पोखरा महानगरभित्रका सबै तालको नयाँ मापदण्ड, फेवा तालको ३५ मिटर घटाइयो

पोखरा महानगरभित्रका सबै तालको नयाँ मापदण्ड, फेवा तालको ३५ मिटर घटाइयो

पोखरा : पोखरा महानगरपालिकाले फेवातालकोे मापदण्ड ३० मिटर तोकेको छ। अहिलेसम्म ६५ मिटर रहेको फेवाताललको मापदण्ड घटाएर ३५ मिटर घटाएर ३० मिटरमा झारिएको हो। विभिन्न राजनीतिक पार्टीको चुनावी एजेण्डा बनेको मापदण्डलाई चुनावको मुखमा आएर महानगरका प्रमुख मानबहादुर जिसीले घटाएका हुन।

सर्वोच्च अदालतले मापदण्ड तोक्न तिन तहका सरकारलाई गरेको निर्देशनात्मक आदेशको कार्यान्वयन नगरेको भन्दै मानहानी मुद्दा खेपिरहेको महानगरले सर्वोच्च अदालतको आदेशात्मक फैसला, फेवाताल सीमांकन तथा नक्सांकन समितिको निर्देशन र सात तालको अध्ययन प्रतिवेदनलाई आधार मानेर कार्यकालको अन्तिम समयमा मापदण्ड तोकेको हो।

सर्वाेच्चले २०७५ वैशाख १६ गते गरेको फैसलामा मापदण्ड ६ महिनाभित्र तोक्न आदेश दिएको थियो। निर्देशनात्मक आदेशमा तालको ६५ मिटरमा कुनै भौतिक संरचना निर्माण गर्न नपाउने गरी संरक्षण क्षेत्र कायम गर्न सर्वोच्चले आदेश गरेको थियो। 

२०७५ बैशाख १६ मा न्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश सपना प्रधान मल्लको इजलासले ताल संरक्षणको सम्बन्धी निर्देशनात्मक फैसला गरेको थियो। तर, महानगरले गत माघमा वडा नम्बर १७ का अध्यक्ष तिर्थराज अधिकारीको संयोजकत्वमा बनाएको ८ सदस्यीय मापदण्ड अध्यान समितिले बषौँ देखि कायम रहेको मापदण्ड घटाएर ३० मिटरको मापदण्ड तोकेको हो। अहिले सम्मका अध्यान प्रतिवेदन र सर्वोच्चको फैसलाका आधारमा मापदण्ड सिफारिस गरिएको समितिका संयोजक अधिकारीले बताए।

चुनावको मुखमा महानगरले गरेको तालको मापदण्ड घटाउने फैसलालाई राजनीति फण्डाका रुपमा हेरिएको छ। यसको कार्यान्वयनसँगै फेवातालकै अस्तित्व नै थप संकटमा पर्ने आशंका गरिएको छ।

कार्यपालिका बैठकले फेवा ताल सहित पोखरा क्षेत्रका अन्य तालको पनि मापदण्ड तोकेको महानगर प्रवक्ता धन बहादुर नेपालीले जानकारी दिए। उनका अनुसार महानगरको कार्यपालिकाको बैठकले बेगनास र रुपातालको मापण्दड ५५ मिटर कायम गरेको छ। पहिले यी तालहरुको मापदण्ड १ सय मिटर तोकेको थियो। तर अहिले भने स्थानीयलाई असर परेको भन्दै ५५ मिटरमा झारिएको हो।

पोखरा क्षेत्रका दीपाङ, खास्टे, गुदे, न्यूरिनी, मैदी तालको मापदण्ड २० मिटर कायम गर्ने निर्णय गरेको हो। यो निर्णयसँगै मापदण्ड भन्दा बाहिरका कित्ताको जग्गा फुकुवा गर्नका लागि सम्बन्धित निकायलाई सिफारिस गर्ने कार्यपालिका बैठकले निर्णय गरेको छ।

