भरतपुर महानगरको नेतृत्वको दाबी गरे प्रचण्डले
चितवन : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनको दलहरूबिच तालमेल गर्ने निर्णय गरेसँगै माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयरमा दाबी गरेको छ। चितवन पुगेका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरमा माओवादीको दाबी रहेको बताएका हुन्। अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेससँग तालमेल गरेर विवादित रूपमा प्रचण्डको छोरी रेणु दाहाल मेयरमा विजयी भएकी थिइन्।
कांग्रेसले तालमेलको औपचारिक निर्णय गर्नु अगाडि नै प्रचण्डले चितवनको संसदीय निर्वाचनमा दाबी गरे पनि भरतपुरको नेतृत्व भने कांग्रेसले गर्ने सन्देश दिइसकेको छ। सङ्घीय संसद् र महानगर दुवैको नेतृत्व माओवादीलाई दिए जिल्लामा विद्रोह हुनसक्ने भन्दै कांग्रेसले संसदीय क्षेत्रमा तालमेल गरे पनि महानगरको नेतृत्वमा लोभ नगर्न केन्द्रीय तहबाटै सन्देश दिइसकेको छ।
तर प्रचण्ड भरतपुरको मेयरमा पुन छोरी रेणु दाहाललाई नै उठाउने रणनीतिमा छन्। अघिल्लो स्थानीय तहको निर्वाचनमा पहिलो चरणको मत गणनामा मतपत्र चपाउँदा पुन मतदान हुँदा मात्र दाहालले जितेकी थिइन्।
चितवनमा प्रारम्भदेखि नै कांग्रेसका नेताहरू माओवादीसँग तालमेलको विपक्षमा छन्। तर प्रचण्डले केन्द्रले निर्णय गरेपछि जिल्लाले स्वीकार गर्ने दाबी गर्दै आएका छन्। तर माहौल उनले दाबी गरेझैँ देखिँदैन।
तर उनी आफ्नो छोरीको राजनीतिक भविष्य सुनिश्चित गर्ने प्रयासमा छन्। भरतपुर मेयरमा तालमेल नभए उनले चितवनकै कुनै क्षेत्रको प्रदेश सांसद माग्न सक्छ गठबन्धनसँग।
प्रचण्डले स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकाको तालमेलको विषयमा केन्द्रबाटै निर्णय हुने भन्दै भरतपुर महानगरको नेतृत्वमा आफ्नो पार्टीको दाबी रहने बताए।
उनले स्थानीय तहको निर्वाचनमा तालमेलबारे छलफल गर्न बिहीबार गठबन्धन दलको बैठक बस्न लागेको र सो बैठकमा तालमेलबारे कुनै न कुनै निर्णय हुने सञ्चारकर्मीलाई जानकारी दिए।
चैत १६, २०७८ बुधबार १६:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।