त्रिभुवन विश्वविद्यालयमा ‘सेक्सुअल ह्यारेसमेन्ट मेकानिजम’ बनाउन माग
काठमाडौ : त्रिभुवन विश्वविद्यालयमा 'सेक्सुअल ह्यारेसमेन्ट मेकानिजम' बनाउन माग गरिएको छ। त्रिवि लैंगिक अध्ययन विभागकी प्रमुख जमुना शिवाकोटीले त्रिभुवन विश्वविद्यालयमा पनि यौनजन्य हिंसा हुने गरेकाे भन्दै त्यसको सुनुवाइ गर्ने निकाय नभएको हुँदा त्रिवि भित्र छुट्टै मेकानिजमको माग भएको बताइन्। ‘कानून त आफूलाई भएको हिंसा विभागीय प्रमुखलाई भन्ने व्यवस्था त छ,’उनले भनिन्, ‘विभागीय प्रमुख अथवा कार्यालय प्रमुखले नै हिंसा गरेको समयमा भन्ने स्थान नै भएन त्यस कारण छुट्टै मेकानिजमको माग गरेका हौँ।’
३–४ वर्ष अघि देखि नै लैंगिक हिंसा कम गर्न के-के गर्ने भनेर अध्ययन प्रतिवेदन बुझाएको भए पनि कुनै सुनुवाइ नभएको मानविकी तथा सामाजिक शास्त्र संकायकी डिन डा. कुसुम शाक्यले बत्ताइन्। ‘हामीले ३-४ वर्ष अघि नै विश्वविद्यालयका प्राध्यापकहरू मार्फत यौन हिंसा हुन थालेपछि अध्ययन गरेर प्रतिवेदन बुझाएका थियौँ,’उनले भनिन्, ‘छुट्टै मेकानिजम बनाउने कुरा थियो अहिले सम्म गठन भएको छैन।’
कार्यक्रममा प्रमुख अतिथि त्रिविका रेक्टर शिवलाल भुसाल तथा विशेष अतिथि पेसल दाहाल अनुपस्थित थिए। समाजशास्त्र विभागकी उपप्राध्यापक डा. नीति अर्याल खनालले त्रिवि पदाधिकारी मेकानिजम बनाउन त्रिवि पदाधिकारी गम्भीर नभएको बताइन्। ‘आज हामीले बोलाएका दुवै अतिथि अनुपस्थित हुनु भयो। आज मात्रै होइन पटक-पटक अनुपस्थित भएको देखिन्छ,’उनले भनिन्, ‘लैंगिक हिंसा माथि हुने बहसमा त्रिवि पदाधिकारीले किन गम्भीरताका साथ लिँदैनन् अब प्रश्न सोध्नु पर्ने बेला भएको छ।’
बन तथा वातावरण मन्त्रालयकी जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख राधा वाग्लेले कार्यस्थलमा हुने यौनजन्य हिंसालाई गम्भीरतापूर्वक लिनुपर्ने बताइन्। ‘कार्यस्थलमा हुने यौनजन्य हिंसा भित्र भित्रै दबाएर पीडितलाई झन पिडा दिइन्छ,’उनले भनिन्, ‘त्यसका लागि हरेक कार्यलयमा सेक्सुअल ह्यारेसमेन्टका केस हेर्ने निकाय हुनुपर्छ।’
चैत १७, २०७८ बिहीबार १५:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।