पल जेल पर्दा डुबे निर्माता

पल जेल पर्दा डुबे निर्माता

काठमाडौं : करिब तीन वर्षअघि तामझामका साथ फिल्म 'हृदयभरि' को घोषणा गरियो। मुख्य भूमिकामा अनुबन्ध भए, नायक पल शाह। उनको पारिश्रमिक तोकियो २० लाख। 

निर्माता-निर्देशक सुरज सुब्बा नाल्बोको फिल्म हृदयभरिको छायांकन ४५ दिन गर्ने भनेर समय तोकियो। प्रदर्शन मिति समेत फिल्म घोषणा कार्यक्रममै तोकिएको थियो, २०७६ साल भदौ २७ गते।

कोभिड- १९ महामारी सुरु हुनुअघि नै फिल्म हलमा लागिसक्नुपर्ने थियो। तर आन्तरिक लफडाका कारण छायांकन नै पूरा हुन सकेन। ९० प्रतिशतसम्म खिचिएको फिल्म रोकिएको तीन वर्ष भयो। फिल्म निर्माणमा झण्डै २ करोड खर्च भइसक्यो। 

एउटा गीत र केही दृश्यमा खिच्न बाँकी छ। उक्त दृश्यमा पल शाह अनिवार्य छन्। फिल्मको बाँकी दृश्य छायांकन हुने या नहुने टुंगो लाग्नै सकेको छैन।

फिल्म निर्माण टोलीकै एक सदस्यले भने, 'आफ्नै गन्जागोलले फिल्म पूरा हुन नसकेको हो। अब झनै फिल्म पूरा हुन असम्भव जस्तै भयो।' 

यता फिल्म '२ नम्बरी' मा पनि पलले चार दिन सुटिङ गरिसकेका थिए। अहिले उनको ठाउँमा अर्का नायक सौगात मल्लले इन्ट्री मारेका छन्। फिल्मका निर्देशक दिपेन्द्र लामा भन्छन्, 'सुटिङ दुई वर्षअघि भएको थियो। कोभिडका कारण कथास्तुदेखि हरेक कुरा पुरानो भइसकेकाले हामीले पुनः सुटिङ गर्नेपर्थ्यो। त्यसैले पलका कारण निर्माण टिमलाई खासै घाटा लागेन।' 

हिसाब मिलाउँदै लामाले भने, 'फिल्ममा अनुबन्ध गरिसकेपछि केही रकम त दिइन्छ। पललाई पनि दिइएको थियो, त्यो फिर्ता हुँदैन। फिल्म साइन गरेर छाडेका सबैसँग एड्भान्स रकम फिर्ता माग्ने चलन छैन।' लामाका अनुसार, पल मात्रै हैन, २ नम्बरी फिल्म निर्माण टोलीले वर्षा राउतसँग पनि पैसा फिर्ता माग्न मिल्दैन।

फिल्म २ नम्बरीलाई पलको कारणभन्दा कोभिडका कारण घाटा लागेको लामाले बताए। उनले भने, 'पल शाहले कति पैसा गुमाए भन्ने कुरा छाड्नूस्, उनले त जल्दोबल्दो करिअर नै गुमाए। फिल्म क्षेत्रले एउटा चलेको नायक गुमायो, यो दुखद हो।' अहिलेको जस्तै नाम कमाउन अब उनलाई निकै गाह्रो पर्ने लामाको भनाइ छ।

लामाकै अर्को नयाँ फिल्मका लागि समेत पल शाहसँग कुरा चलेको थियो। उनले भने, 'हामीले सँगै काम गर्नका लागि चिया गफ गरेका थियौं। तर अनुबन्ध भने गरिसकेका थिएनौं। पल जेल नपरेको भए सायद मेरो अर्को फिल्ममा पनि अनुबन्ध हुन्थे होला।'

गायक तथा निर्देशक यश कुमारले बनाउन लागेको फिल्ममा भने केही रकम सहित पल अनुबन्ध भइसकेका थिए। निर्माण टोलीले नाम सार्वजनिक नगरेको फिल्मको डिजिटल राइट्स समेत बिक्री भइसकेको छ।

यश कुमार अहिले विदेशमा छन्। उनी नेपाल आउने बित्तिकै छायांकन गर्ने तयारी थियो। डिजिटल राइट्स किनेको डिएआर मुभिजका प्रतिनिधि तथा मिडिया कोआर्डिनेटर रघुनाथ सापकोटाले भने, 'पल शाहको यो घटनाले फिल्म अब के हुन्छ भन्ने अलमल पैदा भएको छ।'

म्युजिक भिडियो किङको उपाधि पाएका पलले झण्डै दर्जन म्युजिक भिडियोबाट एड्भान्स लिएको खुलेको छ। केही छोटा फिल्ममा समेत अनुबन्ध भएको बताइएको छ। तर यतिबेला पललाई लिएर म्युजिक भिडियो तथा फिल्म बनाउन तम्सेका निर्माताहरू पुर्पुरोमा हात लगाएर बस्न बाध्य छन्।

पल शाहले अहिलेसम्म अधिकतम लिएको पारिश्रमिक २० लाख हो। फिल्म हृदयभरिको टिमले बताएअनुसार उनले फिल्मबाट २० लाख लिएका छन्। अन्य फिल्मबाट भने १५ देखि १७ लाखसम्म लिएको खुलेको छ। 

म्युजिक भिडियो खेलेबापत पलले अधिकतम २ लाख पारिश्रमिक लिएको खुलेको छ। प्रायः म्युजिक भिडियोमा भने एकदेखि डेढ लाख रुपैयाँ लिने गरेका छन्।

नायक पल शाह नाबालिग बलात्कारको अभियोगमा यतिबेला पुर्पक्षका लागि कारागारमा छन्। 

चैत १४, २०७८ सोमबार १५:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।