स्थानीय तह निर्वाचनमा दुवै चुनावी कमान्डर देउवा समूहका, आवश्यकताको आधारमा तालमेलको निर्णय
काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले स्थानीय अवस्था र आवश्यकता अनुरूप गठबन्धनमा रहेका अन्य दलहरूसँग तालमेल गर्न सक्ने निर्णय गर्दै पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई निर्वाचनको कमान्डर तोकेको छ।
पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले घर-घर जाऊँ कांग्रेस जिताऊँ अभियानले स्थानीय तहमा विजय हुने आधार बनाएको दाबी गर्दै बहुसङ्ख्यक स्थानीय तहमा जित्न आवश्यकता अनुसार तालमेल गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।
बैठकले स्थानीय तहमा पार्टी संयन्त्र परिचालनका लागि उपसभापति खड्काको नेतृत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गर्ने निर्णय समेत गरेको छ। समितिमा को-को सदस्य रहने भन्ने निर्णय भने भएको छैन। पार्टी सभापति शेरबहादुर देउवाले परामर्शपछि सदस्य तोक्ने महतले बताए।
यसै गरी स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार-प्रसार समिति गठन गर्दै त्यसको संयोजक पनि आफ्नै समूहका नेता डा प्रकाशशरणलाई दिइएको छ। यो समितिका सदस्यहरू पनि तोकिएको छैन। बैठकले पार्टीको क्रियशिल सदस्यता खोल्ने, प्रदेश सांसद र क्रियशिल सदस्यहरूले पार्टीमा बुझाउनुपर्ने रकम बुझाउन समेत निर्देशन दिएको छ।
प्रदेश सभा सदस्य र मन्त्रीपरिषद्का सदस्यहरूले पार्टीलाई पारिश्रमिकको २० प्रतिशत बुझाउनु पर्छ भने क्रियशिल सदस्यहरूले तीन सय बुझाउनुपर्ने विधानमा व्यवस्था रहेको छ।
चैत १५, २०७८ मंगलबार १८:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।