पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता हुने
पोखरा : पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ। कोभिड–१९ का कारण शिथिल भएको पर्यटन व्यवसायमा आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले यही चैत २३ देखी तीन दिनका लागि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुने भएको हो। नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजना र प्याराग्लाइडिङसँग सम्बद्ध विभिन्न संघ-संस्थाको सहयोगमा प्रतियोगिता हुन लागेको हो।
आन्तरिक तथा बाह्य पर्यटक प्रवद्धन गर्न र साहसिक खेल गतिविधिलाई चलायमान गराउनका लागि यही चैत २३ देखी २५ गतेसम्म प्याराग्लाइडिङ प्रतियोगिता सञ्चालन हुने नेपाल हवाई खेलकुद संस्था (ना) अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए।
उनका अनुसार यस वर्ष आयोजना गरिएको ‘एक्युरेसी’तर्फका खेलहरूमा, प्याराग्लाइडिङ अन्तरगतको एक्युरेसी विद्यातर्फ ल्याण्डिङ् ओभरअल, महिलातर्फ ल्याण्डिङ्, टिम ल्याण्डिङ्, एक्युरेसी टेन्डम, एक्युरेसी टेन्डम र एयर सो कस्टुम, विधामा प्रतियोगीहरूले प्रतिस्पर्धा गर्ने छन्।
प्याराग्लाइडिङको एक्युरेसी विद्यातर्फ विभिन्न चार वटा इभेन्टमा महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने छन्। प्रतिस्पर्धा अन्तर्गत ल्याण्डिङ् ओभरअलको प्रथम, द्वितीय, तृतीय र सान्त्वना तर्फ हुने खेलाडीले क्रमशः नगद ५०, ३०, २० र १० हजार पुरस्कार प्राप्त गर्ने अध्यक्ष भण्डारीले बताए। त्यसैगरी महिलातर्फ ल्याण्डिङ् विद्या अन्तर्गतको खेलमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना तर्फका खेलाडीलाई क्रमशः नगद ३०, २०, १० र ५ हजार प्राप्त गर्ने छन्।
त्यसै गरी टिम एक्युरेसी तर्फ पहिलो, दोस्रो, तेस्रोले क्रमशः नगद २० हजार, १५ हजार र १० हजार प्राप्त गर्ने छन्। त्यसै गरी अन्य विद्यातर्फको एक्युरेसी टेन्डम पुरुष अन्तर्गत प्रथम, द्वितीय, तृतीय र सान्त्वना तर्फ हुने खेलाडीले क्रमशः नगद ३०, २०, १० र ५ हजार प्राप्त गर्ने छन्।
एयर सो, तर्फ वेष्ट एक्रोबेटिकमा प्रथम हुनेले नगद १५ हजार, दोस्रोले नगद १० हजार र तेस्रो हुनेले नगद ५ हजारसहित मेडल र प्रमाणपत्र गर्नेछन्। त्यसै गरी वेष्ट कस्टुमतर्फ समेत पुरस्कार प्रदान गरिने छ। प्रतियोगितामा वेष्ट कस्टुमतर्फ नगद १० हजार प्रदान गरिने छ।
प्रतियोगितामा भाग लिन चैत २० गते सम्म अनलाइनबाट नाम दर्ता गर्न सकिने आयोजकले जनाएको छ। प्रतियोगितामा नेपाली र विदेशीले भाग लिने भएका छन्। प्रतियोगिता सम्पन्न गर्न करिब ३० लाख खर्च लाग्ने आयोजकले जनाएको छ। प्रत्येक वर्ष आयोजना गरिँदै आएको प्रतियोगिता कोरोनाका कारण दुई वर्ष देखि संचालन हुन सकेको थिएन।
चैत १७, २०७८ बिहीबार १९:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।