एमाले लुम्बिनीले माग्यो मुख्यमन्त्री केसीको राजीनामा 

एमाले लुम्बिनीले माग्यो मुख्यमन्त्री केसीको राजीनामा 

बुटवल : एमाले लुम्बिनीले मुख्यमन्त्री कुल प्रसाद केसीको राजीनामा मागेको छ। एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलले लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा सरकारले नै मिलेमतो गरेर राज्यलाई डेढ अर्ब बढी नोक्सान पुर्याउन खोजिएको भन्दै मुख्यमन्त्री केसीको राजीनामा माग गरेको हो।

लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि निर्माण कम्पनी छनोट गर्दा नै सेटिङ रहेको संसदीय दलका उपनेता बैजनाथ चौधरीले बताए। उनले निश्चित चाहेका निर्माण कम्पनीले मात्रै टेण्डरमा सहभागी हुन पाउने गरी स्पेसिफिकेसन तयार गर्नाले नै सेटिङ पुष्टि गरि दिएको बताए। 

उनले भने, 'प्राधिकरणले आह्वान गरेको ठेक्कामा कतिपय बुँदाले निजी क्षेत्रका कम्पनी बोलपत्रमा सहभागी हुन नपाउने प्रावधान राख्नु नै दुराशय स्पष्ट देखिन्छ। विदेशीसँग जेभी गरेर आउने भए सरकारी अस्पतालमा २ हजार वर्गमिटरभन्दा बढीको २ तले बेसमेन्ट बनाएको हुनुपर्ने, नेपाली कम्पनीले एक्लै प्रतिस्पर्धा गर्ने ६ हजार वर्गमिटरमा २ तले बेसमेन्ट निर्माण गरेको अनुभव हुनुपर्ने जस्ता प्रावधानले डबल बेसमेन्ट अस्पताल बनाएका निजी कम्पनीहरु टेण्डरमा सहभागी हुनबाट बञ्चित गरिएका थिए। त्यसैगरी, भिन्ली मेडिकेटड फ्लोरिङ काम गरेको हुनुपर्ने, १० जनाभन्दा बढी अट्ने लिफ्ट जडान गरेको योग्यता हुनुपर्ने विषय पनि शंकास्पद र औचित्यहीन देखिन्छन्।' 

उपनेता चौधरीले सेटिङ गरेर ठूलो नोक्सानी पुऱ्याउने दुर्नियत प्रदेश सरकारको रहेको बताए। प्रदेश पूर्वाधार विकास समितिको अध्यक्षको हैसियतले यस सेटिङका मुख्य जिम्मेवार मुख्यमन्त्री केसी भएको उनको भनाइ छ। 

पूर्वाधार विकास प्राधिकरणका कार्यकारी अधिकृत घिमिरेले सार्वजनिक गरे अनुसार, बोलपत्र दर्ता गर्ने कम्पनीलाई ‘हार्ड कपी’ दर्ता गर्न तीन दिनको समय दिइएकोमा एक जना व्यक्ति नै दुवै कम्पनीको फाइल बोकेर कार्यालय आएकोले सेटिङ भएको पुष्टि हुन्छ, उनले भने। 

उनले सात अर्बको ठेक्कामा सेटिङ मिलाएर निर्लज्ज ढंगले प्रक्रिया अघि बढाउने काम प्रदेश सरकार र मुख्यमन्त्रीको संलग्नतामा हुनु गम्भीर कमजोरी भएको बताए। ठेक्कामा प्रदेश सरकारलाई डेढ अर्ब रूपैयाँ नोक्सान पर्ने देखिएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले समेत सचेत बनाएको थियो।

चैत १६, २०७८ बुधबार १४:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।