स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने कांग्रेसको निर्णय

स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने कांग्रेसको निर्णय

काठमाडौँ : नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा गठबन्धन दलहरूसँग तालमेल गर्ने निर्णय गरेको छ। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार स्थानीय तहमा तालमेल गर्ने गरी उम्मेदवारहरू चयन गर्ने निर्णय भएको बताए।

'बैठकले सर्वसम्मतिले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ,' बैठकबाट बाहिरिँदै गरेका पौडेलले सञ्चारकर्मीहरूसँग भने।

पार्टी सभापति शेरबहादुर देउवा तालमेलकै पक्षमा रहे पनि शेखर कोइराला पक्ष भने एक्लै निर्वाचनमा जानुपर्ने पक्षमा उभिएको थियो। बैठकले पार्टी उपसभापति पूर्ण बहादुर खड्ककाे संयाेजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ भने प्रवक्ता डा.प्रकाशशरण महतकाे संयाेजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ।

केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने जिल्ला सभापतिहरू तालमेलको विषयमा विभाजित बनेका थिए भने केन्द्रीय सदस्यहरू र पदाधिकारीहरू समेत तालमेलको पक्षमा एकमत देखिएका थिएनन्।

बैठकमा आवश्यकताको आधारमा स्थानीय तहले सिफारिस गरेको आधारमा पार्टी कमजोर रहेको स्थानमा अहिले सरकारमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग तालमेल गर्न सकिने भए पनि सबै ठाउँमा एकै मापदण्डको आधारमा तालमेलको निर्णय गर्न नसकिने बताएका थिए।

तर देउवा भने पहिल्यैबाट तालमेलको पक्षमा थिए। तालमेल नगर्ने हो भने आगामी निर्वाचनमा पार्टीले धेरै स्थानमा जित्न नसक्ने भन्दै उनी तालमेलको पक्षमा उभिएका थिए। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा समेत तालमेलको विपक्षमा उभिए पनि उनीहरूको समेत केही लागेन। अन्तमा सभापतिको इच्छा अनुसार बैठकले तालमेलकै निर्णय गर्यो।

यता प्रमुख प्रतिपक्षी भने सकेसम्म अहिले सरकारमा रहेका दलहरूबिच तालमेल नहोस् भन्ने पक्षमा थियो। एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सहितको तालमेल नहुन कांग्रेस एमालेसँग डराएको, बैसाखीको सहारामा हिँड्न खोजेको लगायतका सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए।

देउवाले ओलीको प्रतिवाद नगरे पनि बैठकमा यदि अहिले सरकारमा रहेका दलहरूबिच तालमेल नहुने हो भने पहिलाको प्रदेश र केन्द्रको संसदीय निर्वाचनमा झैँ बाम गठबन्धन बन्न सक्ने र त्यसको प्रयास भइरहेको भन्दै नेताहरूलाई तालमेलका लागि मनाउने प्रयास गरेका थिए।

माओवादी केन्द्र र एकीकृत समाजवादीले त तीनै तहको निर्वाचनमा वर्तमान सत्ता गठबन्धनमा रहेका दलहरूबिच तालमेल हुने बताउँदै आएको छ। 

चैत १५, २०७८ मंगलबार १७:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।