बादी समुदायकी पहिलो मोडल सरिताको अनुभव : बादी भन्दा हिनताभाव हैन, गर्व छ
काठमाडौं : बादी, नेपाली समाजमा यस्तो थर हो जसले परम्परागत सोच भएकालाई प्रारम्भमै नकारात्मक दृष्टि बनाइदिन सक्छ। तर समय बदलिइसक्यो। अबको जमानामा थर र धर्मको अर्थ छैन। कर्म हो मुख्य पाटो। यस्तै एक पात्र हुन सरिता बादी जसले परम्परागत सोचकालाई धक्का दिने तयारी गरिरहेकी छिन्।
मोडलिङ क्षेत्रमा बादी समुदायबाट अन्य सदस्यहरु पनि छन् भनिन्छ। तर उनी अहिले मोडलिङ क्षेत्रमा आफ्नो परिचय नलुकाई सक्रिय भइरहेकी छिन्। 'म सरिता बादी' भन्दा उनमा हिनताभाव हैन, गर्व छ। आफ्नो पहिचानसाथ मोडलिङ क्षेत्रमा सक्रिय भएकीले उनी नै सो समूदायको पहिलो व्यावसायिक मोडल हुन् भन्दा पक्कै फरक पर्दैन।
सुर्खेत, झुप्रा खोलामा जन्मेकी २३ वर्षीया मोडल सरिताको यहाँसम्मको यात्रा सजिलो भने भएन। कतै-कतै थरका कारण उनलाई सजिलो पनि भयो। तर अधिकांश ठाउँमा पीडा।
सरिता त भइनै हालिन्। उनीसँगै जोडिएको छ उनकी दिदी सिता बादीको संघर्ष यात्रा पनि। बहिनी सरिता यहाँसम्म आइपुग्नुमा उनीसँगै उनी दिदीको मिहिनेत र साहस कम छैन। आज उकेरा यिनै दिदी-बहिनीको कथा प्रस्तुत गर्दैछ।
०००
सरिता १२ वर्षजतिकी थिइन्। झुप्रा खोलाको बालुवा र गिट्टी बेचेर उनको परिवारलाई जीविकोपार्जन गर्न धौ-धौ नै थियो। त्यही समयमा एक गैरसरकारी संस्था उनको गाउँमा पुग्यो।
काठमाडौं लगेर पढाइदिने भनेपछि खाना जुटाउन समेत समस्यामा रहेको सरिताको परिवार खुसी भयो। उनलाई परिवारले संस्थाको साथ लगाएर पठायो काठमाडौँ। दिदी सिता बादी र उनले संस्थाकै सहयोगका कारण काठमाडौंमा बसेर पढ्न पाए। दिदी सीता बादीले राजनीतिशास्त्रमा स्नातकोत्तर गरिन्। सरिता मानविकी संकायमा स्नातक दोस्रो वर्षमा अध्ययनरत छिन्।
सरिता सानैदेखि दिदी सीताको रोहबरमा हुर्किइन्। उनले हाँस्दै भनिन्, 'आमा-बुबा पढे-लेखेका छैनन्। गाउँमा गिट्टी कुटेर बसेका छन्। त्यसैले मेरो जिन्दगीको आमा त दिदी नै हो। दिदीकै कारण म मनपर्ने मोडलिङको क्षेत्रमा आउन सकें।'
सानै उमेरमा गैरसरकारी संस्थामा हुर्किए सीता र सरिता। गैरसरकारी संस्थाले पढाइदिए, अधिकार खोज्नसक्ने बनाइदिए। विचमा उनीहरु संस्थाबाट बाहिरिए। केही संस्थाले जे पृष्ठभूमि हो त्यसलाई भन्दा अर्कै पृष्ठभूमिलाई सहयोग खोज्ने हतियार बनाउने गरेकोमा उनीहरु सहमत देखिएनन्। समुदायमाथि नै दाग लगाएर सहयोग उठाउनु गलत रहेको बताउँछिन् सिता।
सीताले भनिन्,' बादी समुदायको अस्मितामाथि नै दाग लाग्ने गरी सहयोग जुटाउनु ठिक हैन।'
