पार्टी प्रवेश गराउन मधेस दौडाहामा ओली : नवप्रवेशीले क्रेज बढाउलान् कि बिच्काउलान् !

पार्टी प्रवेश गराउन मधेस दौडाहामा ओली : नवप्रवेशीले क्रेज बढाउलान् कि बिच्काउलान् !

बुटवल : स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै एमाले अध्यक्ष केपी शर्मा ओली अहिले देश दौडाहामा छन्। पार्टीमा आगन्तुकहरूलाई खाँदा लगाउन उनी बढी सक्रिय छन्। उनको कार्यक्रमको सूची हेर्ने हो भने मधेस बढी केन्द्रित देखिन्छ। गत स्थानीय तहको निर्वाचनमा मधेसमा एमाले निकै कमजोर देखिएको थियो। त्यसपछिका २ निर्वाचनमा पनि एमालेको राम्रो छवि बन्न सकेन मधेसमा। मधेस विरोधी जस्तै देखिएको थियो एमाले। एमालेले सहज रूपमा कार्यक्रम समेत गर्न पाइरहेको थिएन।

यो बिचमा एमालेले मधेसमा आफ्नो छवि केही सुधार गरेको देखिन्छ नै। त्यसमा मधेस केन्द्रित दल छरप्रष्ट हुँदा राजनीतिक भविष्य खोज्ने मधेस केन्द्रित नेताहरूको रोजाइमा एमाले पर्न थालेको छ।

देश दौडाहामा पार्टी प्रवेश गराउँदै हिँडेका ओलीले पछिल्लो ५ महिना यता ‘हेविवयट’ नेताहरूलाई पार्टीमा भित्राएका छन्। माओवादी तालमेलपछि बनेको नेकपा विभाजित हुँदा पूर्व माओवादीकै प्रभावशाली केही नेतालाई साथमै राख्न सफल भएका उनी अहिले मधेसवादी नेताहरू केन्द्रित छन्। निर्वाचनमा अब गठबन्धनसँग एक्लै भिड्न पर्ने बाध्यता भएपछि ओली कतिपय ठाउँमा ‘हाताहाती’ सम्झौता गरेर पनि नेताहरूलाई पार्टीमा भित्राउन सक्रिय देखिन्छन्।

मधेस केन्द्रित दलहरू फुटेर छिन्नभिन्न हुँदा मधेसमा प्रभाव जमाएका र मधेसी पृष्ठभूमिबाटै उदाएका नेताहरू एमालेमा प्रवेश गर्न थालेका छन्। यसले एमालेलाई बलियो बनाउँछ या नव प्रवेशीले लामो समयदेखि एमालेमा बसेर मधेस केन्द्रित राजनीति गरिरहेका नेतालाई बिच्काउँछ यसै भन्न सकिने अवस्था देखिएको छैन।

सांसददेखि मेयरसम्म आए एमालेमा

यो बिचमा एमालेले अन्य पार्टीका सांसददेखि मेयरसम्मलाई पार्टीमा प्रवेश गराइसकेका छन्। कार्तिक अन्तिम साता बाँके पुगेका उनले पशुपति दयाल मिश्रसहितलाई पार्टी प्रवेश गराए। नेपालगन्जका स्थापित नेतालाई पार्टी प्रवेश गराउनु अघि आगामी निर्वाचनमा उनलाई मेयरमा अगाडि सार्ने ‘भद्र सहमति’ गरे। मिश्रले पनि नेपालगन्ज उपमहानगरपालिकामा मेयर बन्ने पक्का भएपछि मात्रै एमाले रोजेको बताउँदै आएका छन्।

६ पुसमा कपिलवस्तुको सुदूर दक्षिण पश्चिममा पर्ने बहादुरगञ्जमा ओलीले जनता समाजवादी पार्टीका प्रभावशाली नेता मङ्गलप्रसाद गुप्तालाई पार्टी प्रवेश गराए।

