सङ्कटमा माओवादी चाहिने तर पछि नपत्याउने देखियो : प्रचण्ड

सङ्कटमा माओवादी चाहिने तर पछि नपत्याउने देखियो : प्रचण्ड

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक सङ्कट समाधानमा माओवादीले निर्णायक भूमिका निभाए पनि समस्या समाधान भएपछि भने नपत्याउने समस्या देखिएको बताएका छन्।

शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनदेखी एमसिसी पारित गर्नेसम्मका राष्ट्रिय सङ्कटमा माओवादीले निर्णायक भूमिका खेलेको उनले दाबी गरे। राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनले लोकतन्त्रको रक्षाका लागि गठबन्धन बनाउनुमा पनि माओवादीको भूमिका रहेको बताए।

'प्रधानमन्त्री बनाउनदेखि राष्ट्रिय सङ्कट पार लगाउनसम्म माओवादीले महत्त्वपूर्ण र निर्णायक भूमिका निर्वाह गर्ने गरेको छ,'उनले भने' तर सङ्कट समाधानपछि हाम्रै पार्टीलाई नपत्याउने समस्या पनि देखिन्छ।'

अर्थतन्त्र सङ्कटमा

प्रचण्डले नेपालको अर्थतन्त्र श्रीलङ्का जस्तै संकटकै अवस्थामा नपुगेको तर बेलैमा सुधार नगर्ने हो भने पुग्न सक्ने बताए। उनले आर्थिक सङ्कटबारे अर्थविद्हरूसँग कुरा गर्दा नीतिगतदेखि ब्यबहारसम्मको त्रुटिले आर्थिक सङ्कट गहिरिएको देखिएको भन्दै यसको समाधानमा गम्भीर हुनुपर्ने अवस्था आएको बताए।
'श्रीलङ्काको जस्तो कागजै किन्न नसक्ने गरी सङ्कटमा पर्ने त देखिएको छैन। तर सुधार अभियान बेलैमा प्रारम्भ गर्नुपर्ने भने देखिन्छ,' उनले भने। 

चैत १७, २०७८ बिहीबार १०:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।