घोराहीमा चुनावको जोड-घटाउ : बिरासत जोगाउने र भत्काउनेबीच टक्कर
बुटवल : गएको स्थानीय तहको निर्वाचनमा दाङको घोराही उपमहानगरपालिकाबाट एमालेका नरुलाल चौधरी २२ हजार ३० मतका साथ विजयी भए।
कांग्रेसबाट भुपेन्द्रबहादुर डाँगीले १७ हजार ४ सय ८४ मत प्राप्त गर्दा माओवादीका जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरे। करिब ५ हजार मतान्तरले नरुलाल चौधरी एमालेबाट विजयी भए।
आगामी निर्वाचनमा घोराहीबाट एमालेका मुख्य दावेदारको रुपमा उनै चौधरीलाई हेरिएको छ। देशकै ठूलो उपमहानगरपालिका रहेको घोराहीमा पुन: मेयर बन्न चौधरी पनि लविङमा लागेका छन्। थारु समुदायबाट राजनीतिमा होमिएका चौधरीले ५ वर्षको अवधिमा गरेका कामलाई मूल्यांकन गर्दै पार्टीले दाहोर्याउन सक्ने एमालेकै कतिपय नेताहरु बताउँछन्।
एमाले महासचिव शंकर पोखरेलसँग नजिक भएका चौधरीले नगर प्रमुखमा दोहोरिने इच्छा गरेपछि कसैले अहिले मुख खोल्न सकेका छैनन्। एमालेका महासचिव पोखरेल टिकट दिने ‘पावर’मा भएकाले चौधरीले टिकट पाउने बढी सम्भावना रहेको एमाले नेताहरु बताउँछन्।
चौधरी पनि पार्टीले निर्णय गरेर अघि सारेमा आफू निर्वाचनमा होमिने बताउँछन्। ‘आकांक्षा हो। अझै काम गर्न बाँकी छ। पार्टीले गर्ने निर्णय स्वीकार्य छ,’ उनले भने। गठबन्धन भए पनि घोराहीमा एमालेले जित्ने प्रशस्त आधारहरु रहेको उनले बताए।
‘ठूलो संख्यामा माओवादी र कांग्रेस छाडेर एमाले आउनेको संख्या बढ्दो छ। त्यो बाहेक ५ वर्षमा मेरो नेतृत्वको नगर सरकारले गरेका काम हेरेर पनि जनताले मूल्याकंन गर्नेछन्,’ उनले भने।
त्यसो त चौधरीसँगै नेताहरु राममणि पाण्डे, शिव आचार्य, भरत आचार्यले पनि मेयरमा आकांक्षा राखेका छन्।
निर्वाचनको मिति नजिँकिदै गर्दा घोराहीमा निर्वाचनको माहोल तातेको छ। २०७४ सालमा दलले प्राप्त गरेको मत विश्लेषण गर्दा विभिन्न अड्कलबाजी हुन थालेका छन्।
एमालेबाट टुक्रिएर समाजवादी पार्टी बनेपछि घोराहीमा त्यसको खास प्रभाव नभएकाले कांग्रेस र माओवादीका उम्मेदवारले पाएको मतलाई नै दलहरुले जोडघटाउ गरिरहेका छन्। कांग्रेस, माओवादीबीच गठबन्धन हुने/नहुने टुंगो नलाग्दै दलका नेताहरु नगर प्रमुखमा आकांक्षा व्यक्त गरिरहेका छन्।
कांग्रेसबाट अघिल्लो निर्वाचनमा एमालेका चौधरीसँग पराजित भएकै नेता डाँगीले नगर प्रमुख उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन्। गठबन्धनसँग भएको मत र नेपाली कांग्रेससँग भएको मतले आगामी निर्वाचनमा एमालेलाई पराजित गर्ने कांग्रेसको योजना छ।
डाँगी आफू नगर प्रमुखको आकांक्षी भएको र पार्टीले टिकट दिनेमा विश्वस्त रहेको बताउँछन्। ‘अघिल्लो निर्वाचनको समयमा भन्दा घोराहीमा पार्टी सुदृढ भएको छ। संगठन बलियो भएको छ। त्यस कारण पनि अहिले जित सुनिश्चित छ,’ उनले भने।
अघिल्लो निर्वाचनमा डाँगीले १४ हजार ४ सय ८४ मत प्राप्त गर्दा कांग्रेसबाटै उपप्रमुखकी उम्मेदवार बनेकी पुष्पा श्रेष्ठले १४ हजार ६ सय ३ मत ल्याएकी थिइन्। ‘अघिल्लो निर्वाचनमा श्रेष्ठजी को र मेरो मत करिब बराबर छ। यो भनेको संगठनको मत ढिक्का छ। त्यसैले पनि अहिले जित्न अप्ठयारो छैन,’ उनले भने।