दिदी-बहिनी संस्थाबाट बाहिरिँदा उनीहरुले हस्तकलाको सिप सिकिसकेका थिए। हस्तकलाको सामान बनाएर जीविकोपार्जन गर्नसक्ने आँट आयो। उनीहरु अहिलेसम्म त्यही सिपले पढिरहेका छन्, आफ्नो जीविकोपार्जन गरिरहेका छन्।
सीताका अनुसार, बादी समुदाय पहिले जस्तो छैन अहिले। उनीहरु खेती गरेर, मादल बेचेर र गिट्टी, बालुवा बनाएर जीविकोपार्जन गरिरहेका छन्। उनले असन्तुष्टि जनाउँदै भनिन्, 'सबैको इतिहास हुन्छ। हाम्रो पुर्खालाई पहिलेका मुखिया जमिन्दारहरुले शोषण गरे। बाध्य पारेर अस्मिता लुटे। हामी पहिलेका मुखिया जमिन्दारहरुबाट पीडित भयौं। तर अहिले न्याय दिनुको सट्टा आफूलाई पढे-लेखेका, आधुनिक बताउनेहरुले पनि पुरानै नजरले हेर्छन् हाम्रो समुदायलाई। यो अन्याय भएन?
टियुका शिक्षकले ह्यार्यासमेन्ट गरे
दिदी सीता बहिनी सरितालाई एक्लै बाहिर पठाउन पनि डराउँछिन्। त्यसैले जता जान परे पनि दुवै सँगै हिँड्छन्। उकेराले सरितासँग कुराकानी गर्न चाहेको थियो। तर सँगै दिदी पनि आएकी थिइन्। राम्रै भयो। दुवैसँग कुरा गर्ने मौका मिल्यो।
बहिनी हुर्कीसकेकी छिन्। तर सधै सँगै किन हिँड्नुपर्यो? उनले भनिन्, 'मैले भोगेको कुरा मेरी बहिनीले भोग्न नपरोस् भनेर उसलाई एक्लै कतै पठाउँदिन।'
सीताले सोसल ओर्क विषय पढिन्। जहाँ बादी भनेको यौन पेसा गर्ने जात हो भनेर लेखिएको छ। किताबमा लेखेको कुराले उनलाई नरमाइलो लागेन जति बादीको वास्तविकता थाहा पाएपछि उनका साथीले गरेको व्यवहारले मनमा चोट लाग्यो। सीताले अनुहार मलिन बनाउँदै भनिन्, 'किताबमा लेखेको बादी समुदायको परिभाषाले मेरो छेउमा बसेका साथीहरु उठेर अरु सिटमा गए। लामो समयसम्म मैले साथी बनाउन सकिनँ।'
उनले अर्को अनुभव सुनाइन्। 'स्नातकोत्तरको अन्तिम वर्षमा भाइवा भयो। दुई-दुई जना साथी गरेर प्राध्यापकले प्रश्न सोधिरहेका थिए। सबैलाई प्रध्यापकको अगाडिको सिटमा बसाइएको थियो। उनले भनिन्, 'मेरो पालो आयो। थर बादी भन्ने बित्तिकै ती प्राध्यापकको नजर परिवर्तन भयो।'
ती प्राध्यापकले उनलाई आफू नजिकको सिटमा बस्न भने। नजिक आएर तिमी पनि त्यही पेसा गर्छौं हो भनेर सोधे। पढे-लेखेको बताउने प्राध्यापकको कुरा सुनाउँदा उनी वर्तमानमा पनि भक्कानिइन्। भनिन्, 'मसँगै भाइवा दिन गएको अर्को साथी केटा थियो। अरुलाई चाहिँ यतै राख्दा हुने उसलाई मात्रै किन नजिक राखेको भनेर त्यो केटा साथीले प्रश्न सोध्यो। म भने केही बोल्न नसकेर रुँदै उठेर हिँडें।'
