पूर्व डिआइजी खरेल काठमाडौँ महानगरको मेयरको तयारीमा

पूर्व डिआइजी खरेल काठमाडौँ महानगरको मेयरको तयारीमा

काठमाडौँ : प्रहरी महानिरीक्षक नियुक्तिमा अन्याय भएको भन्दै नेपाल प्रहरीको डिआइजीबाट राजीनामा दिएर सक्रिय राजनीतिमा होमिएका रमेश खरेलले काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने तयारीमा लागेका छन्। प्रहरी सङ्गठनमा काम गर्दा भ्रष्टाचार विरोधी र खरो प्रहरी अधिकारीको छवि बनाएका उनी राजीनामापछि भ्रष्टाचार सम्बन्धी अभियानमा सक्रिय भएका थिए। उनले केही महिना अगाडि राष्ट्रिय सुशासन पार्टी गठन गरेका थिए।

खरेलले उकेरा स्थानीय तहमा पार्टी कसरी सहभागी हुनेभन्नेबारे छलफल भइरहेको र काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिनेबारे छलफल भइरहेको उनले बताए।

'स्थानीय तहमा प्रभाव पर्ने गरी सहभागी हुनुपर्छ भन्ने पार्टीको दृष्टिकोण छ। अहिले हामी छलफलमै छौँ,' खरेलले भने' काठमाडौँ महानगरपालिकाको नेतृत्वमा म उम्मेदवार बन्ने कि भन्नेबारे  छलफल भइरहेको सत्य हो।'

काठमाडौँ महानगरको गत चुनावमा विवेकशील र साझा पार्टीबाट उम्मेदवार दिएकाले सम्मानजनक मत पाएका थिए। गत निर्वाचनले बलियो योजना बोकेर आउने हो भने महानगरका मतदाताले नयाँ पार्टीका उम्मेदवारलाई पनि साथ दिने देखाएको थियो।

यसले समाजमा प्रभावशाली छवि बनाएकाहरूको नजर महानगरको मेयरमा रहेको देखिन्छ। र्याप गायक बालेन शाहले काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गरेर प्रचार समेत सुरु गरिसकेका छन्।

जनता समाजवादीका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले समेत आफू मेयरको उम्मेदवार बन्न तयार रहेको बताइसकेका छन्। तर बाबुरामले चाहेर पनि काठमाडौँबाट उम्मेदवार भने हुन सक्दैनन्। स्थानीय तहमा उम्मेदवार बन्न जहाँको उम्मेदवार हुने हो मतदाता त्यही क्षेत्रको हुनुपर्ने प्रावधान रहेको छ। बाबुराम गोर्खाका मतदाता हुन्।

चैत १६, २०७८ बुधबार १६:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।