अक्षय कुमारले भने- 'कश्मीर फाइल्स'ले 'बच्चन पाण्डे'लाई डुबायो

अक्षय कुमारले भने- 'कश्मीर फाइल्स'ले 'बच्चन पाण्डे'लाई डुबायो

एजेन्सीः बलिउडमा एक साताको अघिपछिमा रिलिज भएका चलचित्र हुन्- बच्चन पाण्डे, राधेश्याम र द कश्मीर फाइल्स। यीमध्ये राधेश्याम प्रदर्शनमा आएको दोस्रो-तेस्रो दिनबाटै 'नकआउट' भइसकेको थियो। 

सँगै रिलिज भएको कश्मीर फाइल्स एकाएक चर्चामा आयो। स्क्रिन पनि थपिएको थपिएकै भयो। लगत्तै आएको बच्चन पाण्डेले कश्मीर फाइल्सलाई चुनौती देला भन्ने सबैको अड्कल थियो। तर यस्तो भइदिएन।

कश्मीर फाइल्सलाई भारतीय सत्ताले समेत साथ दिँदा बच्चन पाण्डे हेरेको हेर्यै भयो। राधेश्यामभन्दा चर्चा त राम्रै पायो, तर कश्मीर फाइल्सको अघि केही चलेन। 

अक्षय कुमारले त सार्वजनिक कार्यक्रममै अभिव्यक्ति पनि दिए। उनले विवेक अग्निहोत्रीको फिल्म कश्मीर फाइल्सले आफ्नो बच्चन पाण्डेलाई डुबाएको पनि भने। उनले भने, 'हामी सबैले देशको कहानी भन्नुपर्छ। केही चर्चामा रहेका, केही चर्चाभन्दा पर रहेका कहानी। जस्तो विवेक अग्निहोत्रीले देशको सबैभन्दा दर्दनाक सत्य सबैको अगाडि राखिदिए। यो फिल्म एउटा छाल बनेर आयो। अर्को कुरा यो पनि हो कि यसले मेरो फिल्मलाई पनि डुबाइदियो।'

हुन पनि बच्चन पाण्डेले सात दिनमा ५० करोड भारु पनि मुस्किलले कमायो। उता कश्मीर फाइल्सले दुई सय करोड भारुको आँकडालाई पनि पार गरिसक्यो।

चैत १५, २०७८ मंगलबार १०:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।