पललाई तारेखमा थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पोखरामा पुनरावलोकन निवेदन

पललाई तारेखमा थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पोखरामा पुनरावलोकन निवेदन

पोखरा: नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लागि कारागारमा रहेका नायक पल शाहलाई थुनामुक्त गर्न माग गर्दै उच्च अदालतमा पुनरावलोकन निवेदन परेको छ।

पलका कानुनी सहयोगीले मङ्गलवार उच्च अदालत पोखरामा तनहुँ जिल्ला अदालतको आदेशको पुनरावलोकनको निवेदन दिएका हुन्। जिल्ला अदालत तनहुँले शाहलाइ पुर्पक्षका लागि थुनुवामा पठाउन आदेश दिएको थियो। अर्का प्रतिवादी कृष्ण जोशीलाई १ लाख धरौटीमा छोड्ने आदेश दिएको थियो।

‘शाहका विरुद्धको मुद्दामा तनहुँ जिल्ला अदालतबाट बिहीबार भएको आदेशमा चित्त नबुझेकाले उच्च अदालतमा पुनरावलोकनका लागि गएको उनको कानुनी सहयोगी भानुभक्त सुवेदीले उकेरलाई बताए। 

'तनहुँ जिल्ला अदालतले थुनुवामा राख्ने गरी जुन आदेश गरेको थियो त्यो आदेशकाविरुद्ध तारिखमा रिहाइ भएर मुद्दा लड्न पाउँ भनी उच्च अदालत पोखरामा पुनरावलोकन गरिएको छ,’ उनले भने।

कानुन व्यवसायी सुवेदीले अदालतले यस्तो मुद्दामा थुनुवामा राखेर, साधारण तारिखमा छाडेर र धरौटीमा छाडेर तीन किसिमबाट अनुसन्धान गर्न सक्ने बताए। उनले भने,‘अदालतले तीन किसिमको फैसला गर्न सक्छ ।आरोपितलाई थुनुवामा राखेर, साधारण तारिखमा छाडेर र धरौटीमा छाडेर अनुसन्धान गर्न सक्छ । तर, शाहलाइ त्यो मध्ये थुनुवामा राख्ने आदेश भएको छ। यसमा हाम्रो पक्षलाई चित्त नबुझेकाले पुनरावलोकनमा गएका हौँ।’

पुनरावलोकनका लागि दिएको निवेदनमा शाहलाई धरौटीमा रिहा गरेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने माग गरिएको छ। जिल्ला अदालतले थुनामा पठाउने आदेश गरेपछि उनी पक्षका कानुन व्यवसायीले प्रश्न उठाएका थिए। उनीहरूले तनहुँ र नवलपुरमा शाहले बलात्कार गरेको उजुरी गरे पनि त्यसलाई विश्वास गर्ने आधार नभएको, बेलुका बलात्कार गरेको भनिएको तर, भोलिपल्ट बिहान एउटै गाडीमा चढेर सुटिङमा गएको जस्ता कारण बलात्कार भएको आरोप लगाउने पीडितकै कुरा बाझिएको जिकिर गरेका छन्।

गायिकालाई सुटिङको क्रममा चिनजान भएपछि विवाह गर्ने भन्दै प्रेमको झुटो नाटक देखाएर पटक पटक करणी गर्दै आएको भन्दै ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । अन्तिम पटक १४ वैशाख २०७८ मा शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित प्रदीप थापाको घरमा राति १२ बजेतिर बालिकाको कोठामा प्रवेश गरेर शाहले ललाइफकाइ जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख छ।

* यस अगाडि पुनरावेदन भएकोमा सच्याएर पुनरावलोकन बनाइएको छ।

चैत १५, २०७८ मंगलबार १२:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।