गण्डकीका कानुनमन्त्री थापाले तलब भत्ताको पौने १५ लाख सामाजिक काममा खर्चे गरेको दाबी

गण्डकीका कानुनमन्त्री थापाले तलब भत्ताको पौने १५ लाख सामाजिक काममा खर्चे गरेको दाबी

पोखरा : गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले आफूले प्रदेशबाट प्राप्त गर्ने तलब भत्ता सामाजिक सेवामा खर्च गरेको दाबी गरेका छन्। मन्त्री थापाले गण्डकी प्रदेशको सांसद भएदेखि नै आफूले पारिश्रमिक बापत पाउने रकम सामाजिक कार्यमा खर्चँदै आएको दाबी गरेका हुन्। 

उनले यस वर्ष पनि आफूले १४ लाख ८६ हजार रुपैयाँ सामाजिक कार्यमा खर्चेको बताए। मन्त्री थापाले आफूले प्रदेशसभाको सांसद भएपछि अहिलेसम्म पाएको पारिश्रमिक सहित ४६ लाख ६७ हजार सामाजिक कार्यमा खर्च गरेको दाबी गरे।

थापा सांसद भए देखी पाएको तलब भत्तामा आफूले व्यपार व्यवसायबाट आर्जन गर्दे आएको केही रकम थप गरी सामाजिक काममा खर्च गर्दै आएको बताए। प्रेस युनियन कास्कीद्धारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा थापाले निर्वाचित हुनुअघि नै आफूले पाउने सेवा सुविधा सामाजिक कार्यमा खर्च गर्ने घोषणा गरे अनुसार नै जनताको सेवामा लगाएको बताए। उनले भने,‘पछिल्लो समय राजनीति कमाउने ठाउँ भएको छ। तर, मेरा लागि भने राजनीति सेवा हो। मैले राजनीतिलाई पेसा बनाउन आवश्यक छैन। पैसा कमाउन मैले व्यापार, व्यवसाय र अन्यत्र लगानी गरेको छु। त्यसले नै मेरो लागि जीविकोपार्जन चल्छ।’ 

मन्त्री थापाले राजनीतिमा लागेर आर्थिक उपार्जन गर्ने भन्दा पनि जनताको सेवा गर्न आफ्नो उदेस्य रहेको बताए। मन्त्री थापाले विसं २०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित भए देखिनै सुविधाको रकम बिरामीको उपचारमा, स्वास्थ्य सामग्री र दलित बस्तीमा खानेपानी, लगायतका कार्यमा लगाउँदै आएको बताए। उनले आफूले पारिश्रमिक बापत पाएर विभिन्न क्षेत्रमा खर्च गर्दै आएको रकम बर्सेनि सार्वजनिक गर्दै आएका छन्।

मन्त्री थापाले प्रदेशको समृद्धि र विकासका लागि सरकारको जिम्मेवार सदस्यका रूपमा प्रतिबद्ध रहेको समेत उल्लेख गरे। उनले पोखरा ८ र ९ नंम्वर वडाका विभिन्न टोलमा सडक बत्तीका लागि एक लाख २४ हजार, पोखरा–१६ तुम्केमा खानेपानीको लागि ६५ हजारको पाइप सहयोग, पोखरा–३३ को पुँडी, आँपुकसेरी, चिसापानी लगायतका स्थानमा खेलकुद सामग्रीका लागि ६७ हजार ५ सय समेत सहयोग गरेको  मन्त्री थापाले जानकारी दिए।

मन्त्री थापाका अनुसार लामाखेत ग्रामिण मोटर मार्ग मर्मत सम्भारका लागि ४७ हजार तीन सय, मार्गदर्शन महिला समूहले आयोजना गरेको स्वास्थ्यशिविरका लागि पचार हजार, नागरिक परोपकार समन्वय संस्थाका लागि एम्बुलेन्स खरिद गर्न  ५५ हजार, सिंहनाथ टोल विकास संस्थाको भवन निर्माणमा ५१ हजार, पोखरा २० भलामका गोपाल परियारको घर पहिरोका कारण क्षती भएकाले पुर्ननिर्माणका लागि १७ हजार ७९७,पोखरा ३३ को जनजागृति विद्यालय युरोगार्ड र खानेपानी ट्याङकीका लागि ५३ हजार सहयोग गरेका छन् । त्यसैगरी पोखरा ८ र ९ का विभिन्न टोलमा सडक बत्ती जडान  गर्न १ लाख २४ हजार, नमूना युवाक्लब, नौधारे युवाक्लब, झुपराङकोट युवाक्लब गल्र्याङ र नवज्योती युवाक्लब कालीमुँडा-पोखरा १६ मा  खेलकुद सामाग्री खरिद गर्न २८ हजार, पोखरा १५   नयाँगाउँ प्रतिभा टोलविकास संस्थाको भवन निर्माण २५ हजार, पोखरा-२४ मा लौरुक युवा क्लब, डाँडापारी युवा क्लब र बाँसकोट युवाक्लबका लागि खेलकुद सामाग्री खरिदका लागि १७ हजार खर्च गरेका छन्।

