पोखराको मेयरमा मन्त्रीदेखि अटेरीसम्म आकाङ्क्षी : विरासत जोगाउने र भत्काउने दाउमा दल

पोखराको मेयरमा मन्त्रीदेखि अटेरीसम्म आकाङ्क्षी : विरासत जोगाउने र भत्काउने दाउमा दल

पोखरा :  आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको नेतृत्वमा पुग्न प्रदेश मन्त्रीदेखि व्यवसायीसम्म आकाङ्क्षी देखिएका छन्। प्रमुख प्रतिपक्षी बनेको नेपाली कांग्रेस नेतृत्वमा जाने दाउमा छ। स्थानीय आवश्यकताको आधारमा गठबन्धन दलबिच तालमेल गर्ने निर्णय गरेको उसले पोखरा आफैँले लिन्छ या माओवादी केन्द्र या एकीकृत समाजवादीलाई दिन्छ एकिन छैन।

अघिल्लो स्थानीय तह निर्वाचनमा नेतृत्व पाएको एमाले विजय यात्रा जारी राख्ने दाउमा छ। स्थानीय तहलाई दलभन्दा उम्मेदवार केन्द्रित बनाउन अटेरी अभियान चलाएको युवा समूह पनि नेतृत्वका लागि कस्सिएका छन्।

प्रदेश र सङ्घ निर्वाचनमा एमाले र माओवादी मिले पनि स्थानीय तहमा भने कांग्रेस र माओवादीबिच तालमेल भएको थियो। तालमेल हुँदा पनि २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार मानबहादुर जिसीले कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई साढे १३ हजार मतले पराजित गरेका थिए। गत निर्वाचनमा पोखरा महानगरका ३३ वडा मध्ये एमालेले २२ र कांग्रेसले ११ वडाध्यक्ष जितेको थियो।

अहिले एमालेको एक समूह एकीकृत समाजवादी बने पनि महानगरका ३३ वडामा विभाजनको असर देखिन्छ नै। त्यसमा पनि पोखरा महानगरलाई स्मार्ट सिटी बनाउने सपना बाँडेका मेयर जिसीको कमजोर कार्यक्षमताको प्रभाव मतपत्रमा पर्न सक्छ।

पोखरामा मतदाता कति ?

पोखरा महानगरपालिकामा मतदाताको सङ्ख्या २ लाख ७ हजार ७ सय पाँच रहेको छ। २०७४ मा पोखरामा १ लाख ६८ हजार, ६७ मतदाता थिए। २०७४ को स्थानीय निर्वाचनताका भन्दा अहिले पोखरामा ३९ हजार ६ सय ३८ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ।

२०७४ सालको स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकामा १ लाख २५ हजार ९ सय ३२ अर्थात् ७४ दशमलव ९३ प्रतिशत मत खसेको थियो ।

विभाजन र मेयरको कमजोर कार्यशैली बाधक

मेयर जिसीले पोखरा क्षेत्रका प्राकृतिक सम्पदा भाडामा लगाउने, फेवातालको ड्याम निर्माण, सडकमा पार्किङ बापतको घण्टे शुल्क, फेवातालको मापदण्ड कायम गर्न चासो नदिनु, महानगरवासीसँग चर्को कर असुल्ने गतिविधिले मतदाता सन्तुष्ट छैनन्।

यी सबैबारे जानकार एमाले १३ हजार मतान्तरसँगै पछिल्लो समय थपिएका मतदाताबाट आफूतिर आकर्षित गरेर विरासत जोगाउने रणनीतिमा देखिन्छ। कांग्रेसले एमालेको विभाजन र मेयर जिसीको कमजोर कार्यकाललाई चुनावी अजेण्डा बनाउने रणनीतिमा देखिन्छ।

कास्कीमा एमाले केन्द्रीय उपमहासचिव पृथ्बीसुब्बा गुरुङ र प्रभावशाली नेता खगराज अधिकारीले छुट्टाछुट्टै गुट चलाइ रहेका छन्। यसको असर पनि निर्वाचनमा पर्न सक्छ। कांग्रेसमा पनि एकमत देखिएका छैनन् उम्मेदवारमा। कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल र शेखर कोइराला निकटस्थहरू महानगरको उम्मेदवार बन्न लागि केन्द्रीय नेतृत्वलाई फकाउन सक्रिय भइसकेका छन्।

