चैत २२ देखि २७ सम्म रुपन्देहीमा टाइफाइडविरुद्धको खोप अभियान सुरु हुँदै

चैत २२ देखि २७ सम्म रुपन्देहीमा टाइफाइडविरुद्धको खोप अभियान सुरु हुँदै
फाइल तस्बिर

बुटवलः आगामी २२ चैतदेखि देशभर टाइफाइड रोगविरुद्धको खोप अभियान सुरु हुँदैछ। रुपन्देहीमा पनि सोही मितिमा खोप अभियान सञ्चालन हुँदैछ।

१५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरूको लागि खोप अभियान सञ्चालन हुन लागेको स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भोषराज शर्माले जानकारी दिए। जिल्लामा दुई लाख ६६ हजार ५१८ बालबालिकाहरू रहेकामा ९६६ खोप केन्द्रबाट अभियान सञ्चालन गरिने भएको हो।

उक्त अभियान सञ्चालनका लागि एक हजार ३३३ स्वास्थ्यकर्मी, ९६६ शिक्षक, ९६६ शिक्षिका, १५८ जना सुपरिवेक्षक, ११ जना जिल्ला सुपरिवेक्षक तथा ६ वटा सहयोग संघसंस्था रहेका छन्।

बालबालिका लक्षित खोप अभियान भएका कारण अधिकांश खोप कन्द्रहरू विद्यालयमा सञ्चालन गरिनेछ भने अपायक पर्ने तथा अन्यत्र खोप केन्द्र भएका ठाउँमा सोहीअनुसार खोप अभियान सञ्चालन गरिने खोप अधिकृत शर्माले जानकारी दिए।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीका अनुसार लुम्बिनी प्रदेशका अन्य जिल्लाहरू कपिलवस्तु र नवलपारसीमा चैत २२ गतेदेखि तथा दाङ, बाँके र बर्दिया, पाल्पा र राल्पामा चैत २३ गतेदेखि खोप अभियान सञ्चालन हुनेछ।

यसैगरी रुकुमपूर्व, अर्घाखाँची र प्युठानमा चैत २५ गतेदेखि खोप अभियान सञ्चालन हुनेछ।

देशभर चैत २२ गतेदेखि खोप अभियान सञ्चालन गर्ने भनिए पनि विद्यार्थीहरूको वार्षिक परीक्षा सञ्चालन भइरहेका कारण सम्बन्धित जिल्लाको सहजता अनुसार फरक–फरक मितिमा अभियान सञ्चालन गरिने भएको निर्देशक चौधरीले जानकारी दिए।

चैत २०, २०७८ आइतबार १०:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।