नयाँ पुस्तालाई बादी समुदायबारे खासै थाहा छैन। त्यसैले सरिताले दिदीलेझैँ नमिठो घटना भोग्नु परेको छैन। उनी उनीहरुको इतिहास नयाँ पुस्ताले भुलोस् भन्ने चाहन्छन्। ताकि उनीहरुलाई उनीहरुको पुर्खाको बाध्यताको नजरले नहेरुन्। उनीहरुको थरका कारण उनीहरुको नजर नबलिइयोस्। नयाँ पुस्ताले उनीहरुको काम हेरेर दृष्टिकोण बनाउन्।
बादी भएकाले कतैकतै हौसला पनि पाएकी छिन् बहिनीले। उनले खुसी हुँदै भनिन्, 'बादी समुदायको भन्ने बित्तिकै मोडलिङका निर्णायकहरुले हौसला पनि दिए। तिमीले केही गरेर देखाउनुपर्छ भनेर सम्मान गरे। औधी खुसी लाग्यो।'
भुलेको इतिहास नबल्झाइदेऊ
सरिता र सीता दुवैलाई बादीको पुरानो पेसा नसम्झाइदिए हुन्थ्यो जस्तो लाग्छ। सीताले भनिन्, 'हाम्रा बारेमा उपन्यास बन्छन्। कथा बन्छन्। फिल्म बन्छन्। तर वास्तविकता छायामा पारिएको हुन्छ। अहिले पनि हामी यही पेसामा छौं भन्ने सन्देश दिइएको हुन्छ। त्यसले हामीलाई प्रत्यक्ष असर पार्छ भन्ने सोच्दै सोच्दैनन्।'
हालैको अनुभव सुनाइन् उनले। राजेश हमालले अभिनय गरेको 'हजुर मुसुक्कै' बोलको म्युजिक भिडियोमा बादी समुदायसँगको राजा-महाराजाको प्रेम देखाइएको छ। गीत सुनेपछि एक जना केटाले फेसबुकमा म्यासेज गरेर एक रातको कति लिन्छौ भनेर सोधेको नमिठो अनुभव उनले सुनाइन्।
'इतिहासमा त्यस्ता थिए, अहिले छैन भन्ने म्यासेज भएको भए ठिक हुन्थ्यो तर त्यस्ता म्युजिक भिडियोले अहिले पनि हामी त्यही पेसामा छौं भन्ने देखाउँछ,' उनले भनिन्, 'अझ यो विषयमा फिल्म बनाउने कुरा सुनेको छु। राम्रोसँग अनुसन्धान गरेर हाम्रो जीवनलाई असर नगर्ने गरी बनाउन अनुरोध छ।
सीताको साथले सुरु भयो सरिताको मोडलिङ यात्रा
कोठामा बसिरहेको बेला सरिताको दिदीको आँखा एक विज्ञापनमा पर्यो। मोडल हन्ट प्रतियोगिताका लागि आवेदन मागिएको थियो। उनले बहिनीलाई आवेदन दिन प्रोत्साहित गरिन्। सरितालाई मोडलिङ र एयर होस्टेज बन्ने रहर रहेको सीता जानकार थिइन्। त्यसैले उनले 'आवेदन देऊ' भनेकी थिइन्।
आवेदन त दिइन्। तर छानिएला भन्ने मनमा लागेको रहेनछ।
'ड्रेस कसरी लगाउने अनि र्याम्पमा कसरी हिँड्नेसम्म थाहा थिएन मलाई। के छान्लान् र भन्ने लागेको थियो तर छनोट भएँ,' सरिताले भनिन्।
उनी अडिसनका लागि गइन्। निकै नर्भस थिइन् रे। जजहरुले उनको समुदायको बारेमा सोधे। अनि 'तिमी मोडलिङमा आउने पहिलो बादी हो, समुदायको पहिचान परिवर्तनका लागि धेरै काम गर्न सक्छौँ भन्दा उनी निकै खुसी भइन्।
'जब म भेन्युमा गएँ। अरुको ड्रेस सेन्स अनि मेकअप हेर्दा त ला म किन आएको भन्ने लागेको थियो,' उनले भनिन्, 'म त केही गर्न सक्दिनँ भन्ने लागेको थियो। तर अहिले त्यहाँ गएर राम्रो गरें भन्ने लाग्छ।'
