तुलसीपुरको चुनावी आकलन : एमालेलाई गठबन्धनको डर, कांग्रेस गठबन्धनमै निर्भर

तुलसीपुरको चुनावी आकलन : एमालेलाई गठबन्धनको डर, कांग्रेस गठबन्धनमै निर्भर

बुटवल : दाङको तुल्सीपुर उप-महानगरपालिकामा स्थानीय तह चुनावको गर्मी बढ्न थालेको छ। चुनावको मिति नजिकिँदै गर्दा सत्तासिन र विपक्षी दलका नेताहरु मेयरको टिकट हात पार्ने लविङमा लागेका छन्।

२०७४ सालको निर्वाचनमा दाङका दुई उप-महानगरपालिका घोराही र तुल्सीपुरमा एमाले विजयी भयो। घोराहीमा नरुलाल चौधरीले जित्दा तुल्सीपुरमा घनश्याम पाण्डे विजयी भए।

एमाले अहिले यही विरासत जोगाउने कसरतमा छ भने नेपाली कांग्रेस, माओवादी केन्द्रका नेताहरु एमालेलाई पराजित गरी आफ्नो जित सुनिश्चित गर्न योजनाबद्ध रणनीति तयार गरिरहेका छन्।

जिल्लाका १० वटा पालिकामध्ये ३ वटा मात्र पालिकामा विजयी भएको नेपाली कांग्रेस अहिलेको निर्वाचनमा गठबन्धन गरेरै भए पनि एमालेको विरासत भत्काउने दाउमा छ। त्यसैले राजनीतिक दलहरुले जनतासँग परिचित र विवादरहित नेतालाई निर्वाचनमा अगाडि सार्नुपर्नेमा जोड दिइरहेका छन्।

कांग्रेसका तर्फबाट तुल्सीपुरमा मेयरका मुख्य दावेदारका रुपमा कीर्तिबहादुर खड्कालाई हेरिएको छ। पुराना नेता खड्का जिल्लाका निवर्तमान सभापति हुन्।

पार्टीको जिम्मेवारी कुलशताका साथ पूरा गरेको र सभापति रहँदा आफूले जिल्लामा कांग्रेसको मान राख्ने गरी काम गरेकाले निर्वाचनमा टिकट पाउनेमा उनी विस्तत्व छन्। उनी संस्थापन पक्षका नेता हुन्।

त्यस बाहेक जिल्लाकै पूर्वसभापति घनश्याम रेग्मीले पनि मेयरमा उठ्न आकांक्षा देखाएका छन्। संस्थापन पक्षकै खड्का अघि सरेमा रेग्मीलाई पार्टीले टिकट दिन नसक्ने कांग्रेसकै कतिपय नेताहरु बताउँछन्।

मेयरका आकांक्षी खड्काले पार्टीले टिकट दिएमा तुल्सीपुरलाई कांग्रेसमय बनाउने आफ्नो योजना रहेको बताए। ‘जनप्रतिनिधि भएर जनतासँग नजिकबाट काम गर्न खोजेको छु। पार्टीले मलाई यस पटक न्याय गर्छ भन्नेमा विश्वस्त छु,’ उनले भने।

२०७४ सालको निर्वाचनमा एमालेका घनश्याम पाण्डेसँग पराजित भएका गेहेन्द्र गिरीले भने यस पटक नगर प्रमुख बन्न आकांक्षा देखाएका छैनन्। अघिल्लो निर्वाचनमा एमालेका घनश्याम पाण्डेले २२ हजार ८ सय ५७ मत प्राप्त गर्दा गिरीले १८ हजार ९ सय ३ मत प्राप्त गरेका थिए।

एमाले दाङका नेताहरु भन्ने गर्छन्, ‘दाङका सबै स्थानीय तहबाट सिंगल मात्र नाम निर्णयका लागि सिफारिस हुन्छ। एउटाबाट दुईटा नाम सिफारिसका लागि पठाइँदैन।’

यही भनाइलाई आधार मान्दा तुल्सीपुर उप-महानगरपालिकाका एक्लो दावेदार एमाले दाङका निवर्तमान अध्यक्ष टीकाराम खड्का हुन्। कुनै बेला माधवकुमार नेपाल निकट मानिने खड्का विभाजनपछि एमालेमै रहेकाले पनि उनी तुल्सीपुर उप-महानगरपालिकाका एक्लो दावेदार भनेर चित्रण गरिएको हो।

‘जिल्ला नेतृत्वमा रहेर काम गरें। कुनै बेला माओवादी र कांग्रेसमय रहेको दाङ अहिले एमालेमय भएको छ। मलाई न्याय हुनेगरी पार्टीले निर्णय गर्छ। यसो भएमा तुल्सीपुरमा एमालेले आफ्नो विरासत कायम राख्छ,’ एमालेका आकांक्षी खड्काले भने।

एमाले महासचिव शंकर पोखरेलले पनि तुल्सीपुरमा टिकट खड्कालाई दिने बचन दिएको एमालेकै नेताहरु बताउँछन्। एमालेका बहालवाला मेयर पाण्डेले आफू नदोहोरिने बताइसकेका छन्। हालकी उपप्रमुख माया शर्माले पार्टीले निर्णय गरे जिम्मेवारी लिने बताउँदै आएकी छिन्।

निर्वाचनमा गठबन्धन भए तुल्सीपुरमा एमालेलाई जित्न त्यति सहज भने छैन्। माओवादी केन्द्र, नेपाली कांग्रेस, समाजवादी पार्टी सहितको गठबन्धन भएमा अघिल्लो निर्वाचनकै मत परिणाम हेर्ने हो भने तुल्सीपुरमा २७ हजार ५ सय मत छ भने एमाले एक्लैसँग २२ हजार ८ सय मत छ।

तर, नेताहरुले भने अघिल्लो मतपरिणाम अनुसारको नजिता नहुने बताउँदै आएका छन्। एमालेका जिल्ला अध्यक्ष हुकुम बस्नेतले गठबन्धन गरेरै आए पनि तुल्सीपुरमा एमालेको विजयी हुने बताए।

यता माओवादी र समाजवादी पार्टी भने पर्ख र हेरको अवस्थामा छन्। गठबन्धन भए दुई उप-महानगरपालिकामध्ये एउटा उप-महानगरपालिकामा समाजवादीको दावी छ।

चैत १६, २०७८ बुधबार १०:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।