झुप्राका बादी समुदायलाई खोलाकै भर, खोलाकै डर
त्यही खोलामा बालुवा चालेर बालबच्चा पालिरहेकी कमलालाई जीविका धान्न भने धौ-धौ नै छ। दुःख लुकाउने ठाउँ छैन। झुप्रा खोलाको प्रचण्ड गर्मीमा बितिरहेको छ उनको दैनिकी।
बिहानको मिरमिरे उज्यालोसँगै खोलाको किनारामा पुग्ने कमला बालुवा, गिट्टी र ढुङ्गा बटुल्दाबटुल्दै खाना खाने भेउ नै पाउँदिनन्। उनी दिनभरि एक ट्याक्टर बालुवा बटुल्छिन्। त्यसबाट चार सय रुपैयाँ कमाउँछिन्।
भोट हाल्न जाँदा नेताहरुले घरमै गाडी ल्याएर मतदानस्थलमा लगेको उनी अहिले पनि झलझली सम्झन्छन्।
चुनावमा नेताहरुले यसरी बालुवा चाल्नु पर्दैन, घरमैं बसी-बसी पैसा कमाउने बनाउँछौं भनेर आश्वासन दिए पनि त्यो कार्यान्वयन नभएरै अर्को चुनाव आउन थालेको कमलाले बताइन्।
‘अब बादी समुदायले खोलाको बालुवा बटुलेर होइन, घरमै बसी-बसी पैसा कमाउने योजना ल्याउँछौं भनेर चुनाव जितेर गएकाहरु फर्किएर पनि आएनन्,’ कमलाले गुनासो गरिन्, ‘फेरि अर्को चुनावमा भोट माग्ने बेला भइसक्यो। अब त हामीलाई नेताको होइन, यही खोलाको भर छ। कमसेकम यही खोलाबाटै बालबच्चालाई साँझ-बिहानको छाक त टारेका छौं।’
अहिले नगरपालिकाले खोलाको बालुवा निकाल्न ठेक्का दिएको छ। ठेकेदारले डोजर लगाएर बालुवा झिक्न थालेपछि पहिले जस्तो कमाइ हुन छाडेको अर्का स्थानीय हरि बादीको गुनासो छ।
‘पहिला-पहिला हामी आफैंले बालुवा उठाएर जम्मा गर्थ्यौं। पैसा पनि दैनिक एक हजारभन्दा बढी नै कमाइ हुन्थ्यो। अहिले त ठेकेदारले डोजर लगाएर बालुवा उठाउँछन्,’ हरिले भने, ‘यसो गर्दा हामीले पूर्ण रुपमा काम पाउन सकेका छैनौं। हाम्रो रोजगारी खोसिएको छ।’
झुप्रा खोलामा एक सय ३५ घरधुरी बादी समुदाय मात्रै छन्। उनीहरुको आम्दानीको प्रमुख स्रोत भनेकै बालुवा-गिट्टी हो। यहीबाटै जीविका चलाउँदै आएका उनीहरु नदीकै जोखिममा रहेका छन्।
डोजर लगाएर बालुवा-गिट्टी निकाल्दा वर्षामा ठूलो पानी परे घरको आँगनबाटै पानी बग्छ। हिउँदमा आनन्दले सुत्न पाए पनि वर्षामा भने कति बेला खोलाले बगाउने भन्ने चिन्ताले रातभर जागराम बस्नु परेको अनुभव सुनाउँछन् अर्का स्थानीय गगन बादी।
अरुको भन्दा गगनको कथा अलि फरक छ। उनी आफू अपांग छन्। ह्विलचियर नै उनको सहारा हो।
श्रीमतीको मृत्युपछि छोरी-ज्वाईंसँग बसेका उनी अरुजस्तै काम गर्न पनि सक्दैनन्। दिसा-पिसाब गर्न पनि अरुकै सहारा चाहिन्छ। छोरी-ज्वाईंले बालुवा चालेर कमाएको रकमले पनि साँझ-बिहान आठ जनाको परिवारलाई धान्न मुस्किल भए पनि उनी बस्तीमा कोही आएपछि आर्थिक सहायता माग्छन्।
भोट हाल्न जाँदा नेताहरुले घरमै गाडी ल्याएर मतदानस्थलमा लगेको उनी अहिले पनि झलझली सम्झन्छन्।
‘विगत आठ वर्षदेखि म ह्विलचियरको सहारामा बाँचेको छु। यसभन्दा अगाडिको चुनावमा भोट हाल्न मेरा लागि गाडीका लस्कर लागे। गाडीमै गएर भोट हालें,’ उनले भने, ‘त्यसपछि खाएको छस् कि भोकै छस् भनेर कोही पनि फर्केर आएनन्। त्यसैले यसपालि त म भोट नै नहाल्ने।’
उनी मात्रै होइन् झुप्रा खोलाका बादी बस्ती नेताहरुका उधारा भाषणप्रति आजित भएका छन्। बस्तीमा शिक्षा, स्वास्थ्य र खानेपानीको उत्तिकै अभाव छ। केही बिरामी भएर सिटामोल खान पनि ५० रुपैयाँ बस भाडा तिरेर वीरेन्द्रनगर-६ मा आउनुपर्छ। कक्षा पाँचसम्म बस्तीमा विद्यालय भए पनि त्योभन्दा माथि पढ्न पनि बसमा धुलियाबिट धाउनुपर्छ। पानीको अभाव हुँदा खोलाकै पानी खान बाध्य उनीहरु खोलाकै भर र खोलाकै डरमा बाँचिरहेका छन्।
बादी बस्तीका लागि कार्यपालिकामा बारम्बार आवाज उठाए पनि आफ्नो कुरा सुनुवाइ नभएको वडा नम्बर-११ का वडा सदस्य एवं वीरेन्द्रनगर नगर कार्यपालिका सदस्य विष्णु बादीले बताए।
‘बादी समुदायका लागि कार्यपालिकामा बारम्बार कुरा उठाएँ। यही कुरा उठाउँदा-उठाउँदै मेरो पाँच वर्ष कार्यकाल पनि गयो। केही सानोतिनो पानीको योजना बाहेक अरु केही गर्न सकिएन,’ उनले भने, ‘अरु सबैले बोलेको कुरा लागू हुन्छ। बादी समुदायबाट म एक्लो छु, मेरो कुरा कसले सुन्छ? बैठकमा जाने, सही गर्ने मात्रै काम भयो।’
बादी समुदायबाट प्रतिनिधित्व गरे पनि उनीहरुका स्वास्थ्य, शिक्षा, रोजगार र भूमि सम्बन्धी समस्या समाधान गर्न नसकेकोप्रति आफूलाई नै पछुतो लाग्ने गरेको उनको गुनासो छ।
चैत १५, २०७८ मंगलबार १३:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।