाटसम्म सञ्चालन हुनेछ। दोस्रो चरणमा नेपालगञ्जमा पनि सञ्चालनमा ल्याउने उनले जानकारी दिए।
साथै प्रालिले विद्युतीय कार, मोटरसाइकल र स्कुटर समेत भित्राउने तयारी गरेको जनाएको छ। सञ्चालक घिमिरेका अनुसार ईन्धनले चल्ने सवारी साधनलाई समेत विद्युतीय सवारी साधनमा रुपान्तरण गर्ने योजना प्रालिले अघि सारेको छ। ‘हामीले सवारी धनीले चाहेको खण्डमा डिजल वा पेट्रोलबाट चल्ने सवारीलाई समेत विद्युतीय सवारी बनाउने अनुमति पाएका छौँ’ उनले भने।
नेपालमा दुई वर्षभित्र ५ सय बस सञ्चालनमा ल्याउने गरी लण्डनको कशिस ई–मोविलिटी सँग सुन्दर यातायातले सम्झौता समेत गरेको छ। यस कामका लागि भारतको प्रख्यात सार्वजनिक वस सञ्चालक कम्पनी भागिरथी ग्रुप प्रालिसँग सुन्दर यातायात प्रालिले प्राविधिक लगायत अन्य सहयोग गर्ने गरी सम्झौता गरेको छ।
रुपन्देहीको सैनामैनामा एसेम्बल प्लान्ट राख्ने सम्झौता यसअघि नै भएको थियो। नेपालले सन २०२० भित्र नेपालका २० प्रतिशत सवारी साधन विद्युतीय ऊर्जाबाट सञ्चालित भइसक्ने उद्घोष गरेको भए पनि कार्यान्वयन भने हुन सकेको छैन।
सन २०३० मा चीन, भारत लगायत युरोपियन मुलुकले इन्धनका सवारी साधनको प्रयोगलाई विस्थापित गरी विद्युतीय सवारीसाधन प्रयोग गर्ने घोषणा गरिसकेको अवस्थामा सार्वजनिक वा निजी यातायातको भविष्य बिजुली गाडीकै भन्ने विश्वास प्रालिको छ।
स्वदेशमा उत्पादित विद्युतीय ऊर्जाबाट सञ्चालित सवारी साधन वातानुकूलित र आरामदायक रहनेछन्। यी सवारी साधनले वातावरणमैत्री विकासलाई प्रवर्द्धन गरी इन्धन आयातको प्रयोगमा कटौती गर्दै वातावरण संरक्षण तथा आत्मनिर्भर अर्थतन्त्रमा सहयोग पु¥याउने अपेक्षा लिइएको सञ्चालक घिमिरेले बताए।
लुम्बिनीमा भने अझै सञ्चालनमा आएनन् विद्युतीय बस
गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा १६ महिना अघि आएका वातावरणमैत्री विद्युतीय बस र ट्याक्सी यत्तिकै थन्किएका छन्। ०७७ मंसिरमा चीनबाट ल्याइएका विद्युतीय बस र ट्याक्सी लुम्बिनी विकास कोष नजिकै चार्जिङ स्टेशनमा १५ महिना देखि थन्किएका हुन। विश्व सम्पदा स्थल लुम्बिनीमा वातावरण प्रदूषण कम गर्न भन्दै ल्याइएका बस र ट्याक्सी लामो समय सम्म सञ्चालनमा आउन नसक्दा महंगो मुल्यका ती सवारी साधन बिग्रन जोखिम बढेको छ।
अहिले ५ बस र १४ ट्याक्सी भ्यान पार्किङ स्थलमा छन्। हालै मात्र सवारी साधनको दर्ता संगै नम्बर प्लेट प्राप्त गरेका यी सवारी साधन लुम्बिनीमा आएको १५ महिना पछि मात्रै नं. प्राप्त गरेका हुन। दर्ता प्राप्त गरे पनि अझै सञ्चालनमा भने आउन सकेको छैन।
लुम्बिनी प्रदेश यातायात व्यवस्था कार्यालय बुटवलले सवारीसाधन दर्ता गरेर व्लु बुक दिएसँगै नम्बर प्लेट लगाइएको छ। नम्बर प्लेट जडानसँगै सबै सवारीसाधन संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत आएका छन्। संघिय संस्कृत मन्त्रालयले कोषका नाममा सवारी साधन नामसारी गर्न ढिलाई गर्दा सञ्चालन हुन नसकेको कोषका सदस्य–सचिव सानुराजा शाक्यले बताए ।
एसियाली विकास बैंक (एडीबी) को अनुदानमा १३ करोड लागतमा भित्रिएका बस र ट्याक्सीमा नेपाल सरकारले साढे ३ करोड रुपैयां भन्सार शुल्क व्यहोरेको छ । एउटा बस २ देखि ३ करोड र एउटा ट्याक्सी ५० लाख मूल्य बराबरका हुन।
अन्तर्राष्ट्रिय स्टार्डका रहेका बसमा कार्डबाटै टिकट काट्ने, अटोमेटिक स्टम जडित रहेको कोषले बताएको छ। बस १९ सिटे हो भने भ्यान ५ सिटे हो। वातानुकूलित अपाङ्गमैत्री समेत रहेको बसको ढोका स्वचालित हो। एक पटक फुल चार्ज गरे चार सय किलोमिटरसम्म गुड्ने क्षमता बसको छ। बसलाई चार्ज गर्न चार्जिङ स्टेसन समेत बनाइएको छ। पावर हाउसबाट १ सय ५४ किलोवाट विद्यत उत्पादन हुने र त्यहाँ ३३ वटा गाडी चार्जर स्ट्यान्ड राखिएको छ ।
चैत २०, २०७८ आइतबार १७:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।