यस्ता छन् एमालेका आकाङ्क्षी

एमालेकातर्फबाट पोखरा महानगरको मेयरका लागि प्रदेशसभाका सांसददेखि पार्टीका विभिन्न तहका नेता आकाङ्क्षी देखिएका छन्। नेता पृथ्बीसुब्बा गुरुङ खेमाबाट बहालवाला प्रदेशसभा सांसद राजीव पहारीको चर्चा छ। उनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरको उम्मेदवार बन्न चाहेका छन्।

बहालवाला उपमेयर मञ्जु देवी गुरुङ, पूर्व मेयर एवं प्रदेश सांसद कृष्ण बहादुर थापा, नेता भीम कार्की एमालेबाट मेयरको दाबेदार देखिएका छन्। उनीहरू सबै पार्टीको केन्द्रीय सदस्य रहेका छन्। कार्की पार्टीको कास्की जिल्ला इन्चार्ज समेत हुन्। त्यस्तै दीपक पौडेल, नेतृ मिनाकुमारी गुरुङ, दर्शन लामा समेत एमालेबाट मेयरको दाबेदार हुन्। हालका प्रदेशसभा सदस्य कृष्ण बहादुर थापा पनि आकाङ्क्षी देखिएका छन्। उनी २०५४ मा पोखराको मेयर भएका थिए।

उपमेयर मञ्जु देवी गुरुङ आफू मेयरको उम्मेदवारको स्वाभाविक दाबेदार भएको दाबी गर्छिन्। पार्टीले योग्यता र क्षमताका आधारमा महानगरको आगामी उम्मेदवार छनौट गर्ने उनले बताइन्। राष्ट्रपति विद्यादेवी भण्डारीसँगको सम्बन्धले गुरुङ मेयरको बलियो दाबेदार मानिन्छ। राष्ट्रपति भण्डारी र उपमेयर गुरुङ सैनी हुन्।

जिल्ला सह-इन्चार्ज मिनाकुमारी गुरुङ पनि बलियै दाबेदार हुन्। नाताले उनी उपमहासचिव पृथ्वी सुब्बा गुरुङकी सम्धिनी हुन्।

होटल सञ्चालकद्वय इन्जिनियर भरत पहारी र पुष्प अधिकारी पनि मेयरका आकाङ्क्षी हुन्। विद्यार्थी राजनीतिबाट आएका गण्डकी प्रदेशका उपसचिव रश्मि आर्चाय, पोखरा महानगरको पार्टीका अध्यक्ष दिलीप न्यौपाने समेत मेयरको आकांक्ष राखेका छन्।

पोखरा–१३ का वडा अध्यक्ष दर्शन लामा, पोखरा महानरपालिका कमिटीका पूर्व संयोजक दीपक पौडेल, पोखरा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष सञ्जीवबहादुर कोइराला, युवा उद्यमी पुष्पज्योति ढुङ्गानाले समेत मेयरको टिकटको आकाङ्क्षी हुन्।

कांग्रेसमा आकाङ्क्षीको भिड

कांग्रेसका तर्फबाट पोखरा महानगरको मेयरका लागि झन्डै एक दर्जन नेताहरू आकाङ्क्षी छन्। मेयर बन्न प्रदेशका बहालवाला मन्त्री, सङ्घका पूर्व मन्त्रीदेखि पूर्व सचिवसम्मले लबिङ सुरु गरिसकेका छन्। पार्टी सभापति देउवा, नेता पौडेल, शेखर कोइराला, कृष्ण प्रसाद सिटौला लगाएका नेताको गुटबाट टिकट पाउन लबिङ सुरु भइसक्यो।

देउवा निकट गण्डकी प्रदेशका कानुन तथा सङ्घीय मामिला मन्त्री रहेका विन्दुकुमार थापा समेत मेयर बन्न इच्छुक छन्। थापा हाइड्रोपावर, रियल स्टेट, अटो, बैङ्क, हाउजिङ लगायतका डेढ एक दर्जन भन्दा बढी व्यापार व्यवसायमा आबद्ध छन्।

पत्रकारिता छाडेर सक्रिय राजनीतिमा लागेका गंगाधर पराजुली, कास्की कांग्रेसका निवर्तमान जिल्ला सभापति कृष्ण केसी, नेपाल सरकारका पूर्व सचिव बाबुराम आचार्य, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पूर्व कानुन मन्त्री यज्ञबहादुर थापा, निवर्तमान पार्टी जिल्ला सचिव सुदीपमोहन भट्टराई समेत मेयरको उम्मेदवारका आकाङ्क्षी हुन्।

कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल, गत निर्वाचनमा उपमेयरमा पराजित सरस्वती गुरुङ, प्रदेश सह महामन्त्री कोपिला रानाभाट, माया बराल, लक्ष्मी पाण्डे लगायतले पनि मेयरको उम्मेदवारीमा चासो देखाएका छन्।

