तालमेलमा सहमति गरेको कांग्रेसका नेताले संसदीय बोर्ड बनाउन सकेनन्

तालमेलमा सहमति गरेको कांग्रेसका नेताले संसदीय बोर्ड बनाउन सकेनन्

काठमाडौँ : संस्थापनइतर समूहका अधिकांश नेताहरू स्थानीय तहको निर्वाचनमा एक्लै जानुपर्ने पक्षमा रहे पनि मङ्गलवार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले स्थानीय आवश्यकताको आधारमा तालमेल गर्ने निर्णय सर्वसम्मत गर्यो। तर त्यही बैठकले निर्वाचनमा उम्मेदवार तोक्ने संसदीय बोर्डबारे भने निर्णय गर्न सकेन।

संसदीय बोर्डमा एकलौटी गरे प्रतिवाद गर्ने शेखर कोइराला समूहले चेतावनी दिइसकेको थियो। बोर्डका लागि डा. रामशरण महत, अर्जुननरसिंह केसी र चित्रलेखा यादवको नाम थियो। देउवा एनपी सावद, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई राख्न चाहन्थे।

कसलाई समेट्ने, कसलाई हटाउने भन्ने सहमति हुने नदेखिएपछि केन्द्रीय समितिको बैठकमा बोर्ड गठनबारे प्रस्ताव नै गएन। अब प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किएपछि बोर्डबारे छलफल हुने पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताए।

संसदीय बोर्डमा आफ्नो समूहका नेताहरू नपरे आफु पक्षका नेताहरुले टिकट नपाउन सक्ने भएकाले भागबन्डा नगर्ने दाबी गरे पनि शेखर समूह यसमा भने पछि हट्ने पक्षमा देखिएको छैन। उता शेखर समूहका नेतालाई बोर्डमा राखे आफू निकटका नेताहरूलाई टिकट दिन अप्ठ्यारो हुने भन्दै देउवा त्यसका लागि सहमत देखिएका छैनन्। यही विवादले संसदीय बोर्ड गठन हुन सकेन।

मङ्गलवारको बैठकले स्थानीय तह निर्वाचनका लागि परिचालन समिति र प्रचारप्रसार समिति भने गठन गरेको छ। उपसभापति पूर्णबहादुर खड्कालाई निर्वाचन परिचालन समिति गठन गरेको बैठकले प्रवक्ता महतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गर्ने निर्णय गरे पनि समितिका सदस्यहरू भने चयन गरेन। यी दुवै नेता देउवा समूहका हुन्।

चैत १५, २०७८ मंगलबार १८:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।