अडिसन सकियो। प्रतियोगीहरु देखेर उनी नछानिनेमा पहिल्यै पक्का थिइन्। त्यसैले कुनै वास्तै नगरी कोठामा बसिरहेकी थिइन्। उनको मोबाइलमा म्यासेज आयो। त्यो मोडल हन्टबाटै थियो। लेखिएको थियो, 'सरिता बादी, युआर सेलेक्टेड।' उनी खुसीले उफ्रिइन् अनि दिदीलाई म्यासेज पठाइन्।
३५ जना छानिएका थिए। थप तालिम र तयारीका लागि लोकेसन छानिएको थियो, ठमेलको फरेन हाइट क्लब। सबै जना लाइनमा उभिएका थिए। फ्रन्ट पोजमा हिल लगाएर उभिइन् उनी पनि।
'मलाई हिल लगाउने बानी नै थिएन। उभिँदा चक्कर लागेर ढल्छु कि जस्तो पो भयो। डाइट पनि नपुगेर होला चक्कर लाग्यो। अनि सरलाई म एक छिन बस्छु ल भनेर बसें,' सरिताले अनुभव सुनाइन्।
तालिम लिँदै गएपछि उनमा धेरै परिवर्तन हुँदै गयो। उनलाई तालिममा केही नकिने बेक्कारमा पैसा खर्च हुन्छ भन्ने लागेको रहेछ।
'अन्यका लागि त्यो पैसा थोरै होला। तर मेरो लागि त्यो ठूलो पैसा थियो। त्यो पैसाको धेरै माया लागेको थियो। पैसा खेर नजाओस् भन्ने मनमा भएकाले जे सिकाइन्छ धेरै मिहिनेत गरेर सिकें,' उनले भनिन्।
अब टप १० छान्ने पालो आयो। सरिता ३५ जनामा पर्नु नै आफ्नो सफलता हो भनेर बसेकी थिइन्। अगाडि बढ्न सक्ने विश्वास थिएन उनमा। यहाँ यति सिकियो अब अन्य तालिम लिन पाए भने म पनि मोडल हुनसक्ने रहेछु भन्ने आत्मबल भने दिएको थियो कार्यक्रमले।
साथीहरु नर्भस थिए। उनी ढुक्क थिइन्। किनकी नाम त आउँदैन। वान, टु भन्दै टप १० मा परेकाहरुको नाम भटाभट आउँदा उनको नामै आएन। 'नम्बर १३ सरिता बादी' भन्दा त उनी झसंग भइन्। टप टेनसँगै विभिन्न टाइटल पनि दिइयो।
'न बोल्न आउने, न ड्रेस अनि न त फोटो जेनिक फेस, कुनै टाइटल पाइएला भन्ने त के लाग्नु र। मेरा लागि त १० जनामा पर्नु नै ठूलो कुरा थियो,' उनले भनिन्।
तर, नतिजा उनले सोचे जस्तो मात्र कहाँ भयो र। उनले टाइटल पाइन् 'वेस्ट वाक फिमेल'।
ट्रफी पाउँदा निकै खुसी लाग्यो। अनि उनलाई कार्यक्रम सञ्चालकले र्याम्पमा हिँड्न भने। 'वाक गरिदिनुभन्दा म कहाँ हिँडिरहेको छु जस्तो लाग्यो,' सरिताले अनुभव सुनाइन्।
नसोचेको उपलब्धि पाइरहेकी थिइन्। उनलाई भित्र भित्रै लाग्न थालेछ, 'टाइटलै जित्छु कि क्या हो।'
यस अगाडिको प्रतियोगितामा बेस्ट वाकले नै टाइटल पाएकी थिइन्। अनि साथीहरुले पनि 'मोडलको मुख्य काम त र्याम्पमा हिँड्ने त हो। तिमीले जितिहाल्छौँ नि' भनेकाले टाइटलै जित्ने भइयो भन्ने लाग्यो उनलाई। यस अगाडि पनि उनले नसोचेको नतिजा आइरहेको थियो। यसमा पनि नसोचेकै नतिजा आयो। उनले टाइटल चाहिँ जितिनन्।
