लुम्बिनी प्रादेशिक अस्पतालको बोलपत्रबारे छानबिन तीन सदस्यीय समिति गठन

लुम्बिनी प्रादेशिक अस्पतालको बोलपत्रबारे छानबिन तीन सदस्यीय समिति गठन

बुटवल : प्रदेश पूर्वाधार विकास समितिको बैठकले लुम्बिनी प्रादेशिक अस्पतालको बोलपत्रको विषयमा छानबिन गर्नका मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको छ।

मुख्यमन्त्री एवं प्रदेश पूर्वाधार विकास समितिको बैठकका अध्यक्ष कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले कानुन सचिव राजेन्द्र थापा र ग्रामीण सहरी तथा पर्यटन सचिव महेशचन्द्र न्यौपाने सदस्य रहेका छानबिन समिति गठन गरेको आन्तरिक मामिला तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिए। 

सो समितिले प्रादेशिक टेण्डर प्रक्रिया बारेमा भएको विभिन्न विषयमा गहिरो ढंगले अध्ययन गरी १५ दिन भित्र समितिलाई प्रतिवेदन पेस गर्नेछ। सो टेण्डर प्रक्रिया हाल रद्ध समेत गरेको छानबिन समितिका कार्यदलका संयोजक श्रीकृष्ण सुवेदीले बताए।

उनले भने, त्यहाँ के भएको छ, बाहिर उठेका विषयका बारे र कानुनी प्रक्रियाका बारेमा गहिरो अध्ययन गर्दैछौँ अनि समितिलाई रिपोर्ट बुझाउने छौँ।

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बसेको लुम्बिनी प्रदेश सरकारद्वारा गठित प्रदेश पुर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेले पदबाट दिएको राजीनामा पत्र आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दर्ता भएको छ।  

उनले आफ्नो राजीनामा पत्र कार्यालयमा पठाएपछि कार्यालयले दर्ता गरी प्रक्रिया अगाडि बढाएको अधिकृत अष्टराज न्यौपानेले जानकारी दिए। सो पदमा घिमिरेलाई मन्त्री तथा मन्त्री परिषद्को निर्णयबाट २०७८ असोज २० गते नियुक्ति गरेको थियो। उनले २०७८ साल चैत १४ गते राजीनामा दिएका छन्। अनन्तराज घिमिरेका विभिन्न क्रियाकलाप अनुसन्धान गरी कारबाही गर्ने तयारीमा रहेको प्रदेश सरकारलाई आफैले राजीनामा दिएर सजिलो बनाइदिएका छन्।

चैत १६, २०७८ बुधबार २०:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।