थप्पड प्रकरणपछि एकेडेमी अफ मोशन पिक्चर्सबाट राजीनामा दिए विल स्मिथले, बोर्डले कारबाही गर्ने
एजेन्सीः यस वर्षको अस्कर विजेता अभिनेता विल स्मिथले एकेडेमी अफ मोशन पिक्चर्स आर्ट्स एण्ड साइन्सेसबाट राजीनामा दिएका छन्। ९४औं अस्कर अवार्ड समारोहमा कमेडियन क्रिस रकलाई थप्पड प्रहार गरेका स्मिथले हाल एकेडेमीको सदस्यबाट राजीनामा दिएका हुन्।
उनले भनेका छन्, "म एकेडेमी अफ मोशन पिक्चर्स आर्ट्स एण्ड साइन्सेजको सदस्यबाट राजीनामा गर्दैछु। र म बोर्डले गर्ने फैसलालाई स्वीकार गर्नेछु।"
यता बोर्डले पनि स्मिथको राजीनामा स्वीकार गरेको छ भने उनीविरुद्ध अनुशासनहीनताको लागि कारबाही प्रक्रिया अघि बढाएको बताएको छ।
कारबाही प्रकिया अघि बढाउन बोर्डले १८ अप्रिलमा बैठक बोलाएको छ।
अस्कर वितरण समारोहमा कमेडियन क्रिस रकले अभिनेता विल स्मिथकी श्रीमती जादा पिन्केट स्मिथको तालुमाथि मजाक गरेपछि विल सोझै स्टेजमा गई रकमाथि थप्पड प्रहार गरेका थिए। यस्तै पछि उनले अपशब्द समेत बोल्दै रकलाई आफ्नो श्रीमतीको नाम उनको मुखबाट नलिन धम्की दिएका थिए।
पछि स्मिथले उत्कृष्ट अभिनेताको उपाधि पाउँदा भने यस घटनाबारे माफी मागेका थिए।
चैत १९, २०७८ शनिबार ११:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।