पलको पुनरावलोकन निवेदन न्यायाधीश राजभण्डारीको इजलासमा

पलको पुनरावलोकन निवेदन न्यायाधीश राजभण्डारीको इजलासमा

पोखरा : नाबालिका गायिकालाई बलात्कार गरेको अभियोग लागेका नायक पल शाहले तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा दिएको निवेदन न्यायाधीश रमेश प्रसाद राजभण्डारीको इजलासमा परेको छ। जिल्ला अदालत तनहुँले नायक पल शाहलाई पुर्पक्षका लागि थुनुवामा पठाउन गरेको आदेशविरुद्ध शाहले थुना बाहिर रहेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै उच्च अदालत पोखरामा मंगलबार दिएको पुनरावलोकन निवेदन पेसी सूचीमा चढेको हो।

शाहको निवेदन न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजालासमो परेकाले आज (बुधबार) प्रारम्भिक सुनाइ हुने उच्च अदालत पोखराका उप रजिस्टार एवं सूचना अधिकारी बिष्णु प्रसाद आचार्यले बताए। उनले भने,‘आज राजभण्डारी श्रीमानको एकल इजलासमा शाहको निवेदन पेशी चढेको छ। अब,एकल इजलासले तनहुँबाट मिसिल झिकाउन सक्छ। जिल्ला अदालतबाट मिसिल आइसके पछि सरकारी वकिललाई पनि जानकारी दिइन्छ । मिसिलको अध्यान बहस भएपछि मात्र  आदेश आउँछ।’

शाहले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिम शाहले साधारण तारेखमा रिहा हुन पाउनुपर्ने माग गर्दै मंगलबार उच्च अदालत पोखरामा निवेदन दर्ता गराएका थिए। तनहुँ जिल्ला अदालतले गत चैत १० गते पललाई पुर्पक्षका लागि थुनामा पठाउने र अर्का प्रतिवादी कृष्ण जोशीलाई १ लाख धरौटीमा छोड्ने आदेश दिएको थियो। शाहले थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनु पर्ने भन्दै उच्च अदालतमा निवेदन दिएका थिए।

शाहकाले तनहुँ जिल्ला अदालतले थुनामै राखी मुद्दाको पुर्पक्ष गर्ने गरी दिएको आदेश कानुनसम्मत नभएको, अदालतमा रहेको मिसिल र तथ्यगत प्रमाणलाई बेवास्ता गरिएको लगायतका कारण असन्तुष्टि रहेको उल्लेख गर्दै आफू थुनामुक्त भई साधारण तारेखमै रहेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गरेका छन्। तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले गत चैत १० गते शाहलाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएका थिए। 

तनहुँ जिल्ला अदालतले दिएको आदेशविरुद्ध शाहका कानुन व्यवसायीहरूले तनहुँ र नवलपुरमा शाहले बलात्कार गरेको उजुरी गरे पनि त्यसलाई विश्वास गर्ने आधार नभएको, १४ वैशाख २०७८ मा शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित प्रदिप थापाको घरमा राती बलात्कार गरेको भनिएको तर, भोलिपल्ट बिहान एउटै गाडी चढेर सुटिङमा गएको र बालिकाले कुनै गुनासो नगरेका कारण बलात्कार भएको आरोप लगाउने पीडितकै कुरा बाझिएको जिकिर गरेका छन्। 

गायिकालाई सुटिङको क्रममा चिनजान भएपछि विवाह गर्ने भन्दै प्रेमको झुटो नाटक देखाएर पटक पटक करणी गर्दै आएको भन्दै ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो। अन्तिम पटक १४ वैशाख २०७८ मा दुलेगौँडास्थित थापाको घरमा राति १२ बजेतिर बालिकाको कोठामा प्रवेश गरेर शाहले ललाइफकाइ जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ। 

चैत १६, २०७८ बुधबार १३:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।