२०७५ वैशाख १६ मा सर्वोच्च अदालतले ३ तीनै तहका सरकारलाई निर्देशनात्मक आदेश जारी गर्दै ६ महिनाभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई फेवातालको जग्गा सीमांकन गरि चार किल्ला छुट्टाउन र मापदण्ड तोकेर संरक्षण गर्न निर्देशात्मक आदेश गरेको थियो। यस अघि गठन भएको विश्वप्रकाश लामिछाने नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनका आधारमा सर्वोच्चले सरकारलाई ६५ मिटरभित्र बनेका अवैधानिक संरचना भत्काउएर संरक्षण गर्न समेत आदेश गरेको थिया ।
सर्वोच्चको ६ महिना भित्र तालको सिमांकन गर्न अदेश गरे पनि झण्डै दुई बर्षपछि २०७७ कात्तिक २० गते तत्कालीन जिल्ला विकास समितिका सभापति समेत रहेका पुण्यप्रसाद पौडेलको संयोजकत्वमा फेवातालको चारकिल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समिति गठन गरिएको थियो । 

समितिले फेवातालको क्षेत्रफल २०१८ सालमा नेपाल भारत सहयोग मिसनले गरेको अध्यायनमा १० वर्ग किलोमिटर अर्थात २२ हजार रोपनी क्षेत्रफललाई घटाएर ५ं.७२६ बर्ग किलोमिटर अर्थात ११ हजार २ सय ५५ रोपनी क्षेत्रफल कायम रहने गरी प्रतिवेदन तयार गरेको थियो।

समितिले २०३८ साल बनाइएको प्रतिवेदनलाई आधार मान्दै प्रतिवेदन तयार गरेको थियो। युएनडिपीले २०३८ सालमा तयार पारेको अध्ययन प्रतिवेदनमा तालको क्षेत्रफल ५.८ वर्ग किलोमिटर उल्लेख गरिएको थियो । 

समितिले चारकिल्ला भनी प्रमाणीत गर्न मिल्ने आधार र पानीको सिमाना समेतलाइ आधार मानेर प्रतिवेदन तयार पारेको बताएको थियो। फेवातालबारे अहिलेसम्म तयार पारिएका विभिन्न अध्यान प्रतिवेदनमा तालको क्षेत्रफल फरक–फरक देखाइएको छ। हाल सम्म विभिन्न समयमा गठन भएका ९ वटा अध्ययन समितिले भिन्न–भिन्न प्रतिवेदन बुझाएका छन्। 

पहिलो पटक गठन भएको ब्रिटिस सर्भे अफ इन्डियाले फेवातालको क्षेत्रफल ३.४३ वर्ग किलोमिटर उल्लेख गरेको छ। त्यस्तै नेपाल भारत सहयोग मिसनले २०१८ सालमा गरेको अध्यानमा १० वर्ग किलोमिटर क्षेत्रफल उल्लेख गरेको छ। केन्द्रीय नापी विभागले २०६४ मा गरेको सर्भे अनुसार ४.२० वर्गकिलोमिटर उल्लेख छ।

पछिल्लो समितिले तयार पारेका प्रतिवेदन अनुसार फेवातालको चार किल्ला पूर्वमा ‘ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खपौंदी–चङ्खपुर बीचको दम्किलो र दक्षिणमा चिसापानी रानी वन’ कायम गर्ने उल्लेख छ। 

यस्तै फेवातालको तल्लो तटीय क्षेत्र (ड्यामसाइड, रानीवन, गौरीघाट, लेकसाइड, गैराको चौतरा, सेदी, खपौंदी, लामीडाँडा क्षेत्र) मा वर्षायामको अधिकतम पानीको किनारालाई तालको सीमाना मान्ने र फेवातालको मुहानतर्फ मोरेबगरको माछापोखरीबाट उत्तरपूर्वतर्फ हर्पन खोला पारगरी भकुण्डेखोलाको अन्तिम घुम्ती नजिक हुँदै पूर्वतर्फ रहेको पामे घाँटीछिना मोटरबाटोसम्म फेवातालको सीमांकन कायम गर्ने उल्लेख छ। 

प्रतिवेदन अनुसार फेवातालको क्षेत्रफल ५ दशमवल ७२६ वर्ग किलोमिटर (११२५५ रोपनी ११ आना १ पैसा) कायम गर्ने र यसरी कायम गर्दा फेवातालको सीमारेखाको परिधि १८ किलोमिटर हुने उल्लेख छ।  
 

चैत १७, २०७८ बिहीबार १६:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।