संस्थापन समूहका नेता डाँगी कांग्रेस महाधिवेशन प्रतिनिधि हुन्। डाँगीसँगै कांग्रेसका किशोरचन्द्र गौतम र प्रकाश श्रेष्ठको पनि चर्चा छ। माओवादीबाट पनि यसअघि मेयरमा उम्मेदवार बनेका जीवन गौतमले आकांक्षा व्यक्त गरेका छन्। नारायणकाजी श्रेष्ठसँग नजिक भएका गौतमले अघिल्लो निर्वाचनमा १२ हजार ८२ मत ल्याएका थिए।
तथापि गठबन्धन भए प्रमुख कसले पाउने त्यही अनुसार उम्मेदवारी छनोट हुनेछ। गौतमसँगै माओवादीका अर्का नेता हेमराज शर्मा पनि मेयरका दावेदार हुन्।
अघिल्लो निर्वाचनमा माओवादी र कांग्रेस नगर प्रमुखका उम्मेदवारले पाएको मत हेर्ने हो भने घोराहीमा अहिले एमाले कमजोर जस्तै छ। गठबन्धन बने उनीहरुसँग २९ हजार बढी मत हुनेछ भने एमाले एक्लोसँग जम्मा २२ हजार मत हुनेछ। त्यसमा पनि एमालेबाट टुक्रिएर बनेको समाजवादीले केही भोट काट्ने भएकाले गठबन्धनको जित निश्चित जस्तै भएको माओवादीका नेता जीवन गौतमले बताए।
‘गठबन्धनले जित हासिल गर्छ। अघिल्लो परिणामले पनि यही संकेत गर्छ। पार्टीमा आकर्षण हुने लहर छ। त्यसैले एमालेलाई यहाँ हराउन सकिन्छ,’ उनले भने।
एमाले दाङ जिल्ला अध्यक्ष हुकुम बस्नेतले भने घोराही मात्र नभएर जिल्लाका अन्य ८ वटा स्थानीय तहमा पनि विजयी हासिल गर्ने दावी गरे।
यसअघि पाएको मत परिणामले अहिलेको निर्वाचन विश्लेषण गर्न नमिल्ने भन्दै उनले २०७४ सालकै नतिजा घोराहीमा दोहोरिने स्पष्ट पारे। ‘एमाले विभाजनको असर छैन, कोही चोइटिएर समाजवादीमा गएका हुन्। एमाले एक्लै सामान गर्न तयार छ। अघिल्लो निर्वाचनमा जितेका ६ सहित अरु थप २ वटा पालिका हामीले जित्छौं,’ उनले भने।
उनले एमालेबाट २ सय जना अन्य पार्टीमा गए पनि दाङबाट एमालेमा अहिलेसम्म ८ हजार बढी प्रवेश गराएको बताए। ‘पार्टी प्रवेश गराउने क्रम जारी छ। एमालेको आकर्षण बढी भएकाले निर्वाचनमा एमाले एक्लै जित्ने अभियानमा छ।’ उनले भने।
अघिल्लो निर्वाचनमा दाङ जिल्लाबाट नेपाली कांग्रेसले ३ वटा र माओवादी केन्द्रले जम्मा १ वटा मात्र पालिकामा विजयी हासिल गरेका थिए।
२०६४ सालको संविधान सभाको पहिलो निर्वाचनमा दाङका पाँच वटै निर्वाचनमा क्षेत्रमा तत्कालीन एमाओवादी विजयी हुँदा अरु पार्टी निल बनेका थिए। २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा अरु सबै पार्टीलाई निल बनाउँदै नेपाली कांग्रेस पाँच वटै निर्वाचन क्षेत्रमा विजयी भएको थियो।
२०७४ सालको निर्वाचनमा जिल्लाका ३ वटा निर्वाचन क्षेत्रमध्ये गठबन्धनको तर्फबाट तत्कालीन एमालेका हिराचन्द्र केसी, माओवादीबाट कृष्णबहादुर महरा र मेटमणि चौधरी निर्वाचित भएका थिए। केसी र मेटमणि एमालेबाट निर्वाचित भएर एमाले विभाजनपछि अहिले नेकपा एकीकृत समाजवादीमा लागेका छन्।
चैत १५, २०७८ मंगलबार ०७:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।