माओवादीमा नि छन् आकाङ्क्षी

गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले भरतपुर छाडेर पोखरा महानगर लिएको थियो माओवादीसँग। तालमेल गर्दा भरतपुरमा माओवादीकी उम्मेदवार रेणु दाहालले जिते पनि पोखरामा भने कांग्रेस उम्मेदवार पराजित भएकी थिइन्। यो पटक भरतपुर मेयर कुनै हालतमा नछाड्ने तयारीमा देखिन्छन् चितवनका कांग्रेसी नेता।

मङ्गलवारको कांग्रेस केन्द्रीय समितिले गठबन्धन दलका नेताहरूबिच तालमेल गर्ने निर्णय गरेको छ। तर कांग्रेसले पोखरा छाड्ने सम्भावना भने छैन। तर माओवादीका नेताहरू पनि लबिङमा भने सक्रिय भइसकेको देखिन्छ।

बखानसिंह गुरुङ, विश्वप्रकाश लामिछाने, गङ्गा प्रसाद पोखरेल, हरिनारायण गिरी (विज्ञान) र प्रदेश सांसद दीपक कोइराला मेयरको उम्मेदवार बन्ने दौडमा देखिन्छन्। लामिछाने गत निर्वाचनमा माओवादीबाट पोखरा महानगरको उम्मेदवार बनेका थिए। पछि कांग्रेससंग चुनावी तालमेल गरिएकाले उनले पार्टीको निर्णय अनुसार उम्मेदवारी फिर्ता लिए।

एकीकृत समाजवादीबाट कास्कीका जिल्ला अध्यक्ष धनराज आचार्य र पूर्व जिल्ला विकास उपसभापति एवं समाजवादीको केन्द्रीय सदस्य श्रीनाथ बराल आकाङ्क्षी छन्।

अटेरी अभियानबाट सबै वडामा उम्मेदवारी

पोखराको मेयर बन्न स्वतन्त्र रूपमा ‘अटेरी उम्मेदवार रूपमा गनेस पौडेल सक्रिय छन्। उनी साहित्यकार एवं पत्रकार समेत हुन्। पौडेलले ‘अटेरी उम्मेदवार’का रूपमा उम्मेदवारी घोषणा गरेपछि अहिले पोखराका विभिन्न वडाहरूमा अन्य युवाहरूले समेत उम्मेदवारी घोषणा गरिरहेका छन्।

अटेरी अभियानबाट अधिकांश वडामा उम्मेदवारी घोषणा भइसकेको छ। पौडेल दलको आधारमा भन्दा पनि उम्मेदवारको योजनाको आधारमा स्थानीय तहको नेतृत्व चयन हुनुपर्ने पक्षमा सक्रिय छन्।

 साना दल  र अटेरी प्रभाव निर्णायक

यता सत्ताधारी दलबिच निर्वाचनमा तालमेल भएमा पोखरामा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल लगायतका दलसँग तालमेल गर्न सक्छन्। पोखरामा राप्रपाको राम्रै मत रहेको छ। गत वर्ष विवेकशील साझाबाट पनि उम्मेदवारी परेको थियो। राप्रपा लगायतका साना दलले एमालेलाई साथ दिएमा भने सत्ता गठबन्धनलाई गाह्रो देखिन्न महानगर जित्न। त्यसमा अटेरी उम्मेदवारहरूले नयाँ मतदाताको मत मात्र तान्छन् या पार्टीगत मतलाई पनि प्रभाव पार्छन् त्यसले समेत नतिजामा प्रभाव पार्ने देखिन्छ।

गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा खसेको मतको प्याट्रन हेर्ने हो भने अधिकांश मत कांग्रेसको क्रस भएर विवेकशील र साझाका मेयरको उम्मेदवारलाई गएको देखियो। कांग्रेस मतदाताको तुलनामा एमालेबाट धेरै मत क्रस नहुँदा विद्यासुन्दर शाक्य सहजै मेयरमा विजयी भएका थिए। जबकि उपमेयरमा कांग्रेस उम्मेदवारकै जित भयो। पोखरामा पनि अटेरी उम्मेदवारको  प्रभाव बढ्दा कांग्रेसका उम्मेदवारलाई नै घाटा हुनसक्ने जोखिम देखिन्छ। यसले एमाले उम्मेदवारलाई फाइदै हुनसक्छ।

चैत १५, २०७८ मंगलबार २०:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।