केजिएफ-२ सँग भिड्न झरनाले चलाएको देशभक्ति र सुहाना-अनमोल प्रेमको हावाले काम गर्ला !
काठमाडौँ : एक साता त हलमा नेपाली फिल्म नै रिलिज भएन। कारण आरआरआर नेपालमा पनि रिलिज हुनु। दोस्रो हप्तामा त फिल्म हलबाट उत्रिने आशमा शुक्रवार 'हेल्लो जिन्दगी' रिलिज भयो। तर दर्शकले हेल्लो भन्न हलमा नआएपछि यो फिल्म २ दिनमै हलमा उत्रियो। १० दिन भइसक्यो हलमा आरआरआरकै वर्चस्व छ। दैनिक एक करोडसम्मको व्यापार गरिरहेको वितरण पक्षको दाबी छ।
बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म केजिएफ-२ वैशाख १ मा रिलिज हुँदै छ। केजिएफको नेपालमा देखिएको क्रेजले यो फिल्म नेपाली हलमा पनि रिलिज हुँदै छ। त्यही दिन 'ए मेरो हजुर-४' रिलिज हुँदै छ।
नेपाली हलमा दक्षिण भारतीय फिल्मको क्रेज बढ्दो देखिन्छ। अहिले बलिउडका फिल्म समेत फिक्का भइसके। त्यसैको प्रमाण हो जोन इब्राहिमको फिल्म कहिले आयो अनि कहिले उत्रियो पत्तै पाएनन् नेपाली दर्शकले।
केजिएफको क्रेज पनि उस्तै देखिन्छ। त्यसमा बलिउडका कलाकार सञ्जय दत्त समेत छन्। 'ए मेरो हजुर-३' सम्म राम्रै व्यापार गरेको थियो। तर आरआरआरको क्रेज देखेर अहिले निर्मात्री तथा निर्देशक झरना थापा केजिएफ-२ सँग निकै डराएकी देखिन्छिन्।
दोस्रो पटक जोडी बनिरहेका अनमोल केसी र सुहाना थापाको जोडीमाथि कतै केजिएफ-२ मा सञ्जय दत्त र रविना टण्डनको जोडी हेर्न पो जाने हो कि भन्ने भय देखिन्छ झरनामा।
कन्नड भाषाको हालसम्मकै सर्वाधिक महँगो दाबी गरिएको केजिएफ-२ मा मुख्य भूमिकामा छन् यस र श्रीनिधि शेट्टी। प्रशान्त निलले निर्देशन गरेको फिल्मले हल कब्जा नगरोस् भनेर अहिले 'ए मेरो हजुर-४' को निर्माण टिम दक्षिण भारतीय फिल्मका दर्शकहरूको साथ र भिएफएक्सको कमालले अहिले दक्षिण भारतीय फिल्मको प्रभाव बढेको भन्दै नेपाली दर्शकहरूलाई पनि त्यसरी नै नेपाली फिल्मलाई माया गर्नुपर्ने भन्दै प्रचार-प्रसारमा लागेका छन्।
हरेक दिन जसो झरना र सुहाना अनि अनमोल र सुहानाको अन्तर्वार्ताहरू आइरहेका छन्। त्यसमा देशभक्तिको तर्कसँगै सुहाना-अनमोलको अफेयर्सका हावा पनि उत्तिकै उडाउने काम भएको छ। यसमा झरना र सुहाना नै बढी सक्रिय देखिन्छन्। कुनै अन्तर्वातामा पनि सुहाना-अनमोलको सम्बन्धबारे प्रश्न छुट्दैन।
तै पनि झरना अब केजिएफ-२ ले आरआरआरले झैँ हल कब्जा नगर्नेमा ढुक्क देखिएकी छैनन्। निर्माण टिमले नेपाली फिल्म जस्तो भए पनि माया गर्नुपर्छ भनेर फैलाउने प्रयास भएको नेपाली फिल्मको देशभक्ति भावले त नेपाली दर्शक पक्का हलसम्म आउँदैनन्। कतै सुहाना-अनमोलको प्रेम र विवाहका गसिपले पो तान्छ कि !
चैत २०, २०७८ आइतबार १६:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।