कांग्रेसको दोहोरो नीतिले गठबन्धनको मोडालिटी अलमलमा

कांग्रेसको दोहोरो नीतिले गठबन्धनको मोडालिटी अलमलमा

काठमाडौंः पाँच दलीय गठबन्धनबीच आसन्न स्थानीय चुनावमा गठबन्धन हुने सैद्धान्तिक सहमति भए पनि मोडालिटीका बारेमा भने दलहरू प्रष्ट छैनन्। 

गठबन्धनका दलहरू बढीभन्दा बढी फाइदा खोजिरहेका छन्। त्यसैले उनीहरूको मोडल पनि फरक–फरक हुनेछ। जसमा एकमत हुन गठबन्धनका दलहरूमा सकस पर्ने देखिन्छ। 

नेपाली कांग्रेसको मंगलबारको केन्द्रीय समिति बैठकले आवश्यकताको आधारमा चुनावी तालमेल गर्ने निर्णय गरेको थियो। गठबन्धनका दलहरू माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले आवश्यकता अनुसार स्थानीय तहमा तालमेल गर्नसक्ने निर्णय गरिसकेका छन्। 

तालमेलको मोडालिटीबारे छलफल गर्न बिहीबार बिहान सत्ता गठबन्धनको बैठक राखिएको छ। गठबन्धनलाई दीगो रूपमा कसरी लैजाने र चुनावी रणनीति कसरी बनाउने भन्ने बैठकको अजेण्डा हुनेछ। 

कांग्रेस र माओवादीले आवश्यकता अनुसार गठबन्धन गर्नुपर्ने बताउँदै आइरहेका छन्। एकीकृत समाजवादीले भने सबै स्थानीय तहको वडास्तरसम्मै गठबन्धन गर्नुपर्नेमा जोड दिएको छ।  

कांग्रेसभित्र गठबन्धन गर्नुपर्ने र गठबन्धन गर्न हुँदैन भन्ने मतभिन्नताले एकीकृत समाजवादीले आफ्नो मोडालिटी तय गर्न सकेको छैन। 

‘गठबन्धनको मूल सिद्धान्तलाई कांग्रेसले पनि आत्मसात गरेकै छ। तर उसले लेखेको भाषाले कुन कुरालाई प्रतिनिधित्व गरिरहेको छ भन्ने कुरा प्रष्ट छैन’, एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले उकेरासँग भने, ‘उसले जे भनिरहेको पार्टीभित्रको आन्तरिक द्वन्द्व छोप्न भनिरहेको हो कि भनेको कुरामा अरू केही अर्थ छ यो कुरा छलफल गरेपछि थाहा पाउँर्छौ त्यसपछि हाम्रो नीति बनाउँछौं।’ 

गठबन्धनको बैठक बसेपछि कांग्रेसको धारणा बुझ्ने र त्यसपछि नीति तय गर्ने पक्षमा एकीकृत समाजवादी रहेको छ। समाजवादीले ७५३ वटै स्थानीय तह र त्यसको वडासम्ममै पाँच दलीय गठबन्धन हुनुपर्ने र एमाले बलियो भएको ठाँउमा आफूले गठबन्धनको नेतृत्त्व पाउनुपर्ने बताउँदै आएको छ। 

माओवादीले स्थानीय आवश्यकताको आधारमा गठबन्धन हुनसक्ने बताउँदै आएको छ। प्रतिगमनलाई कमजोर गर्ने गरी गठबन्धन गर्नुपर्नेमा उसका नेताहरूको जोड छ। 

‘सैद्धान्तिक तहको कुरा भएको छ। स्थानीय तहको चुनाव भएकाले प्रदेशस्तरका इन्चार्जहरूसँग बसेर समीक्षा गरेर मात्र नीति तय हुन्छ’, माओवादी नेता गणेश शाहले भने। 

प्रदेशस्तरको ब्रिफङ, तल्ला तहको बस्तुस्थिति हेरेर तालमेल वा गठबन्धनको मोडालिटी तय गर्ने पक्षमा माओवादी छ। ‘नीतिगतभन्दा व्यावहारिक पक्ष कंक्रिट हुन्छ। अर्को हप्तादेखि ठोस निर्णय आउला’ नेता शाहले उकेरासँग भने।

गठबन्धनका दलहरू एक्लै बलियो रहेको स्थानीय तहमा गठबन्धन नहुन सक्छ। एमाले बलियो भएका स्थानीय तहमा भने अनिवार्य गठबन्धन हुन सक्छ। 

चैत अन्तिमसम्ममा गठबन्धनको मोडालिटी र भागबण्डा टुंगिसक्ने नेताहरू बताउँछन्। 

कसरी तालमेल गर्ने भन्नेबारे कांग्रेसले संयन्त्रमार्फत काम गर्ने तयारी गरिरहेको छ। ‘केन्द्र तहमा संयन्त्र बनाउँछौँ, प्रदेश, जिल्ला क्षेत्रीय तहमा संयन्त्र बन्छ, गठबन्धनका दलहरूको स्ट्रेन्थ के छ? हाम्रो स्ट्रेन्थ के हो? त्यसका आधारमा समझदारी विकास गराउँदै केन्द्रीय संयन्त्रले आवश्यक व्यवस्थापन मिलाउँछ र गठबन्धनको प्रक्रियालाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउँछौं’, कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने। 

कांग्रेसभित्र गठबन्धन पक्ष र विपक्षमा दुई मत रहेको केन्द्रीय नेताहरू बताउँछन्। ‘हाम्रो पार्टीमा गठबन्धनको पक्ष र विपक्षमा दुईथरी मत छ। हामीले गठबन्धनको सम्भावनालाई इन्कार गरेनौं तर स्थानीय तहको आवश्यकतालाई महसुस गरी सहकार्य हुन सक्छ’, कांग्रेस सांसद सञ्जय गौतमले भने। 

स्थानीय आवश्यकता भनेको गठबन्धनभन्दा बाहिरका दलहरूसँग पनि तालमेल गर्न सकिने गौतम बताउँछन्। ‘जहाँ जुन दलसँग सहकार्य गर्दा कम्फर्टेबल छ त्यही गर्ने हो, एमालेसँग कम्फर्टेबल छ भने त्यहाँ गठबन्धनका दलहरूसँगै तालमेल गर्न पार्टीले दबाब दिदैँन’, गौतमले भने। 

चैत १७, २०७८ बिहीबार १०:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।