पुस ८ मा पर्साको जगरनाथपुरमा गाउँपालिका अध्यक्ष जालिम मियालाई पार्टी प्रवेश गराए। २ फागुनमा रुपन्देहीको धकधईमा आयोजना भएको आमसभामा ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट र रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज यादव एमाले प्रवेश गरे। यो पटक एमाले उपाध्यक्ष विष्णु पौडेल सहभागी थिए।

त्यो कार्यक्रममा केवट र यादवसँगै ओमसतियाकी उपाध्यक्ष सुन्दरमति हरिजनले पनि एमाले रोजेकी थिइन। गएको स्थानीय तहको निर्वाचनमा केवट र हरिजन माओवादी केन्द्रबाट निर्वाचित हुन भने यादव तत्कालीन मधेसी जनअधिकार फोरमबाट निर्वाचित हुन्।

ओलीले वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई एमालेमा प्रवेश गराए। सरावगी पुनः वीरगन्जको मेयरका आकाङ्क्षी हुन्। गत सोमबार कपिलवस्तुमा प्रतिनिधिसभा सदस्य बृजेशकुमार गुप्तासहित प्रदेश सांसद धर्मबहादुर श्रीवास्तव लगायत पूर्व मेयर र वडा अध्यक्षहरू एमालेमा प्रवेश गरे।

नीतिभन्दा स्वार्थ हाबी

‘मधेस तराईका जनताले त्यहाँका नेतालाई धेरै पटक हेरे। कतिपय चाहेर वा नचाहेर जनताका आवश्यकता बुझेनन्। वाचा भुले। यही कारणले मधेसमा एमालेको प्रभाव बढेको हुन सक्छ,’ राजनीतिक विश्लेषक कृषि आजातले भने।

मधेसवादी दल दल स्वार्थमा टुक्रिँदै गर्दा मतदाता निराश देखिएको अवस्थामा त्यसलाई एमालेले आफ्नो पक्षमा ल्याउन सक्ने सम्भावना देख्छन् उनी।

‘तराईमा मतदाता पार्टी भन्दा पनि व्यक्ति बढी हेर्छन्। कुन दल भन्दा को व्यक्ति भन्ने मधेसमा हुन्छ। ठुला नेताहरू एमाले प्रवेश गर्दा मतदाता पनि उनीहरूकै पछि लाग्न सक्छन्,' उनले भने।

मधेस मामिलाका जानकार एवं विश्लेषक डा. विजय मिश्र मधेसको मुद्दा उठाउनेहरू स्वार्थमा लाग्दा नै कार्यकर्ताले एमाले रोज्न सक्ने बताउँछन्। मधेस आन्दोलनको उत्तेजना रहुन्जेल मधेस केन्द्रित भएका दलहरू अहिले पुराना मुद्दा बिर्सेर आफ्नो स्वार्थ र आफ्ना आसेपासेलाई पोस्न थालेपछि नेतासँगै कार्यकर्ताले पनि एमाले राजेको उनको मत छ।

वरिष्ठ अधिवक्ता महेन्द्र पाण्डे निर्वाचनको समयमा पार्टी प्रवेश गर्ने र भित्राउने परिपाटीले राजनीतिक प्रणालीलाई भने खासै मजबुत नबनाउने बताउँछन्। उनले अवसर, स्वार्थ हेरेर धेरैले पार्टी बदल्ने गरेको इतिहास नै दोहोरिएको बताए।

‘अरू बेला भन्दा अहिले प्रवेश गर्दा बढी चर्चा पाउँछन्। एउटा उचाइ हुने नेताले स्पेस पाउँछ। त्यही कारणले पनि पार्टी प्रवेश गर्ने गरेका छन्। तर यिनीहरूमा विचार भन्दा स्वार्थ बढी हुन्छ,' उनले भने।

चैत १६, २०७८ बुधबार १९:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।