इन्टाग्रामहुँदै अदालत पुगेको भुवन-साम्राज्ञीको कानुनी लडाई जुन डेढ वर्षमा पनि टुङ्गिएन
काठमाडौँ : नेपाली फिल्म क्षेत्रमा महिला कलाकारमाथि हुने दुर्व्यवहारबारे सामाजिक सञ्जालमा बोल्दा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले मानहानिको मुद्दा खेप्नुपर्यो। उनले इन्टाग्राममा रहेको भिडियोमा कसैको नाम नलिई नेपाली फिल्म उद्योगमा आफूले भोगेका केही ह्यारेसमेन्टका घटना उल्लेख गरेकी थिइन्।
उनले उल्लेख गरेको घटना आफू लक्षित रहेको भन्दै अभिनेता तथा फिल्म निर्माता भुवन केसीले सामाजिक सञ्जाल फेसबुकमा लेखेपछि केही समय दुबैबिच सामाजिक सञ्जालमा विवाद चर्किएको थियो।
एकाएक अभिनेता केसी साम्राज्ञीको आफ्नो मानमर्दन गरेको भन्दै २०७७ साउन ९ गते शाहविरुद्ध काठमाडौँ जिल्ला अदालतमा १० करोड क्षतिपूर्तिको दाबी गर्दै मुद्दा दायर गरेका थिए। २०७७ चैत १९ मा न्यायाधीश राजकुमार खतिवडाको इजलासले मुद्धा मेलमिलापमा पठाउने आदेश दिएको थियो। तर मेलमिलाप हुन सकेन। दुवै पक्ष सहमतिका लागि राजी नभएपछि मुद्दा प्रक्रिया जारी नै रह्यो।
यो विचमा साक्षी बुझ्ने काम समेत भइसकेको देखिन्छ। यो डेढ वर्षको बिचमा यी दुवैको मुद्दा सुनुवाइका लागि १२ पटक पेशीमा चढे पनि फैसला हुन सकेको छैन। एक पटक प्रतिवादी रहेकी शाह र एक पटक वादी रहेका केसीको कानुन ब्यवसायीले पेशी सारेको विवरणमा देखिन्छ। अदालतले चैत २३ गतेका लागि १३ औँ पटक पेशी तोकेको छ।
यो बिचमा अभिनेता भुवन र अभिनेत्री साम्राज्ञीको बयान भइसकेको देखिन्छ। बयानमा भुवनले सामाजिक सञ्जालमा लेखेर साम्राज्ञीले आफ्नो चरित्र हत्या गरेको दाबी गरेका छन् भने साम्राज्ञीले आफूले कसैको नाम नलेखेकाले केसीको चरित्र हत्या नभएको दाबी गरेकी छिन्।
के हो विवाद !
साम्राज्ञीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा भिडियो पोस्ट गर्दै नेपाली फिल्म क्षेत्रमा काम गर्ने क्रममा तीन वटा ब्यानरबाट निकै दुःख पाएको दाबी गरेकी थिइन्। उनले भिडियोमा कस्तो दुख पाएको उल्लेख गरे पनि कसले दुख दिएको भन्ने खुलाएकी थिइनन्।
उनले कसैको नाम नलेखे पनि भुवनले सामाजिक सञ्जाल फेसबुकमा आफूले डेब्यू दिएकै कारण साम्राज्ञी चलचित्र क्षेत्रमा चलेको दाबी गर्दै 'जुन थालमा खायो, त्यही थालमा दुलो पार्यो' लेखेपछि उनले एक अवार्डमा सहभागी हुन जापान जाँदा आफूसँग गाला जोडेर बोल्न खोजेको, अङ्कमाल गरेर ह्यारेश गरेको थप आरोपहरू सार्वजनिक गरेकी थिइन्।
त्यसपछि केसी साम्राज्ञीविरुद्ध मिडियामा सार्वजनिक भए। उनको समर्थनमा अन्य फिल्मकर्मीहरू साम्राज्ञीको विरोधमा उत्रिएपछि उनले पनि सामाजिक सञ्जालमार्फत प्रतिवादमा उत्रिएकी थिइन्।
केसीले नेपाल चलचित्र कलाकार सङ्घमा साम्राज्ञी विरुद्ध उजुरी गर्दै फिल्म ड्रिम्सको सुटिङको क्रममा आफूबाट कुनै दुर्व्यवहार नभएको तर साम्राज्ञीले आफ्नो चरित्र हत्या गरेको दाबी गर्दै छानबिनको माग गरेका थिए। पछि भुवन क्षतिपूर्तिको माग गर्दै अदालत गएका थिए।
त्यसपछि केसी साम्राज्ञीविरुद्ध मिडियामा सार्वजनिक भए। उनको समर्थनमा अन्य फिल्मकर्मीहरू साम्राज्ञीको विरोधमा उत्रिएपछि उनले पनि सामाजिक सञ्जालमार्फत प्रतिवादमा उत्रिएकी थिइन्। पछि भुवन क्षतिपूर्तिको माग गर्दै अदालत गएका थिए। भुवन अदालत गएपछि साम्राज्ञीले आफूले फिल्म क्षेत्रमा भोगेको कुरा बोल्दा मुद्दा खेप्नुपरे तयार रहेको र कसैसँग नडराउने बताएकी थिइन्।
चैत १७, २०७८ बिहीबार १९:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।