रेस्लर भगवतीको डान्सर अवतार, सोनिका उस्तै बोल्ड
काठमाडौँ : भगवती खड्का जसको परिचय छ नेपालको पहिलो महिला रेस्लर। जसको सीप प्रतिस्पर्धीलाई अखडामा पछार्ने। बल र ट्रिक दुवैको उपयोग हुने खेलको मैदानबाट उनी अहिले नृत्यको मैदानमा आएकी छिन्।
डान्सिङ रियालिटी शो डान्सिङ विथ स्टारकी एक प्रतियोगी भगवतीले शुक्रवार बेलुका पहिलो प्रस्तुति दिइन् कोरियोग्राफर सुनिल बिकसँग।
पहिलो नम्बरमा बोलको गीतमा पहिलो प्रस्तुति दिएकी उनको शरीरको लचकताले डान्सको कलात्मक प्रस्तुतिमा प्रभाव पारे पनि कोरियोग्राफरको चलाखीले त्यति कमजोर देखिएन दुवैको प्रस्तुति। तर अन्य प्रतियोगी हेर्दा कार्यक्रममा टिक्न थुप्रै मिहेनत गर्नुपर्ने देखियो।
रेस्लिङको रिङबाट डान्सको स्टेजमा आएर दिएको पहिलो प्रस्तुति छ्या भन्नैपर्ने थिएन। तर वाह भन्ने पनि देखिएन। त्यसैले त तीन जज गौरी, दिलीप अनि रेनसाबाट ३० मा २३ नम्बर पाइन् उनले।
कमेडी मिसाएर कोरियोग्राफ गर्दा भगवतीको कमजोरी लुकेको थियो पहिलो प्रस्तुतिमा। तर सधैँ यस्तो चलाखीले काम गर्दैन। भगवतीको कोरियोग्राफरको चुनौती नै आफ्नो पार्टनरको कमजोरी लुक्ने, क्षमता देखिने कोरियोग्राफ गर्ने नै त हो। त्यसैले जज गौरी मल्लले भनेझैँ आगामी दिनमा कोरियोग्राफरले यसमा जति काम गर्न सक्छन् भगवतीको यात्रा त्यति लामो हुन्छ।
चार प्रस्तुतिमा हट मुभका साथ सोनिका रोकायाले सुर्ती माड्दा माड्दै गयो जोवनको बोलमा गरेको नृत्य गजब थियो। सार्वजनिक जीवनमा बोल्ड छवि बनाएकी उनले स्टेजमा पनि त्यो छवि कायम राखिन्।
तर मुभहरु अझै क्लिन देखिएन उनको। लड्काझड्का अलि बढी देखियो। नृत्यमा पारङगत हुन लड्काझड्काले मात्र सधैँ साथ दिन्न। मुभमेन्ट, एक्सप्रेसन अनि स्टेप क्लिन पनि हुनुपर्छ नै। यसमा उनले सुधार गर्नुपर्ने देखियो।
बुढानीलकण्ठ दुर्घटनाबाट विवादमा आएपछि छायामा परेकी नायिका परमिता आरएल रानाको प्रस्तुति परफेक्ट देखियो। अभिनयको अनुभव डान्समा देखियो। उनी प्रतियोगितामा लामै समय टिक्न सक्ने देखियो।
ट्रान्स जेन्डर समिरा श्रेष्ठ र सञ्जय लामाको जोडी ठिकठाकै देखियो। समिराको बडी डान्सको मुभ अनुसार लचक नदेखिँदा कतै कतै मूर्ति नाचे झैँ देखियो।
कलाकार प्रदीप बास्तोलाको साल्सा फ्लेवरको प्रस्तुति जमेको थियो।मुभ क्लिन थियो। बडी र स्टन्ट पनि सफा देखिएको थियो।
चैत १९, २०७८ शनिबार १५:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।