'निफ' दोस्रो दिनको पहिलो छलफलः अब बन्ने नेपाली सिनेमा कस्तो हुनुपर्छ ? 

'निफ' दोस्रो दिनको पहिलो  छलफलः अब बन्ने नेपाली सिनेमा कस्तो हुनुपर्छ ? 

काठमाडौँ : पाँचौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को आज दोस्रो दिन। अन्तर्राष्ट्रिय, राष्ट्रिय फिल्महरू प्रदर्शनका साथै विभिन्न छलफल कार्यक्रम जारी छ। दोस्रो दिनको पहिलो सामूहिक छलफलमा नेपाली सिनेमाको अबको बाटोबारे छलफल भएको छ। 

छलफलमा कलाकार तथा निर्माता रवीन्द्रसिंह बानियाँ, वितरक तथा निर्माता सुशील पोखरेल र डिसहोमका ब्यवस्थापकीय निर्देशक सुदीप आचार्यसँग छलफल भएको छ। छलफल कार्यक्रममा फिल्मको बजारीकरण र कथावस्तुमा थोरै मेहनत गरे पनि अन्तर्राष्ट्रिय बजारमा जान सकिनेमा सबैको एकमत देखियो।

कलाकार तथा निर्माता रविन्द्र सिंह बानियाँले नेपाली फिल्मको भविष्य उज्वल भएको बताए। उनले भने, यो क्षेत्रमा आशाको किरण देखिएको छ। त्यसैले नै म यहाँ छु।

जबसम्म नेपाली फिल्मका लगानीकर्ताले बुझेर फिल्म बनाउँदैनन्, तबसम्म यो जुवाको खालजस्तो हुने धारणा पनि उनले राखे। उनले भने, फिल्ममा पैसा लगानी गर्नु चानचुने कुरा हैन। एउटा फिल्म फ्लप हुँदैमा हराउने लगानीकर्ताका कारण फिल्म व्यावसायिक हुन नसकेको उनको धारणा थियो।

त्यस्तै निर्माता तथा वितरक सुशील पोखरेलले पहिले जस्तो निर्माता बाँचे फिल्म बाँच्छ भन्ने धारण नयाँ पुस्ताले बिर्सिएको दुखेसो पोखे। उनले भने, नेपाली फिल्मले पुराना पुस्ता र नयाँ पुस्ताबीचको तालमेल मिलाउन सकेन। यही तरिकाले अघि बढे भविष्यमा दुर्घटना हुने सम्भावना धेरै हुन्छ। डिस होमका ब्यवस्थापकिय निर्देशक सुदीप आचार्यका अनुसार नेपाली फिल्म कपी कन्टेनटबाट टाढा बस्न सके भविष्य राम्रो छ। उनले भने, हामीसँग यति धेरै कथा छ, सस्तो र बिकाउ कथामा ध्यान दिनपर्यो।

फिल्मको लगानी करोड पुर्याउन भन्दा, सस्तोमा बलियो कथा भन्न उनले फिल्मकर्मीलाई सुझाव दिए। भने, महंगोमा फिल्म बनेर मात्रै त्यो राम्रो हुने हैन। सस्तो र बलियो कन्टेन्टमा जोड दिन सके मात्रै नेपाली सिनेमाको भविष्य उज्वल बन्न सक्छ। चैत १७ देखि सुरु भएको निफ २१ गतेसम्म चल्नेछ। महोत्सवमा ३९ देशका ८९ फिल्महरू हेर्न सकिन्छ।

चैत १८, २०७८ शुक्रबार २२:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।