त्यसैगरी पोखरा १६ मा गन्दर्भ आमा समूहका लागि भाँडाकुँडा लगायतको सहयोग सामाग्री खरिदका लागि २८ हजार,पोखरा २०, भलाममा खानेपानी पाइप खरिदका लागि ३३ हजार,पोखरा ३३  अनुशासित आमा समूह, महिला दिदीबहिनीहरूको सीप तथा क्षमता अभिवृद्धि कार्यक्रमका लागि २५ हजार, चिसाखोला वेद विद्याश्रमका लागि २० हजार,पोखरा १७मा सिदार्थ नमूना दिदीबहिनी समूहका लागि कुर्सी र अफिस दराज सहयोग खरिदका लागि २५ हजार, मोहरिया परियार समाजको लोकबाजा खरिदका लागि ३० हजार, पोखरा ३३ को उपल्लोपूँडी, तल्लोपुँडी, ठूलोपाखामा जिब्रेढुंगा, सुरताङ, खैरहनी, लाम्गादी लगायतका  ठाउँमा खेलकुद सामाग्री खरिदका लागि ६७ हजार पाँच सय,पोखरा १६, तुम्केगल्र्याङ  खानेपानी पाइप खरिदका लागि ६५ हजार सहयोग गरेका छन्।

त्यस्तै पोखरा २० का शन्तबहादुर विकका लागि शैक्षिक सामाग्री सहयोगका लागि ६ हजार, पोखरा ८ प्रतिभा मार्गमा कन्भेक्स मिरर जडान गर्न १५ हजार, पोखरा २० आँटीघर हातिगौँडा समाजको भवन निर्माण गर्न ३० हजार, रुपागाउँपालिका ७ मा रहेको हंशपूर एग्रो फार्मका लागि कृषि सामाग्री सहयोगका लागि १० हजार, पोखरा २८ को नवजागरण युवाक्लबलाई २० हजार सहयोगर गरिएको छ ।त्यस्तै पोखरा २१ लिला कुमारी थापाका लागि कृषि सामाग्री सहयोग ३० हजार, पोखरा १७ को सिदार्थ नमूना दिदीबहिनी समूहका लागि टेबल, कुर्सी, अफिस दराज खरिदका लागि २५ हजार, पोखरा ३ मा रहेको श्री वीरेन्द्र स्मृति पार्कको लागि ५ हजार, पृथ्वीनारायण क्याम्पसको कानुन संकायका विद्यार्थीले गरेको संवैधानिक बहसका लागि १० हजार, मानवअधिकार तथा शान्ति समाजका लागि  १० हजार, पोखरा-९ को नयाँ बजार युवाक्लका लागि खेलसामाग्री खरिदका लागि २१ हजार ८६० रुपैयाँ सहयोग गरेको मन्त्री थापाले बताए। 

त्यस्तै नेपाल क्योकुशिन-कान कराँते संघका लागि १० हजार, पोखरा २३ चापाकोट देउराली सामुदायिक होमस्टेको पूर्वाधार निर्माणका लागि १५ हजार,पोखरा–९मा रहेको ज्येष्ठ नागरिक सरोकार समाज निर्माण गर्न १० हजार, पोखरा १६ का अजय गुरुङका लागि कृषि सामाग्री खरिद गर्न २१ हजार ७ सय, पोखरा ३२ मा परोपकार आमा समूहको बहुउद्देश्यीय भवन निर्माण गर्न २५ हजार सहयोग गरेको उनले बताए।

त्यसै गरी मन्त्री थापाले पोखरा ११, १६,२०, २१, २४, ३३ मा तारजाली र पाइप खरिदका लागि २ लाख ५६ हजार, टाइगरग्रुपकप (भलिबल प्रतियोगिता) का लागि २५ हजार, पोखरा ८, ११, १६, ९ मा सडक बत्ती र फोकस लाइट जडान गर्न एक लाख४२ हजार ७५०, पोखरा ३२ का क्यान्सरका बिरामी शिवराज सापकोटालाई १० हजार, पोखरा २६ विजयपुर युवामञ्चलाई  ७ हजार र स्टेप अप क्याम्पियन-२को कार्यक्रम गर्नका लागि २० हजार सहित जम्मा १४ लाख ८६ हजार ९०७ रुपैयाँ खर्च गरेका छन्।

मन्त्री थापाले २०७७ साल माघ महिनादेखि २०७८ फागुन सम्मको तलब भत्ता बापत १३ लाख ६६ हजार बुझेको र त्यसमा थप १ लाख २० हजार आफ्नो तर्फबाट थप गरी १४ लाख ८६ हजार रुपैयाँ सामाजिक क्षेत्रमा खर्च गरेको बताए।

उनले अघिल्लो वर्ष २०७६ माघदेखि २०७७ पौषसम्म १२ लाख ४७ हजार रुपैयाँ र २०७४ माघ महिनादेखि २०७५ माघ १० लाख ५४ हजार रुपैयाँ खर्च सामाजिक क्षेत्रमा खर्च गरेको बताए। उनी कास्की क्षेत्र नम्बर २ ख बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।
 

चैत १५, २०७८ मंगलबार २०:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।