पाँच अर्बको टेन्डर रद्द गरे लगत्तै प्राधिकरणका सिईओले दिए राजीनामा

बुटवल : लुम्बिनी प्रादेशिक अस्पतालको पाँच अर्बको भवन निर्माणको टेन्डर रद्द गरे लगत्तै प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्त राज घिमिरेले राजीनामा दिएका छन्।
बुटवलमा लुम्बिनी प्रादेशिक अस्पताल निर्माणको टेण्डर खुलाउँदा नेपाली कांग्रेसका सांसद तथा निर्माण व्यवसायी मोहन आचार्यलाई दिन मिलमतो देखिएको थियो। ठेक्कामा रमेश शर्माको शर्मा र रसुवा जेभी मात्र सहभागी भएका भएका थिए। ‘जेडआइइसी–शर्मा रमेश शर्माको कम्पनी हो भने रसुवा जेभी रसुवाका कांग्रेस सांसद आचार्यको।
टेण्डरमा सरकारी अस्पतालमा २ हजार वर्गमिटरभन्दा बढीको २ तले बेसमेन्ट बनाएको हुनुपर्ने, नेपाली कम्पनीले एक्लै प्रतिस्पर्धा गर्ने ६ हजार वर्गमिटरमा २ तले बेसमेन्ट निर्माण गरेको अनुभव हुनुपर्ने, भिन्ली मेडिकेटड फ्लोरिङ काम गरेको हुनुपर्ने, १० जनाभन्दा बढी अट्ने लिफ्ट जडान गरेको योग्यता हुनुपर्ने जस्तो सर्त राखिएको थियो। यसको निर्माण व्यवसायी महासंघले समेत विरोध गरेको थियो।
टेन्डर विवादमा परेपछि छानबिन भइरहेकै बेलामा उनले सोमबार टेन्डर प्रक्रिया रद्द गर्ने निर्णय गरे लगत्तै राजीनामा दिएका हुन्। प्रदेश पूर्वाधार विकास समितिको २०७८ फागुन २ गतेको बैठकको निर्णय अनुसार लुम्बिनी प्रादेशिक अस्पतालको बोलपत्र फागुन ८ गते आव्हान भएकोमा प्रक्रियामै सेटिङ गरेर निश्चित दुई कम्पनीलाई छनोटमा योग्य पार्ने गरी स्पेसिफिकेशन तयार गरिएको खुलेको थियो।
कांग्रेस सांसदलाई ठेक्का पार्न लुम्बिनी प्रादेशिक अस्पताल भवन टेन्डरमै सेटिङ, व्यवसायी नै विपक्षमा
राजीनामा दिएका घिमिरेले ठेक्कामा प्रतिष्पर्धाहुँदा र नहुँदा राज्यलाई करिब १ सय ५० करोडको क्षति हुन सक्ने भएकाले टेन्डर रद्द गरेको बताएका छन्।
‘देशप्रति गद्दारी गर्नु भन्दा मान्छे मात्र भएर बस्नु उचित ठाने। ठेक्का रद्द गर्दा दलाल को दलाल बन्न नपर्ने निर्णय सहित सार्वजनिक खरिद ऐन २०६३ को दफा २४ बमोजिम लुम्बिनी प्रादेशिक अस्पतालको ठेका रद्द गरिएको छ’ उनले राजीनामामा भनेका छन्। उनले स्पेशिफिकेशनमा सेटिङ भएको आशङ्का सम्बन्धित कार्यालयलाई जानकारी समेत गराएको बताएका छन् ।
चैत १४, २०७८ सोमबार १७:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।