अन्तर्राष्ट्रिय गुणस्तरको मान्यताप्राप्त तिलोत्तमामा मेयरको दौडधुप, कसले मार्ला बाजी ?

अन्तर्राष्ट्रिय गुणस्तरको मान्यताप्राप्त तिलोत्तमामा मेयरको दौडधुप, कसले मार्ला बाजी ?

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका अन्तर्राष्ट्रिय गुणस्तर मान्यता प्राप्त नगर हो। नगरपालिकाले प्रदान गर्ने सेवाहरु गुणस्तरीय रहेको भन्दै यो नगरपालिकाले आइएसओ २००१-२०१५ चिह्न प्राप्त गरेको छ।

देशभरकै नगरपालिकामध्ये उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत तिलोत्तमाले कार्यसम्पादनका विभिन्न ३६ वटा सूचक पूरा गरी युनाइटेड एप्लिकेसन फाउण्डेसन अमेरिकाद्वारा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित चिह्न प्राप्त गरेको हो।

विभिन्न नमुना काम गर्दै चर्चामा आएको तिलोत्तमा नगरपालिकामा ३० वैशाखको स्थानीय निर्वाचनपछि कसले बागडोर सम्हाल्ला? यतिबेला चासो, चर्चा र अड्कलबाजी भइरहेको छ।

त्यसो त तिलोत्तमा नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँण र नेकपा एमालेका प्रभावशाली नेता घनश्याम भुसालको गृहनगर समेत हो। त्यसैले पनि यो नगरपालिकाको चर्चा बढी नै हुने गरेको छ।

अघिल्लो निर्वाचनमा गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ रामकृष्ण खाँणलाई २ हजार ७७४ मतले पराजित गर्दै एमालेका बासुदेव घिमिरे नगर प्रमुखमा विजयी भएका थिए। खाँणले १९ हजार ९४ मत प्राप्त गर्दा घिमिरेले २१ हजार ८६८ मत प्राप्त गरेका थिए।

निर्वाचनमा विजयी भएपछि घिमिरेले नगरभित्र केही नयाँ र नौला अभ्यास सुरु गरे। स्थानीय तहको कानुन आफैं निर्माण गर्ने, नगरपालिकालाई खुला प्लास्टिकमुक्त क्षेत्र घोषणा गर्ने, सफा र हरियाली सहरको अवधारणा अनुरुप ‘ग्रिन तिलोत्तमा क्लिन तिलोत्तमा’ कार्यक्रम अगाडि सारेर उनले प्रशंसा बटुलेका छन्।

२०७६ असोज ९ गते स्थानीय तहहरूमा पहिलो लगानी सम्मेलन आयोजना गरेपछि त यो नगरको चर्चा देशैभरि सुरू भयो।

लगातार दुई पटकसम्म उत्कृष्ट घोषणा भएको नगरमा आगामी निर्वाचनमा नेपाली कांग्रेस, एमाले सहितका नेताहरु यतिबेला नगर प्रमुख बन्न आन्तरिक लविङमा छन्।

एमालेबाट नगर प्रमुखको दावेदारको रुपमा चर्चामा रहेका नाम हुन्, मोहन चापागाईं, जिल्ला सचिव यज्ञ गैरे, उपप्रमुख जागेश्वरी चौधरी र अहिलेका मेयर बासुदेव घिमिरे।

गएको निर्वाचनमा पार्टीबाट टिकट पाएर फिर्ता बोलाइएका नेता मोहन चापागाईंलाई अहिले प्रमुख दावेदारको रुपमा हेरिएको छ। नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष समेत भइसकेका चापागाईं अहिले पूर्णकालीन राजनीतिमा छन्।

उनले जिल्लामा प्रचार विभाग प्रमुख तथा नगर कमिटी अध्यक्ष समेत बनेर काम गरिसकेका छन्। चापागाईं पार्टीमा गरेको योगदानले यस पटक आफूले न्याय पाउनेमा आशावादी छन्।

‘अघिल्लो पटक फिर्ता बोलाइयो। अहिले म जिल्ला कमिटीको पदाधिकारीमा पनि छैन। त्यसैले पनि पार्टीले मलाई पार्टीले न्याय गर्छ भन्नेमा आशावादी छु,’ चापागाईंले भने।