'बेस्ट वाकको टाइटल पाएपछि त टाइटलै जित्छु कि क्या हो जस्तो नलागेको हैन। तर भएन। मेरो लागि त्यो ठाउँमा पुग्नु नै जित बराबर थियो। त्यो प्रतियोगिताले मलाई धेरै सिकायो। आत्मबल बढायो। मोडलिङ क्षेत्रमा प्रवेश गरायो।'
पहिलो कमाई पाँच हजार
उनी मोडल त भइन्। तर अब गर्ने के? न एजेन्सीहरु चिनेको न कुनै सम्पर्क। कहाँ गएर कसरी अप्रोच गर्ने भन्ने थाहै थिएन। उनलाई गाइड गरिरहेकी दिदी पनि योबारे जानकार थिइनन्। त्यसैले उनी मोडल हन्ट प्रतियोगिता सकिएपछि घरतिर लागिन्।
अपरिचित नम्बरबाट फोन आयो। उनले उठाइन्। आइएमई पेका लागि फोटो सुटको अफर दिने फोन थियो त्यो। तपाइँको समय कहिले छ होला भनेर सोध्दा उनी छक्क परिन्। फुर्सदमै थिइन्। कामै के थियो र। अँ आज फुर्सद छ भनिन्। आजै सुट गरौं न त भनेपछि उनी तयार भएर लोकेसनमा गइहालिन्। फोटो सुट सक्काइन् र फर्किइन्।
'कति पैसा आउँछ भनेर सोधेको थिइनँ मैले। अब कति माग्ने पनि थाहा थिएन। अनि कति दिन्छन् भन्ने पनि थाहै थिएन। घर आएपछि फोन गरेर खाता नम्बर मागे। मसँग नम्बर थिएन। दिदीको अकाउन्ट नम्बर दिएँ,' उनले भनिन्, 'पाँच हजार आयो। दुई वटा फोटो खिचेको पाँच हजार आउँदाको खुसीको कुरै नगरौँ।'
उनको रहर एयर होस्टेज बन्ने हो। त्यसका लागि तालिम पनि गरेकी रहिछिन्। अब भने मोडलिङमा मन बस्दै गएको छ। उनलाई मोडलिङ र क्याबिन क्रुको काम उस्तै जस्तो लाग्छ। दुवैलाई सँगसँगै लैजाने योजना पनि छ उनको।
फाइदा लिनेहरुले नभएको बोल्न सिकाउँछन्
अहिले पनि बादी समुदाय पुरानै पेसामा भएका सूचनाहरु आइरहन्छन्। आफ्नो नाममा जग्गा-जमिन नभएको यो समुदायलाई प्रयोग गरेर फाइदा लिनेहरु पनि छन्। बादी समुदायको उत्थान त भन्छन् तर उद्देश्य यसैमा अड्किरहुन् भन्नेझैं गर्छन्। बादी समूदाय चाहन्छ अब उनीहरुको इतिहास बिर्सिइयोस्। तर सरकारी अनी गैरसरकारी संस्थाको व्यवहारले भने यो बल्झिरहोस् भन्ने चाहन्छन् झैँ देखिन्छ।
बादी समुदायलाई त्यही पुरानै पेशा गर्ने समुदायको रुपमा हेर्दा उनीहरुलाई निकै चित्त दुख्छ। अहिले यौन ब्यवसायमा कुनै समुदायका मात्रै छैनन्। तर सधै एकै समुदायलाई मात्र किन लक्षित गरिन्छ? उनीहरुको मनमा आइरहने प्रश्न हो यो।
सरिताको चुनौती छ, 'रत्नपार्क, बसपार्क र ठमेलहरुमा जानूस्, खोज्नूस् त्यहाँ कति बादी छन्। अनि आउनूस् बहस गर्न, अहिलेको अवस्थामा देह व्यापारी बादी हो कि गैरबादी।'
चैत १४, २०७८ सोमबार १८:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।