स्थानीय निर्वाचनमा गण्डकीका पाँच दलले तालमेल गर्ने
पोखरा : गण्डकी प्रदेशमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलबीच चुनाबी तालमेल हुने भएको छ।
शुक्रबार पोखरामा भएको पाँच दलका प्रदेश र जिल्ला तहका नेताहरुको संयुक्त बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा सहमति गरेर जाने निर्णय भएको हो।
केन्द्रमा सत्तारुढ दलबीच भएको सहमति अनुसार स्थानीय तहको निर्वाचनमा तालमेल गरेर अगाडी बढ्ने गण्डकीका पाँच दलबीच सहमति भएको नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले जानकरी दिए।
बैठकमा स्थानीय निर्वाचनका लागि प्रदेश स्तरमा तालमेल गर्दै पाँच दलको संयुक्त घोषणापत्र जारी गर्दै गठबन्धनन दलबीच सौहार्दपूर्ण वातावरण तयार गरी अगाडी बढ्ने निर्णय भएको अध्यक्ष शर्माले बताए।
गठबन्धनका दलहरुले प्रदेशका विभिन्न स्थानीय तहमा आ–आफ्नो संगठनको वर्तमान सांगठनीक अवस्थाको यथार्थ विवरण मातहतका संगठन मार्फत संकलन गरी आगामी बैठकमा पेस गर्ने निर्णय भएको कांग्रेस गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेलले बताए।
बैठकमा कांग्रेसका तर्फबाट गण्डकीका सभापति शुक्रराज शर्मा, माओवादी केन्द्रबाट प्रदेश अध्यक्ष गायत्री गुरुङ (कुशुम), नेकपा एकिकृत समाजवादीबाट उपाध्यक्ष केशव लाल श्रेष्ठ, जनता समाजवादी (जसपा)का तर्फबाट प्रदेश अध्यक्ष मोती प्रसाद रिजाल, राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष शंकर बराल लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।
चैत १८, २०७८ शुक्रबार २२:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।