एमाले जिल्ला सचिव यज्ञ गैरे पनि यस पटक नगर प्रमुखका दावेदार हुन्। किसानसँग नजिक रहेका गैरे बुटवल बहुमुखी क्याम्पसको पूर्व स्ववियु सभापति, पाँच कार्यकाल जिल्ला कमिटी हुँदै अहिले एमाले जिल्ला सचिव छन्।

यता पार्टीकी उपाध्यक्ष, महिला, जनजाति तथा अहिलेकी उपप्रमुख जागेश्वरी चौधरीलाई अवसर दिनुपर्ने तर्क पनि अघि सारिएको छ। महिला नेतृलाई नेतृत्व दिए काम गर्न सक्छन् भनेर देखाउन पनि महिला अघि सर्नुपर्ने भन्दै उनको पक्षमा अविङ भइरहेको छ।

यता अहिलेका नगर प्रमुख बासुदेव घिमिरेलाई दोहोर्याउनुपर्ने तर्क उठ्दै आएको छ। नगर प्रमुख घिमिरेले भने यसबारे केही बोलेका छैनन्।

अहिले नगरभित्र भएका कामका कारण घिमिरेलाई जित्न सहज हुने आकलन गरेरै उनलाई दोहोर्याउनुपर्ने आवाज उठेको हो।

तिलोत्तमामा तेस्रो ठूलो दल जनमुक्ति पार्टी हो। कांग्रेस र जनमुक्तिको गठबन्धन हुँदा पनि घिमिरे विजयी भएकाले तिलोत्तमामा आफ्नो विरासत जोगाउन उनैलाई पुन: दोहोर्याउनुपर्ने एमालेका एक जिल्ला नेताले बताए।

नेपाली कांग्रेसले यस पटकको निर्वाचनमा तिलोत्तमाबाट कसलाई उम्मेदवार बनाउँछ भन्ने चासोको विषय बनेको छ। अघिल्लो निर्वाचनमा रामकृष्ण खाँण पराजित भए। अहिले उनी कांग्रेस जिल्ला सभापति छन्।

तर, कार्यकर्तामाझ रोमणिप्रसाद पाठक, गुणनिधि भण्डारी, नारायण न्यौपाने लगायतको नाम चर्चामा छ। कांग्रेस महासमिति सदस्यसमेत रहेका पाठकले आफूलाई टिकट दिएमा तिलोत्तमामा विजयी भएर देखाउने बताए। उनी कांग्रेसका पुराना नेता हुन्।

पाठक संस्थापनइतर समूहका नेता हुन्। अर्का आकांक्षी गुणानिधि भण्डारीले पनि नगरभित्र कांग्रेसलाई अझ बलियो बनाउन आफू निर्वाचित हुनुपर्ने बताए। उद्योगी व्यवसायीसमेत रहेका भण्डारी गृहमन्त्री खाँण निकट मानिन्छन्।

यता नारायण न्यौपाने पार्टीको नगर सभापतिमा हरिलाल पाण्डेसँग पराजित भएका थिए। तर यहाँ कांग्रेस भित्रकै दुई समूहको लडाइँ भएकाले कुन समूहले टिकट पाउँछ भन्ने टुंगो लाग्न सकेको छैन।

यो पालिकामा तेस्रो शक्तिको रुपमा रहेको जनमुक्ति पार्टीसँग सहकार्य गरेर गत निर्वाचनमा गएको नेपाली कांग्रेसले जित निकाल्न सकेन। जनमुक्ति पनि पराजित भयो। कांग्रेस, जनमुक्ति पार्टीबाट साझा उम्मेदवार बनेकी गीता सारुले उपमेयरमा १८ हजार ७८४ मत प्राप्त गर्दा एमालेकी जागेश्वरीदेवी चौधरी २२ हजार ७१ मत प्राप्त गर्दै विजयी भएकी थिइन्। जनमुक्ति पार्टी अहिले पर्ख र हेरको अवस्थामा छ। 

चैत १७, २०७८ बिहीबार १२:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।