कर्णाली खेलाडी उत्पादन गर्ने कारखाना  हुनेछ : मन्त्री बुढाक्षेत्री

कर्णाली खेलाडी उत्पादन गर्ने कारखाना  हुनेछ : मन्त्री बुढाक्षेत्री

सुर्खेत : कर्णाली प्रदेका सामाजिक विकास मन्त्री यज्ञ बहादुर बुढाक्षेत्रीले कर्णाली प्रदेश खेलाडी उत्पादन गर्ने कारखाना हुने बताएका छन्। 

बिहीबार ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ सुर्खेतको पश्चिम बराहताल गाउँपालिका–५ बड्डीचौरमा भएको १३ औँ राष्ट्रपति  रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन्।

‘अब कर्णाली प्रदेशले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्नेछ। त्यसका लागि प्रदेश सरकार विशेष योजनाका साथ अगाडी बढेको छ,’मन्त्री बुढाक्षेत्रीले भने, ‘कर्णालीले  खेलाडी उत्पादन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि यहाँका खेलाडीहरूको संख्या पनि बढ्नेछ।’

उनले कर्णाली प्रदेशमा खेलकुदलाई मध्यनजर गर्दै प्रदेश गौरवको आयोजना प्रदेश रंगशालाको काम धमाधम भइरहेको भन्दै खेलाडीहरू उत्पादन  गरी अन्तर्राष्ट्रिय जगतसम्म पहिचान गराउने गरी खेलकुद र खेलाडी केन्द्रित कार्यक्रम ल्याउने बताए।

कर्णालीका प्रत्येक जिल्लामा खेलकुदका लागि एक–एक करोड रकम पठाइएको र कवर्ड हल, खेलाडीको वृद्वि विकास लगायतका कुरामा बजेट छुटाइएको मन्त्री बुढाक्षेत्रीले जानकारी दिए। 

उनले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा गर्ने गरी प्रदेश सरकारले आवश्यक संरचना, भौतिक पूर्वाधार र खेलाडी केन्द्रित कार्यक्रममा जोड दिएको बताए।

‘प्रदेश सरकारले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने गरी अत्याधुनिक रंगशाला, अन्य संरचना र खेलाडी कार्यक्रम सरकारले ल्याएकोछ,’मन्त्री बुढाक्षेत्रीले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता कर्णालीका खेलाडीलाई समेत पुरस्कार र सम्मान गरेका छौँ।’

खेलकुदको विकासका लागि प्रदेश सरकारले खेलकुद परिषद् , जिल्ला खेलकुद विकास समिति लगायतका संरचना पनि गठन गरेको छ। उनले तीनै तहका सरकारले खेलाडी र खेलकुदमैत्री नीति नियम बनाई सबैको अपनत्व हुने गरी योजना तर्जुमा गर्नुपर्ने बताए।

विभिन्न  राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, शिक्षक, अभिभावक तथा खेलाडीहरूले खेलकुदको विकास नभई समग्र जिल्ला, प्रदेश र देशको विकास नहुने भएकोले यसमा सरकारले चासो दिई प्राथमिकताका साथ नीति तथा कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिएका छन्।

प्रतियोगितामा सुर्खेतका नौ वटै स्थानीय तहबाट छनोट भई आएका विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको छ। जनज्योति माध्यमिक विद्यालय बराहताल गाउँपालिका–५ को स्थानीय आयोजना र जिल्ला खेलकुद विकास समिति सुर्खेतको आयोजनामा सञ्चालन गरिएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता १९ गतेसम्म चल्नेछ।

चैत १७, २०७८ बिहीबार २०:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।