बृजेशकुमारलाई एमाले प्रवेश गराउँदै ओलीले भने : कांग्रेस डराएर बैसाखी टेक्यो

बृजेशकुमारलाई एमाले प्रवेश गराउँदै ओलीले भने : कांग्रेस डराएर बैसाखी टेक्यो

बुटवल : एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस बैसाखीको सहायतामा हिँड्न खोजेको बताएका छन्। कपिलवस्तुमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले निर्वाचनमा डराएर कांग्रेसले बैसाखी टेक्न परेको दाबी गरे।

‘आफू साँढे जस्तो उसलाई लाग्थ्यो, तर अहिले यता पट्टी एउटा बैसाखी टेकेको छ, अर्कोतिर बैसाखी टेकेको छ,' उनले भने ।

उनले आगामी निर्वाचनमा सबै दल मिलेर आए पनि एमालेसँग जित्न कसैले नसक्ने दाबी गरेका थिए। अहिलेको गठबन्धनबाट देशले निकास पाउन नसक्ने भन्दै उनले एमालेको विजय देशलाई चाहिएको दाबी गरे।

 ‘देशमा सामाजिक न्याय समानता, सद्भावका लागि एमाले चाहिएको छ। देशको आर्थिक प्रगतिको लागि, शिक्षाका लागि, स्वास्थ्यका लागि एमाले चाहिएको छ,'उनले भने।

एमाले उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनबाट सरकार डराएको दाबी गरे। एक्लै लड्ने आँट कसैसँग नभएको भन्दै एक्ला एक्लै आए पनि एमाले सामाना गर्न तयार रहेको बताए।

महासचिव शङ्कर पोखरेलले कपिलवस्तु जिल्ला एमालेको किल्लाको रूपमा स्थापित भएको दाबी गरे। उनले स्थानीय तहको निर्वाचन जित्नेमा कुनै शंकय नभएको दाबी गरे।

पार्टी प्रवेश कार्यक्रममा एमाले नेताहरू टोप बहादुर रायमाझी, करिश्मा मानन्धर लगायतले बोल्दै एमालेको जीत सुनिश्चित जस्तै भएको बताएका थिए। ओलीले कपिलवस्तुका सङ्घीय सांसद बृजेशकुमार गुप्तासहित १० हजार बढिलाई पार्टीमा प्रवेश गराएका थिए।

चैत १४, २०७८ सोमबार २२:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।