महिला उपमेयरहरूको मेयर बन्ने आकांक्षा

महिला उपमेयरहरूको मेयर बन्ने आकांक्षा

बुटवलः संविधानले स्थानीय तहमा अध्यक्ष वा उपाध्यक्षमध्ये कुनै एक पदमा महिलालाई अनिवार्य गराउनुपर्ने व्यवस्था गरेको छ। वडामा समेत दुई जना महिला अनिवार्य भनेको छ। 

यही व्यवस्थालाई टेकेर ०७४ सालको स्थानीय निर्वाचनबाट धेरै महिलाहरू नेतृत्त्व तहमा पुगे। अबको केही समयपछि उनीहरूको पदावधि सकिँदैछ। 

पाँच वर्षको अनुभव र सिकाइले निखारिएका महिलाहरू अब आफूहरू नेतृत्त्व गर्न सक्षम भएको र परिणाममुखी काम गरेर देखाउन सक्ने बताउँछन्।

‘संविधानले जुन अधिकार हामीलाई दियो, त्यो पूरा गर्न सफल भएँ। हिजोको जिम्मेवारीबाट नभागी काम गरेँ। यो पाँच वर्षको मेरो काम, कर्तव्य र जिम्मेवारीले मेरो स्थानीय तहमा नेतृत्त्व गर्ने योग्यता पुगेको छ’, घोराही उपमहानगरपालिकाकी उपप्रमुख सीता सिग्देल न्यौपानले भनिन्।

पार्टीले आफ्नो मूल्याकंन गरेर जिम्मेवारी दिए लिन तयार भएको उनले बताइन्। २०३६ सालदेखि विद्यार्थी राजनीतीबाट राजनीतिक यात्रा सुरु गरेकी न्यौपानेले आफू उपप्रमुख भएपछि पछाडि परेका समुदायका आवाजहरू बुलन्द गर्न सकेको बताइन्।

‘महिलाहरूलाई कसरी इलममा जोड्ने, उनीहरूलाई आवश्यक सामान्य शिक्षा कसरी प्रदान गर्ने, रोजगारीका अवसर कसरी सिर्जना गर्ने भन्नेमा मेरो ध्यान भयो। त्यसबाहेक पूर्वाधार विकाससँगै मानवीय विकासका योजनाहरू अगाडि बढाउन सफल भएँ’, उनले भनिन्।

नगरइञ्चार्ज, तत्कालीन राप्ती अञ्चल इञ्चार्ज, प्रदेश सदस्य हुँदै एमालेकी केन्द्रीय सदस्य बनेकी न्यौपानेले पार्टीले आफ्नो काम हेरेर न्याय गर्ने बताउँछिन्। 

अघिल्लो निर्वाचनमा न्यौपानेले २० हजार ७९२ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा श्रेष्ठले १७ हजार ६०३ मत प्राप्त गरेकी थिइन्।

यता नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगर पनि नेतृत्त्वमा रहेर काम गर्न सक्ने बताउँछिन्। 

‘नगरप्रमुख नहुँदा, अधिकारबाट खुम्चदा धेरै काम गर्न पनि सकिएन। पाँच वर्षको सिकाइले नगर हाँक्न सकिन्छ भन्ने भएरै मैले प्रमुखमा आकांक्षा पनि व्यक्त गरेकी हुँ’, उनले भनिन्।

अघिल्लो निर्वाचनमा कांग्रेसबाट निर्वाचित थापाले पाँच वर्षको अवधिमा भौतिक पूर्वाधारको विकासलाई मात्र नभएर महिलाहरूलाई सशक्त ढंगले अगाडि ल्याउन विभिन्न योजनाहरू अघि सारेको बताइन्।

‘विभिन्न स्वरोजगार तालिम, सीप, नेतृत्त्व विकास, लैङ्गिक समानता, समावेशीताका मुद्दामा काम गरेँ। महिलाका समस्या र त्यसको समधानमा पनि मेरो ध्यान गयो’, उनले भनिन्। 

अघिल्लो निर्वाचनमा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीकी रमा रानी गुप्तालाई पराजित गर्दै उपप्रमुखमा विजयी भएकी थिइन्। थापाले १० हजार ७३१ मत प्राप्त गर्दा गुप्ताले ८ हजार ९२४ मत प्राप्त गरेकी थिइन्। 

यस्तै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्य अघिल्लो निर्वाचनमा गठबन्धनका उम्मेदवार जगत पोखरेललाई ११ हजार मतान्तरले पराजित गर्दै एमालेबाट विजयी भइन्। 

आचार्यले २५ हजार ३०१ मत प्राप्त गर्दा माओवादीका पोखरेलले १४ हजार ७९२ मत प्राप्त गरेका थिए। 

अहिले आचार्य नगरप्रमुखको आकांक्षी हुन्। मजदूर आन्दोलनबाट उपप्रमुखको नेतृत्त्वसम्म आइपुगेकी आचार्य ५ वर्षको सिकाइले नगरप्रमुखको जिम्मेवारी हाँक्न सकिने बताउँछिन्।

‘पार्टीले महिलालाई उपप्रमुखमा मात्र सीमित राख्नुहुँदैन। नेतृत्त्वमा रहेर पनि काम गर्न सक्छन्। यस पटक पार्टीले त्यो ढंगले हेर्नपर्छ’, उनले भनिन्।

तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया शर्मा महिलाहरू नेतृत्त्वमा आउन सक्षम भएकाले अब नेतृत्त्वमा बसेर काम गर्न अवसर दिइनुपर्ने बताउँछिन्। 

संविधानले प्रमुख वा उपप्रमुखमध्ये कुनै एकमा महिला अनिवार्य गरे पनि अधिकांश महिलाहरूले उपप्रमुखमा उम्मेदवारी दिएको भन्दै उनले अबको निर्वाचनमा नेतृत्त्वमा बसेर काम गर्ने इच्छा रहेको बताइन्।

‘उपप्रमुखमा बसेर काम गरेकाले हामी स्वतः बढुवाका लागि योग्य छौँ। प्रमुखको दावेदार हामी हौँ भनेका छौँ। पार्टीले त्यसलाई कसरी लिन्छ त्यो त हेर्न बाँकी छ’, उनले भनिन्।

उपप्रमुखमा रहेर काम गरिसकेकाले अब सोही पदमा नदोहोरिने र प्रमुखमै आफ्नो आकांक्षा भएको उनको भनाइ छ। २०३२ सालमा भूमिगत राजनीतीमा नजानेरै प्रवेश गरेकी शर्मा जिल्लामा सचिवालय सदस्य, गाविस इञ्चार्ज हुँदै अखिल महिला संघको केन्द्रीय सदस्य समेत भइसकेकी छिन्। 

शर्मा अखिल नेपाल महिला संघ दाङ क्षेत्र नं. ३ की इञ्चार्ज हुन्। अघिल्लो निर्वाचनमा उनले नेपाली कांग्रेसकी देविका नेपाली घिमिरेलाई हराउँदै विजयी भएकी थिइन्। शर्माले २१ हजार ३७ मत प्राप्त गर्दा घिमिरेले २० हजार एक सय ८५ मत प्राप्त गरेकी थिइन्।

त्यस्तै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्ले, तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरदेवी चौधरी, देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङ पनि पार्टीले अवसर दिए नेतृत्त्व पुगेर काम गर्ने बताउँछन्।

चैत २०, २०७८ आइतबार ०७:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।