डाक्टर सुवेदी र क्रिकेटर मल्ललाई ‘प्रतिभा सम्मान’

डाक्टर सुवेदी र क्रिकेटर मल्ललाई ‘प्रतिभा सम्मान’

पोखरा : पोखरामा आयोजित एक कार्यक्रममा साहित्यकार प्राध्यापक डा.अभि सुवेदी र नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल सम्मानित भएका छन्। 

प्रतिभा उच्च माध्यामिक विद्यालयद्वारा स्थापना गरेको पुरस्कारबाट साहित्यकार सुबेदी र क्रिकेटर मल्ललाई सम्मान गरिएको हो। प्रा.डा.सुवेदी र क्रिकेटर मल्ललाई जनही एक लाखसहित ताम्रपत्र, खादा र माला लगाएर सम्मान गरिएको छ। प्रा.डा. सुवेदीले झण्डै साढेपाँच दशकदेखि कला र साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप सम्मान गरिएको हो। उनले नेपाली तथा अंग्रजी भाषामा कविता रचना, साहित्य समीक्षा र नाटक लेखन गर्दै आएका छन् । डा.सुवेदी विगत ५३ वर्षदेखि उच्च शिक्षा क्षेत्रमा प्राध्यापनरत रहेका छन्।

त्यसै गरी क्रिकेट खेलमा पुर्याएको विशिष्ट योगदानको कदर स्वरूप मल्ललाई सम्मान गरिएको हो ।  विद्यालयले यसअघि, युवा क्रिकेटर सन्दीप लामिछाने, राष्ट्रिय भलिबलकी कप्तान अरुणा शाहीलाई खेल क्षेत्रमा पुर्याएको योगदानको कदर गरी जनही १ लाख राशीसहित सम्मान गरिसकिएको छ । त्यसै गरी एचआइभी संक्रमित भएर पनि सबैको प्रेरणाका श्रोत बनेका सगरमाथा आरोही गोपाल श्रेष्ठलाई पनि विद्यालयले सम्मान गरिसकेको छ।

विद्यालयले सोही विद्यालयकी छात्रा सीमा केसीलाई ‘प्रतिभा रत्न सम्मान’ बाट सम्मान गरेको छ। ‘वल्र्ड इकोनोमिक कप’ मा काश्य पदक जितेकी उनलाई विद्यालयले ‘प्रतिभा रत्न सम्मान’ बाट सम्मान गरेको हो। यस्तै, नेशनल ईकोनोमिक्स ओलम्पियाडमा गण्डकी प्रदेशबाट छनौट हुन सफल कुमार बराललाई पनि सम्मान गरेको छ। 

चैत १९, २०७८ शनिबार १९:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।