पल शाहको मुद्दामा उच्च अदालतले कैफियत प्रतिवेदन मगायो
पोखरा : उच्च अदालत पोखराले नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लागि कारागारमा रहेका पल शाहबारे जिल्ला अदालत तनहुँले गरेको थुनछेक आदेशको कैफियत प्रतिवेदन मगाएको छ। आदेशको विपक्षमा परेको पुनरावलोकन निवेदनमा उच्च अदालतले बुधवार कैफियत प्रतिवेदन मगाउने आदेश दिएको हो। तनहुँको आदेशविरुद्ध शाहले थुना बाहिर रहेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिएका थिए।
बुधवार उनको रिट निवेदनमा उच्च अदालत पोखराका न्यायाधीश रमेश प्रसाद राज भण्डारीको एकल इजलासले कैफियत प्रतिवेदन मगाउने आदेश दिएको हो।
तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन प्राप्त भएपछि मुद्दा सुनुवाइका लागि पेसी तोकिने छ। बुधवार न्यायाधीश राज भण्डारीको एकल इजलासले तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन मागका लागि आदेश जारी गरेको उच्च अदालत पोखराका उप रजिस्टार एवं सूचना अधिकारी विष्णु प्रसाद आचार्यले बताए।
तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदनसहितको कागजात प्राप्त भएपछि सुनुवाइका लागि पेसी तोकिने उनले बताए। आचार्यका अनुसार उच्च अदालत पोखरामा हुने सुनाइमा सरकारी वकिलले नाबालिकाको प्रतिरक्षामा बहस गर्ने छन् भने शाहका कानुन व्यवसायीले थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने शाहको पक्षमा बहस गर्नेछन्।
दुवै पक्षको बहस पछि जिल्ला अदालत तनहुँले शाहलाई थुनुवामा राख्न गरेको आदेशको पक्ष वा विपक्षमा न्यायाधीशबाट आदेश आउने छ। तनहुँ जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा गएका शाहले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिम साधारण तारेखमा रिहाइको माग गर्दै उच्च अदालतमा निवेदन दर्ता गराएका थिए।
शाहकाले तनहुँ जिल्ला अदालतले थुनामै राखी मुद्दाको पुर्पक्ष गर्ने गरी दिएको आदेश कानुनसम्मत नभएको, अदालतमा रहेको मिसिल र तथ्यगत प्रमाणलाई बेवास्ता गरिएको लगायतका कारण असन्तुष्टि रहेको उल्लेख गर्दै आफू थुनामुक्त भई साधारण तारेखमै रहेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गरेका छन्।
तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाले गत चैत १० गते शाहलाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएका थिए। सो आदेशविरुद्ध शाहले मङ्गलवार दिएको निवेदनको बुधवार प्रारम्भिक सुनुवाइ भएको हो।
चैत १६, २०७८ बुधबार १६:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।