तिलोत्तमामा बन्यो ११ करोडको भ्यु टावर

तिलोत्तमामा बन्यो ११ करोडको भ्यु टावर

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित शंकरनगर बन विहार तथा अनुसन्धान केन्द्र (बनवाटिका) मा बहुउद्देश्यीय भ्यु टावर निर्माण भएको छ।

१० तले भ्यु टावर १ सय ३४ फिट उचाइको छ। तिलोत्तमा नगरपालिका र शकरनगर बन विहारको संयुक्त लगानीमा निर्माण भएको भ्यु टावर आर्थिक वर्ष २०७३/०७४ मा ठेक्का सम्झौता भएको थियो।

२०७२ सालको भूकम्पमा ढलेको काठमाडौंको धरहरापछिको अग्लो र सुविधा सम्पन्न भनिएको भ्यु टावरको भुईं तला ३५ सय ९५ वर्ग फिट क्षेत्रफलमा रहेको छ। कुल २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा रहेको भ्यु टावरको पहिलोदेखि छैटौं तलासम्म व्यावसायिक प्रयोजन हुनेछ भने बाँकी तलाबाट दृश्यावलोकन हुनेछ।

तिलोत्तमा नगरपालिकाका इन्जिनियर प्रदीप वनले कुल ११ करोड ५४ लाख ८१ हजार रुपैयाँको लागतमा निर्माण भएको भ्यु टावर प्राकृतिक निर्माण सेवाले बनाएको बताए। 

लिफ्ट सुविधा सहित बनेको भ्यु टावरमा सुविधायुक्त रेष्टुराँ र पर्यटक विश्रामस्थल, रिसर्च रुम, डिपार्टमेन्ट स्टोर, अफिस रुम, एटेज ट्वाइलेट रुम बास मिल्ने गरी बातानुकुलित कोठा, लाइब्रेरी लगायतका संरचनाहरू बनाइएको छ।

भ्यु टावरसँगै २ बिघा क्षेत्रफलमा अन्य पर्यटकीय पूर्वाधार र संरचनाहरू अहिले बनिरहेका छन्। भ्यु टावरको उत्तरतर्फ स्विमिङ पुल, अगाडि म्युजिकल फाउन्डेस निर्माण भइरहेको छ।

त्यस्तै त्यहाँ चाइल्ड पार्क र स्टेडिएम निर्माणको काम पनि सुरु भइसकेको छ। गत चैतमा केएच प्रशान्त जेभीसँग साढे ४ करोडको ठेक्कामा बाँकी कामका लागि सम्झौता भएको उनले बताए। बाँकी संरचना निर्माण पनि अबको २ वर्षमा सम्पन्न हुने उनको भनाइ छ।

भ्यु टावर निर्माणको कुल बजेटको ७० प्रतिशत तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत शंकरनगर बन विहार तथा अनुसन्धान केन्द्रले व्यहोरेको छ।

भ्यु टावरबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म सजिलै देख्न सकिने छ भने दूरविनको प्रयोग गर्दा भारतको गोरखपुर, नौतनवासम्मका सहरहरू देख्न सकिनेछ।

चैत १४, २०७८ सोमबार १६:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।